दुईवटा कार्यक्रममा सहभागी हुन टर्की र कोलम्बो जाँदै स्वास्थ्य मन्त्री मेहता

0
Shares

काठमाडौँ, २० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको तिहार यसपटक देश बाहिर हुने देखिएको छ । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ३१औँ संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन उनी शनिबार त्यस तर्फ प्रस्थान गर्ने भएकी छन् ।

तर उनले १० तारिखमै टर्कीबाट श्रीलंकाको कोलम्बो यात्रा तय गर्दैछिन् । त्यहाँ उनी बिमस्टेक राष्ट्रहरुको बैठकमा सहभागी हुन जान लागेकी हुन् ।

मन्त्री मेहताले टर्कीको कार्यक्रममा प्रमुख स्वकीय सचिव सुस्मिता क्षेत्री र मन्त्रालयका डा. इन्द्र ढकाललाई लैजादै छिन् । उता कोलम्बोमा भने स्वास्थ्य सचिव डा विकास देवकोटा, प्रशासन महाशाखा प्रमुख हुमकला पाण्डे लगायतका अधिकारीहरु सहभागी हुनेछन् ।

कार्यक्रम कस्तो हो ?

टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना हुने कोप–३१ सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असर र त्यसबाट उत्पन्न चुनौतीका विषयमा छलफल हुने बताइएको छ ।

कोप सम्मेलनअन्तर्गत नोभेम्बर ९ तारिख स्वास्थ्य केन्द्रित विशेष छलफल हुने कार्यक्रम छ। उक्त छलफलमा विश्व स्वास्थ्य संगठनको मुख्यालय तथा क्षेत्रीय कार्यालय, विभिन्न देशका सरकार र स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

कोप अर्थात् पक्ष राष्ट्रहरूको सम्मेलन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका सदस्य राष्ट्रहरूको वार्षिक सम्मेलन हो।

सन् १९९५ मा जर्मनीको बर्लिनमा पहिलो सम्मेलन आयोजना भएको थियो। त्यसयता प्रत्येक वर्ष आयोजना हुँदै आएको यस सम्मेलनको सन् २०२६ मा हुन लागेको ३१औँ संस्करणलाई कोप–३१ भनिएको हो।

विश्वका विभिन्न देशका सरकार प्रमुख, मन्त्री, वातावरण तथा स्वास्थ्य क्षेत्रका विज्ञ र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी हुने यो सम्मेलन जलवायु परिवर्तनसम्बन्धी विश्वकै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमध्ये एक हो।

यसमा विश्वव्यापी तापक्रम वृद्धि न्यूनीकरण, जलवायु परिवर्तनसँग अनुकूलन, जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा जलवायुजन्य विपद्बाट प्रभावित राष्ट्रलाई सहयोग गर्ने विषयमा छलफल तथा निर्णय हुने गर्छ।

पछिल्लो समय जलवायु परिवर्तन र मानव स्वास्थ्यबीचको सम्बन्धलाई पनि कोप सम्मेलनमा प्राथमिकताका साथ उठाउन थालिएको छ। बढ्दो तापक्रम, वायु प्रदूषण, बाढीपहिरो, खडेरी तथा प्राकृतिक विपद्ले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेका छन्। अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य समस्या, श्वासप्रश्वाससम्बन्धी रोग, पानी तथा खाद्यजन्य रोगको जोखिम, कुपोषण र मानसिक स्वास्थ्यमा समेत जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ।

यसै सन्दर्भमा सम्मेलनमा स्वास्थ्य प्रणालीलाई जलवायु परिवर्तनअनुकूल बनाउने, अस्पताल तथा स्वास्थ्य संस्थाको पूर्वाधारलाई विपद् प्रतिरोधी बनाउने, जलवायुजन्य स्वास्थ्य जोखिमको पूर्वतयारी गर्ने र प्रभावित समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा छलफल हुनेछ।

नेपालले पनि जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती र त्यसको समाधानका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउने तयारी गरेको छ।

टर्कीबाट सिधै कोलम्बो प्रस्थान गर्ने

टर्कीमा आफ्नो सहभागीता जनाएपछि मन्त्री मेहता नोभेम्बर १० तारिखमा श्रीलंकाको राजधानी कोलम्बो जाने कार्यक्रम छ। उनी त्यहाँ आयोजना हुने बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछिन्। उक्त बैठकमा सदस्य राष्ट्रहरूबीच स्वास्थ्य क्षेत्रका साझा चुनौती, जनस्वास्थ्य सेवा, स्वास्थ्य प्रणालीको सुदृढीकरण र क्षेत्रीय सहकार्य विस्तारका विषयमा छलफल हुनेछ।

बिमस्टेक अर्थात् बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास सन् १९९७ मा स्थापना भएको क्षेत्रीय संगठन हो। यसमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात देश सदस्य छन्।

दक्षिण तथा दक्षिणपूर्वी एसियाका देशबीच आर्थिक तथा प्राविधिक सहकार्य विस्तार गर्नु यसको मुख्य उद्देश्य हो। व्यापार, लगानी, यातायात, ऊर्जा, कृषि, प्रविधि, वातावरण र स्वास्थ्यलगायतका क्षेत्रमा सदस्य राष्ट्रबीच सहकार्य हुँदै आएको छ।

बिमस्टेकको स्वास्थ्य क्षेत्रसम्बन्धी सहकार्यले सदस्य राष्ट्रबीच जनस्वास्थ्यका साझा चुनौती सामना गर्न अनुभव, सूचना, प्रविधि र स्रोतको आदानप्रदानलाई प्राथमिकता दिन्छ। संक्रामक तथा नसर्ने रोग नियन्त्रण, महामारी तथा स्वास्थ्य आपत्कालीन अवस्थाको व्यवस्थापन, औषधि तथा स्वास्थ्य सेवामा पहुँच विस्तार र स्वास्थ्य प्रणाली सुदृढीकरण यसका महत्त्वपूर्ण विषय हुन्। विशेषगरी सीमापार फैलिन सक्ने रोग तथा महामारी नियन्त्रणका लागि सदस्य राष्ट्रबीच समन्वय र सहकार्य आवश्यक मानिन्छ।

कोलम्बोमा हुने स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्च अधिकारीहरूबीच स्वास्थ्य क्षेत्रका साझा प्राथमिकता, नीतिगत सहकार्य र आगामी योजनाबारे छलफल हुनेछ। यसका साथै सदस्य राष्ट्रबीच द्विपक्षीय चासोका विषयमा समेत छलफल हुने बताइएको छ। बैठकले बंगालको खाडी क्षेत्रका देशबीच स्वास्थ्य क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्री मेहता कोलम्बो जाँदै गर्दा उनीसँगै टर्की गएका प्रमुख स्वकीय सचिव क्षेत्री र डा. ढकाल भने नेपाल फर्कने कार्यक्रम छ। कोलम्बोमा हुने बैठकमा सहभागी हुन स्वास्थ्य मन्त्रालयका सचिव डा देवकोटा, प्रशासन महाशाखा प्रमुख पाण्डे लगायतका अधिकारी पनि जाने तयारी छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवै अन्तर्राष्ट्रिय बैठकमा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ। कोप सम्मेलनमार्फत जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेका असर र त्यसको समाधानका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तथा बिमस्टेक बैठकमार्फत क्षेत्रीय स्वास्थ्य सहकार्य र सदस्य राष्ट्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने योजनामा लागेको उनले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *