३२ वर्ष लाग्यो ईशान, बार्षिकोत्सवका लागि छुट्याएको पैसा प्रधानमन्त्री राहतकोषमा ‘डोनेशन’

68
Shares

काठमाडौँ, २१ भदौ । निजी क्षेत्रबाट खुलेको नेपालकै पहिलो बाल अस्पताल ईशान बाल तथा महिला अस्पताल ३२ औँ वर्ष प्रवेश गरेको छ । गत शुक्रबार देखि अस्पताल ३१ औँ वर्ष पुरा गरी ३२ वर्ष लागेको हो ।

बार्षिकोत्सवका अवसरमा सधै औपचारिक कार्यक्रम गरी मनाउने यस अस्पतालले यसपटक भने आफ्ना सम्पूर्ण कार्यक्रम स्थगित गर्दै छुट्याइएको बजेट भोटेकोशी बाढी प्रभावितहरुका प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा डोनेसन गरेको छ ।

‘भोटेकोशी महाविपत्ती पछि देश नै शोकमा छ । यस्तो बेलामा हामीले बार्षिकोत्सव मनाउने कुरा भएन । त्यसैले हामीले त्यस दिन कुनै औपचारिक कार्यक्रम गरेनौँ । बरु बार्षिकोत्सवका लागि छुट्याइएको खर्च प्रधानमन्त्री राहत कोषमा डोनेशन गर्‍यौँ,’ अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले भने ।

उनका अनुसार अस्पतालले कोषमा ५ लाख रुपैयाँ डोनेसन गरेको छ ।

राहत कोषमा पैसा डोनेसन मात्रै होइन, अस्पतालले त्यसअघि नै बाढीबाट प्रत्यक्ष प्रभावित परिवारका बाल तथा महिला सदस्यहरुका लागि निशुल्क उपचारको व्यवस्था समेत गरेको जनाएको थियो ।

‘जब बाढी आयो, हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीबाट प्रत्यक्ष प्रभावित परिवारका सदस्यहरु (बाल तथा महिला)का लागि निशुल्क उपचार गरिदिने सार्वजनिक रुपमै घोषणा गरेका थियौँ । केहीले सम्पर्क गरे पनि आउनु भएको छैन,’ कार्यकारी निर्देशक प्राडा चौधरीले भने ।

उनले अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुलाई पनि स्वेच्छाले प्रधानमन्त्री राहत कोषमा योगदान गर्न आग्रह गरेको बताए ।

अस्पतालले शुक्रबार औपचारिक कार्यक्रम नगरेपछि केही सदस्यहरुले अस्पताल परिसरकै मन्दिरमा पुजाआजा गरी बार्षिकोत्सव मनाएका थिए ।

‘अस्पतालको साथै देशको भलो होस, विपत्तीको चपेटामा मुलुक अब जानु नपरोस भन्ने कामना गरेर हामीले पुजा गर्‍यौँ,’ डा. चौधरीले भने ।

बाल तथा महिला उपचारको क्षेत्रमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति सहित सेवा दिदै आईरहेको ईशान बाल तथा महिला अस्पताल बसुन्धराचोक देखि २०० मिटर उत्तर तर्फ धापासीमा रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *