एन्टिमाइक्रोबियल औषधिको प्रयोगमा निगरानी बढाउन स्वास्थ्य मन्त्री मेहताको जोड

एएमआर नियन्त्रणमा तथ्याङ्कलाई प्राथमिकता
0
Shares

काठमाडौं, १९ कात्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको उपभोगसम्बन्धी तथ्याङ्क नियमित रूपमा सङ्कलन र विश्लेषण गरी प्राप्त निष्कर्षलाई प्रमाणमा आधारित नीतिगत निर्णयमा उपयोग गर्नुपर्ने बताएकी छन् ।

बिहीबार औषधि व्यवस्था विभागको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा ललितपुरमा आयोजित एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसार कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधिको उपभोगको अवस्था पहिचान, अनुगमन र प्रभावकारी व्यवस्थापनका लागि तथ्याङ्कमा आधारित नीति आवश्यक रहेको बताएकी हुन् ।

उनले एन्टिमाइक्रोबियल औषधिको प्रयोगलाई व्यवस्थित बनाउन यसको उपभोगको प्रवृत्ति, आवश्यकता र प्रभावकारिताबारे नियमित अध्ययन हुनुपर्नेमा जोड दिइन् । औषधिको अनावश्यक तथा जथाभावी प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यसको उचित प्रयोग र व्यवस्थापनका लागि सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सन् २०१६ देखि २०२४ सम्मको एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क प्रस्तुत गरी त्यसबारे छलफल गरिएको थियो । उक्त तथ्याङ्कले नेपालमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगको अवस्था बुझ्न तथा आगामी नीति र कार्यक्रम तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सोही अवसरमा राष्ट्रिय अत्यावश्यक औषधिको सूची (नेसनल लिस्ट अफ इसेन्सियल मेडिसिन्स) को सातौँ संशोधनसमेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानलगायत सम्बन्धित सरकारी अधिकारी तथा सरोकारवालाहरूको उपस्थिति थियो । यसैगरी औषधि उत्पादक, व्यवसायी तथा आयातकर्ता संघका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।

एन्टिमाइक्रोबियल रेजिस्टेन्स विश्वव्यापी स्वास्थ्य चुनौती
एन्टिमाइक्रोबियल औषधि भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीबाट हुने संक्रमणको उपचारमा प्रयोग गरिने औषधिलाई बुझिन्छ । एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल र एन्टिप्यारासाइटिक औषधि यसअन्तर्गत पर्दछन् । यी औषधिले विभिन्न संक्रामक रोगको उपचार तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

तर पछिल्लो समय यस्ता औषधिको अत्यधिक तथा गलत प्रयोगका कारण सूक्ष्मजीवहरूले औषधिको प्रभावलाई प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्दै गएका छन् । यस अवस्थालाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) अर्थात् सूक्ष्मजीवको औषधि प्रतिरोध भनिन्छ ।

विशेषगरी एन्टिबायोटिकको प्रभावकारिता घट्दै जानु अहिले विश्वव्यापी चिन्ताको विषय बनेको छ । ब्याक्टेरियाले औषधिको प्रभावबाट बच्ने क्षमता विकास गरेपछि सामान्य संक्रमणको उपचारसमेत कठिन बन्न सक्छ । पहिले सहजै उपचार गर्न सकिने निमोनिया, मूत्रनलीको संक्रमण, रगतको संक्रमण तथा अन्य ब्याक्टेरियाजन्य रोगको उपचारमा प्रभावकारी औषधि पाउन कठिन हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०२५ मा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभर प्रयोगशालाबाट पुष्टि भएका सामान्य ब्याक्टेरियाजन्य संक्रमणका प्रत्येक छमध्ये करिब एक संक्रमण एन्टिबायोटिक प्रतिरोधी देखिएको थियो । त्यस्तै, सन् २०१८ देखि २०२३ सम्म निगरानी गरिएका ब्याक्टेरिया र एन्टिबायोटिकका ४० प्रतिशतभन्दा बढी संयोजनमा औषधि प्रतिरोध बढेको पाइएको छ । तीमध्ये प्रतिरोधको औसत वार्षिक वृद्धि पाँचदेखि १५ प्रतिशतसम्म रहेको डब्लूएचओले जनाएको छ ।

