‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’ पाउने पहिलो नेपाली युरोलोजिस्ट बने डा. सञ्जय खड्गी

0
Shares

काठमाडौँ, २७ कात्तिक । नेपाली चिकित्सकको क्षमता र योगदानले अन्तर्राष्ट्रिय चिकित्सा जगतमा थप पहिचान पाएको छ। वरिष्ठ युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) डा. सञ्जय खड्गी प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्।

इटालीको फ्लोरेन्समा आयोजित सोसाइटी इन्टरनेसनल डी युरोलोजी (SIU) को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा गत बुधबार उनलाई ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’ प्रदान गरिएको हो। यससँगै उनी उक्त सम्मान प्राप्त गर्ने पहिलो नेपाली युरोलोजिस्ट बनेका छन्।

युरोलोजी चिकित्सा क्षेत्रमा जीवनभर पुर्‍याएको योगदान, समर्पण, अनुसन्धान, शिक्षण तथा यस विधाको विकास र विस्तारमा खेलेको भूमिकाको कदरस्वरूप डा. खड्गीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

सन् १९०७ मा स्थापित सोसाइटी इन्टरनेसनल डी युरोलोजी विश्वभरका युरोलोजिस्ट तथा युरोलोजीसम्बद्ध स्वास्थ्यकर्मीलाई जोड्ने अन्तर्राष्ट्रिय संस्था हो। यसले विश्वभर युरोलोजी उपचार, अनुसन्धान, शिक्षा र चिकित्सकीय सीपको विकास तथा आदानप्रदानलाई प्रोत्साहन गर्दै आएको छ। संस्थाले प्रदान गर्ने ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’ आफ्नो व्यावसायिक जीवनमा युरोलोजी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका चिकित्सकलाई सम्मान गर्ने पुरस्कार हो। संस्थाको अवार्डसम्बन्धी मापदण्डअनुसार यो सम्मान करियरभरको योगदानलाई आधार मानेर प्रदान गरिन्छ।

डा. खड्गी नेपालको युरोलोजी क्षेत्रमा विशेषगरी मिर्गौलाको पत्थरीको उपचारमा प्रयोग हुने आधुनिक तथा कम चिरफार गर्नुपर्ने प्रविधिको विकास र विस्तारमा योगदान पुर्‍याउने चिकित्सकका रूपमा परिचित छन्। उनले सन् २००५ मा चीनबाट Mini-PCNL प्रविधिको सीप हासिल गरी नेपालमा भित्र्याएका थिए।  उनले हालसम्म १७ हजारभन्दा बढी Mini-PCNL प्रक्रिया र दुई हजारभन्दा बढी लेजर प्रविधिबाट प्रोस्टेटको उपचारसम्बन्धी शल्यक्रिया गरिसकेका छन्।

चिकित्सकीय सेवासँगै उनले स्वदेश तथा विदेशका चिकित्सकलाई आधुनिक युरोलोजी उपचार प्रविधिबारे तालिम, कार्यशाला र प्रत्यक्ष शल्यक्रिया प्रदर्शनमार्फत ज्ञान तथा सीप हस्तान्तरण गर्दै आएका छन्। अन्तर्राष्ट्रिय सम्मेलनहरूमा आमन्त्रित विशेषज्ञका रूपमा सहभागी हुँदै आएका उनले युरोलोजीसम्बन्धी अनुसन्धान तथा वैज्ञानिक प्रकाशनमा समेत योगदान पुर्‍याएका छन्।

डा. खड्गीले प्राप्त गरेको यो सम्मान व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही नेपाली चिकित्सा क्षेत्रका लागि पनि महत्त्वपूर्ण मानिएको छ। यसले अन्तर्राष्ट्रिय चिकित्सा क्षेत्रमा नेपाली चिकित्सकको दक्षता, विशेषज्ञता र योगदानलाई थप परिचित गराउन सहयोग पुग्ने सहकर्मीहरूको भनाइ छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *