स्वास्थ्यको नयाँ प्रस्ताव : प्रदेशमा संघीय स्वास्थ्य कार्यालय, जिल्लामा संघीय स्वास्थ्य इकाई
काठमाडौँ, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा संघीय स्वास्थ्य कार्यालय राख्ने प्रस्ताव अघि सारेको छ । यस्तै ७७ वटै जिल्लामा संघीय स्वास्थ्य इकाई राख्न प्रस्ताव अघि बढाएको छ ।
केन्द्र, प्रदेश र स्थानीय तहमा समन्वय गर्न तथा केन्द्र भइरहेका अत्यावश्यक काममा अवरोध नहोस भन्नका लागि तत्कालका लागि प्रदेश तथा जिल्ला तहमा नयाँ संरचनाको कल्पना गरेको छ ।
मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको प्रस्तावमा हरेक प्रदेशमा एघारौँ तह (निर्देशक)को कर्मचारीको नेतृत्वमा संघीय स्वास्थ्य कार्यालय स्थापना गर्ने उल्लेख छ । यस्तै जिल्लाका लागि प्रस्ताव गरिएको संघीय स्वास्थ्य इकाईमा महानगर तथा उपमहानरपालिका रहेका जिल्लाहरुमा नवौँ तथा दशौँ तहका कर्मचारीको नेतृत्वमा ८जना कर्मचारी राख्ने प्रस्ताव अघि बढाएको छ ।
गाँउ पालिका तथा नगरपालिका रहेका जिल्लाहरुमा भने सातौँ वा आठौँ तहका कर्मचारीको नेतृत्वमा आठ जना कर्मचारीको प्रस्ताव अघि सारिएको छ ।
मन्त्रालयले प्रदेश तथा जिल्लामा रहने कर्मचारीको तलव सुविधा व्यवस्थापन केन्द्र सरकारले गर्ने प्रस्ताव गरेको छ ।
स्वास्थ्य मन्त्रात्रलय संघीयता कार्यान्वयन इकाइका प्रमुख मोहम्मद दाउद भन्छन्, ‘यो हाम्रो प्रस्ताव हो । मन्त्रिपरिषदमा दर्ता गराइसकेका छौँ । निर्णय हुन बाँकी छ । स्वास्थ्य सम्वेदनशील क्षेत्र भयो । यसका दैनिक कार्य एक दिन पनि अफ्टेरोमा पर्न हुन्न भनेर संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा आफ्ना सम्पर्क कार्यालयका रुपमा यी नयाँ संरचना स्थापना गर्ने प्रस्ताव अघि सारेको हो ।’
संघीय स्वास्थ्य कार्यालय र संघीय स्वास्थ्य इकाई प्रदेश तथा जिल्ला तहमा रहने भएपनि त्यो केन्द्र अर्थात संघीय सरकार मातहत रहने प्रस्ताव गरिएको उनले स्पष्ट पारे ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