यसले एन्टिबायोटिकको प्रभावकारिता घट्दै गएको र भविष्यमा संक्रमणको उपचार थप जटिल बन्न सक्ने जोखिम देखाएको छ ।

विश्वभर वर्षमा लाखौँ मानिसको मृत्युमा एएमआरको योगदान
एन्टिमाइक्रोबियल रेजिस्टेन्सको असर संक्रमणको उपचारमा सीमित छैन । यसले अस्पतालमा बस्नुपर्ने अवधि बढाउने, उपचार खर्च वृद्धि गर्ने, शल्यक्रिया तथा अंग प्रत्यारोपणजस्ता चिकित्सा सेवामा जोखिम बढाउने र बिरामीको मृत्युदरसमेत बढाउने गर्छ ।

द ल्यान्सेटमा सन् २०२४ मा प्रकाशित ग्लोबल बर्डेन अफ डिजिजसम्बन्धी अध्ययनअनुसार सन् २०२१ मा विश्वभर ब्याक्टेरियाजन्य एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँग सम्बन्धित करिब ४७ लाख १० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको थियो । त्यसमध्ये करिब ११ लाख ४० हजार मृत्युमा एएमआर प्रत्यक्ष कारण रहेको अध्ययनले देखाएको छ ।

अध्ययनले औषधि प्रतिरोधको समस्या आगामी दशकहरूमा अझ गम्भीर हुन सक्ने चेतावनीसमेत दिएको छ । प्रभावकारी नियन्त्रणका उपाय अपनाउन नसकिएमा सन् २०५० सम्ममा एएमआरका कारण हुने मृत्युको भार थप बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

नेपालमा पनि एएमआरको जोखिम उच्च
नेपाल पनि एन्टिमाइक्रोबियल रेजिस्टेन्सको जोखिमबाट अछुतो छैन । विश्व स्वास्थ्य संगठन नेपालले सन् २०२४ डिसेम्बरमा सार्वजनिक गरेको विवरणअनुसार सन् २०१९ मा नेपालमा एएमआरका कारण प्रत्यक्ष रूपमा करिब छ हजार चार सय जनाको मृत्यु भएको थियो भने थप २३ हजार दुई सय जनाको मृत्युमा एएमआरको योगदान रहेको अनुमान गरिएको थियो ।

नेपालमा एन्टिबायोटिकको अनावश्यक प्रयोग, चिकित्सकको सिफारिसबिना औषधि सेवन गर्ने प्रवृत्ति, औषधिको पूरा मात्रा प्रयोग नगर्ने, संक्रमणको पहिचानका लागि आवश्यक प्रयोगशाला परीक्षणको सीमित पहुँच तथा पशुपन्छी क्षेत्रमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगलगायतका विषय एएमआर नियन्त्रणका चुनौतीका रूपमा रहेका छन् ।

विशेषगरी सामान्य रुघाखोकी तथा भाइरल संक्रमणमा समेत एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले औषधि प्रतिरोधको जोखिम बढाउन सक्छ । भाइरसबाट हुने संक्रमणमा एन्टिबायोटिक प्रभावकारी हुँदैन । तर आवश्यकताबिना एन्टिबायोटिक प्रयोग गर्दा शरीरमा रहेका संवेदनशील ब्याक्टेरिया नष्ट हुने र प्रतिरोधी ब्याक्टेरियालाई फैलिने अवसर मिल्न सक्छ ।

त्यस्तै, चिकित्सकले तोकेको अवधिभन्दा अगाडि नै औषधि सेवन बन्द गर्ने, बाँकी रहेको एन्टिबायोटिक पछि प्रयोग गर्ने तथा अरूलाई सिफारिस गर्ने व्यवहारले पनि औषधिको उचित प्रयोगमा समस्या सिर्जना गर्न सक्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *