मन्त्रालयको छात्रबृत्ति कोटामा सरकारी डाक्टर नै पहिलो प्राथमिकता

काठमाडौँ, १४ बैशाख । त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)ले चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह (पीजी) अध्ययन् गर्न स्वास्थ्य मन्त्रालयले उपलव्ध गराएको विशेष कोटा सरकारी चिकित्सकलाई नै उपलव्ध गराउने भएको छ ।

आइओएमले विहीबार सूचना प्रकाशित गर्दै मन्त्रालयबाट आएको कोटामा अघिल्ला बर्षहरुमा जस्तै गरी सरकारी चिकित्सकलाई उपलव्ध गराउने निर्णय भएको जानकारी दिएको छ ।

यसअघि आइओएमले एउटै मेरिट लिष्ट तयार गरी नतिजा प्रकाशित गरेको थियो । त्यसरी नतिजा प्रकाशित गर्दा दुर्गममा गएर काम गर्ने चिकित्सकहरुलाई मर्का पर्ने भन्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले विरोध गरेको थियो ।

त्यसलगत्तै स्वास्थ्य मन्त्रालयले आइओएम र गोदानका प्रतिनिधिलाई बार्तामा बोलाएको थियो । सो बार्ताले चिकित्साशास्त्र छात्रबृत्ति छनौट तथा छात्रबृत्ति प्राप्त विशेषज्ञ चिकित्सा परिचालन कार्यविधि २०७२ले ले निर्देश गरेबमोजिम छात्रबृत्तिमा सरकारी चिकित्सकलाई प्राथमिकता तोक्ने निर्णय गरेको थियो । सोही अनुसार आइओएमले सूचना प्रकाशित गरेको हो ।

‘आइओएमले अघिल्लो निर्णय सच्याएको छ । नयाँ निर्णयमा गतवर्ष जस्तै सरकारी चिकित्सकले प्राथमिकता पाएका छन् । पछिल्लो निर्णयले हामी खुशी छौँ,’  गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले भने ।

एउटै मेरिटलिष्ट तयार गर्दा पढ्न पाउने आशमा दुर्गम पुगेर सेवा दिएका चिकित्सकहरु फर्कने सम्भावना हुने भन्दै गोदानले तत्काल निर्णय सच्याउन आइओएमलाई र त्यसका लागि दवाव दिन मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *