हरेक वर्ष लाखौँ बालबालिकाको ज्यान लिने निमोनिया, खोपबाट घटाउन सकिन्छ जोखिम

काठमाडौं, २७ कात्तिक । सामान्य रुघाखोकीजस्तै देखिएर सुरु हुने निमोनियाले वर्षेनी विश्वभर लाखौँ बालबालिकाको ज्यान लिने गरेको छ।
विशेषगरी पाँच वर्षमुनिका बालबालिकाका लागि जोखिमपूर्ण मानिने यो रोगबाट हुने मृत्युमध्ये धेरैलाई समयमै खोप, उचित पोषण र उपचारमार्फत रोक्न सकिन्छ। विश्वभर पाँच वर्षमुनिका बालबालिकाको कुल मृत्युमध्ये करिब १३ प्रतिशत मृत्यु निमोनियाका कारण हुने गरेको तथ्यांक छ।
यसैबीच विश्व निमोनिया दिवसका अवसरमा सरकारले पनि बालबालिकालाई निमोनियासँग सम्बन्धित संक्रमणबाट जोगाउनका लागि खोप महत्वपूर्ण रहेको भन्दै राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप समयमै लगाउन आग्रह गरेको छ। स्वास्थ्य सेवा परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले सो आग्रह गरेको हो ।
निमोनिया कति खतरनाक ?
युनिसेफका अनुसार विश्वभर प्रत्येक वर्ष पाँच वर्षमुनिका सात लाखभन्दा बढी बालबालिकाको निमोनियाका कारण मृत्यु हुने गरेको छ।
सन् २०२४ मा निमोनिया पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख संक्रामक कारणमध्ये एक बनेको थियो।
नेपालमा पनि निमोनिया बालमृत्युको प्रमुख कारणमध्ये एक हो। युनिसेफको सन् २०१९ को तथ्यांकअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको कुल मृत्युमध्ये करिब १३ प्रतिशत निमोनियाका कारण हुने गरेको थियो।
निमोनियासँग सम्बन्धित संक्रमणबाट बचाउन नेपालमा महत्त्वपूर्ण पाँच खोप
सरकारले निमोनियासँग सम्बन्धित संक्रमणबाट बालबालिकालाई जोगाउन पाँच प्रकारका खोपलाई महत्त्वपूर्ण मानेको छ। ती हुन् :
निमोकोकल कन्जुगेट खोप (PCV): निमोकोकल ब्याक्टेरियाबाट हुने निमोनिया, मेनिन्जाइटिसलगायत गम्भीर संक्रमणबाट बचाउँछ।
हेमोफिलस इन्फ्लुएन्जा टाइप बी (Hib) खोप: Hib ब्याक्टेरियाबाट हुने निमोनिया तथा मेनिन्जाइटिसबाट जोगाउँछ।
डिप्थेरिया विरुद्धको खोप: डिप्थेरिया संक्रमण र त्यसबाट हुने गम्भीर जटिलता रोक्न सहयोग गर्छ।
लहरेखोकी (Pertussis) विरुद्धको खोप: लहरेखोकीका कारण हुने गम्भीर श्वासप्रश्वासको समस्या र निमोनियाको जोखिम कम गर्छ।
दादुरा–रुबेला (MR) खोप: दादुराका कारण हुन सक्ने निमोनियालगायत गम्भीर जटिलताबाट बचाउँछ।
यी खोपमध्ये Hib, डिप्थेरिया र लहरेखोकीविरुद्धको सुरक्षा पेन्टाभ्यालेन्ट खोपबाट प्राप्त हुन्छ।
पेन्टाभ्यालेन्ट खोपमा धनुष्टङ्कार र हेपाटाइटिस बी विरुद्धको सुरक्षा पनि समावेश हुन्छ।
PCV र पेन्टाभ्यालेन्ट खोप बालबालिकालाई ६, १० र १४ हप्ताको उमेरमा दिइन्छ भने MR खोप ९ र १५ महिनामा लगाइन्छ।
खोपसँगै पोषण र सरसफाइमा पनि ध्यान दिनुपर्ने
खोपले निमोनियाका सबै कारणबाट पूर्ण सुरक्षा नदिने भएकाले बालबालिकालाई छ महिनासम्म आमाको दूध मात्र खुवाउने, त्यसपछि उमेरअनुसार पोषिलो पूरक खाना दिने, घरभित्रको धुवाँ तथा वायु प्रदूषणबाट जोगाउने र सरसफाइमा ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।
उनीहरुका अनुसार बालबालिकामा खोकी, ज्वरो, छिटोछिटो सास फेर्ने, सास फेर्न गाह्रो हुने वा छाती भित्र धस्सिने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्छ।
खोप शाखा प्रमुख डा अभियान गौतम भन्छन् , ‘समयमै खोप लगाउने, पोषणयुक्त खाना र उचित स्वास्थ्य सेवा सुनिश्चित गर्ने हो भने निमोनियाबाट हुने धेरै बालमृत्यु रोक्न सकिन्छ। त्यसैले बालबालिकाको खोप पूरा गराउनु उनीहरूको जीवन सुरक्षाको महत्त्वपूर्ण आधार हो। यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



