टिचिङ पुगेका सरकारी बार्ता टोलीलाई डा. केसीले ‘गेटआउट’ भन्दै झपारेपछि….

0
Shares

काठमाडौँ, १९ कात्तिक । गत ११ साउनमा अघिल्लो अनसन तोडेका डा. गोविन्द केसीले १२ कात्तिकमा अहिलेको अनसन सुरु गरेका हुन् । यसपटक उनले इलाम पुगेर अनसन थालेका थिए तर स्वास्थ्य अवस्था बिग्रिएपछि सरकारले सेनाको हेलिकप्टर पठाएर काठमाडौँ ल्याएको हो ।

स्वास्थ्यमा विशेष निगरानी गर्दै उनलाई अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ, उनले भने अहिले पनि अनसन जारी नै राखेका छन् ।

त्यसो त यसपटक डा केसीले अनसन सुरु गर्ने भनेर अल्टिमेटम दिईरहेका बेला सरकारले उनको मागको कार्यान्वयन भईसकेको र केही हुने क्रममा रहेको भन्दै विज्ञप्ती जारी गरेको थियो । सो क्रम बुधबारसम्म पनि जारी रहयो ।

तर डा.केसीले सरकारी भनाईलाई ठाडै अस्विकार गर्दै अनसन जारी राखे । त्यसपछि बुधबार सरकारले शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय बार्ता टोली गठन गरेको जानकारी दियो । टोलीका सदस्यहरुमा चिकित्सा शिक्षा आयोगका सदस्य सचिव हरि निरौला, स्वास्थ्य मन्त्रालयका उपसचिव डा समिरकुमार अधिकारी र शिक्षा मन्त्रालय उपसचिव मधुप्रसाद घिमिरे तोकिएका थिए ।

टोलीले डा. केसीसंग सम्वाद गर्ने अख्तियारी पाएपछि विगतका सम्झौँता र त्यसको कार्यान्वयनको अवस्थाबारे छलफल गर्न भन्दै बेलुका छ बजे तिर त्रिवि शिक्षण अस्पताल पुग्यो ।

तर डा. केसीले भने सहसचिवको नेतृत्व तीन जना उपसचिवस्तरका कर्मचारी बार्ताका लागि आएको सुनेपछि चिडिए ।
सरकारी टोली अनसनस्थलमा पुगेर परिचय मात्रै दिदै थिए डा. केसीले आक्रोसित भई हाले ।

उनले उनले टोलीसंग भनिहाले,  ‘विगतमा सचिवहरु बसेर भएको सम्झौँताको कार्यान्वयन नगरेर अनसन बसिरहेको छु, अहिले तपाईँहरु म संग बार्ता गर्न भन्दै आउनु हुन्छ । मलाई जिस्काउन आएको ? तपाईँहरुसंग म कुरा गर्न चाहन्न, ‘गेटआउट’ ।

चर्को स्वरमा ठाडै बाहिरिनका लागि आदेश गरेपछि सरकारी टोली अक्क न बक्क भएर बाहिरिएको थियो ।

त्यसबेला संगै रहेका एक सदस्यले भने, ‘सायद सहसचिव लेभलको कर्मचारीको टोली पठाएर सरकारले आफ्नो अनसनलाई अपमानित गरेको ठान्नु भयो होला, एकदमै आक्रोसित हुनु भयो र गेटआउट भनेर बाहिर जान निर्देशन दिनु भयो । त्यसपछि हामी उहाँसंग तीस सेकेण्ड पनि बस्न सकेनौँ ।’

सरकारी बार्ता टोली सदस्य डा केसीको अनसन कक्षबाट बाहिरिए पनि उनका प्रतिनिधिसंग करीव डेढ घण्टा बसेर छलफल गरेका थिए । तर डा केसीका प्रतिनिधिहरुले डा केसी सरकारको रबैया प्रति खुशी नभएको भन्दै अर्थहिन सम्वादको फाइदा नहुने बताइरहेका थिए ।

सरकारी टोलीका अर्का एक सदस्यले भने अनौपचारिक रुपमा कुराकानी गर्न भन्दै पुगेको र डा केसीले आफूहरुको टोलीसंग कुरा गर्न नचाहेको बताए । उनले आफूहरुलाई तत्काल बाहिरिनु भन्दै आक्रोसित भएको पनि बताए ।

त्यसो त बुधबार बेलुका नै केसीको तर्फबाट जारी विज्ञप्तीमा सरकारले गठन गरेको बार्ता टोलीलाई आफूले स्वीकार नगर्ने स्पष्ट पारिसकेका थिए ।

सरकारी बार्ता टोलीका ती सदस्यले डा केसी आफूहरुसंग कुरा गर्न नै नचाहने भनेपछि सरकारले अर्को निर्णय गर्न सक्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *