राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी भर्ना प्रक्रिया माथि मन्त्रालयले लगाईदियो ‘ब्रेक’
काठमाडौँ, ३० चैत । स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा विभिन्न विषयका प्राध्यापक, डाक्टर, नर्स तथा कर्मचारी नियुक्ति गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको योजनालाई ‘ब्रेक’ लगाइदिएको छ । प्रतिष्ठानको सहकुलपति समेत रहेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कर्मचारी नियुक्ति प्रक्रिया तत्काल स्थगित गर्न पत्र पठाएपछि तत्कालका लागि ब्रेक लागेको हो ।
संख्या नखुलाई ठूलोसंख्यामा कर्मचारी भर्ना गर्न लागेपछि राज्यमन्त्री अर्यालको पत्र लिएर स्वास्थ्य तथा जनसख्ंया मन्त्रालय, स्वास्थ्य विभागका पदाधिकारीहरु दाङ पुगेका थिए ।
स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, चिकित्सा महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंह स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी दाङ पुगेका थिए ।
प्रतिष्ठानले गत फागुन २५ मा सूचना निकाल्दै प्राध्यापक, सहप्राध्यपक, मेडिकल अफिसर, हाउस अफिसर, डेन्टल सर्जन, स्टाफ नर्स लगायत विभिन्न पदहरुमा संख्या नखुलाई दरखास्त आवहान गरेको थियो ।
प्रतिष्ठानका पदाधिकारीहरुले आफूहरुको बस्ने ठाँउको व्यवस्थापन समेत गर्न नभ्याउँदै हतार हतार विज्ञापन गरेपछि स्वास्थ्य मन्त्रालय ससंकित भएको थियो ।
‘हामीले सबै कुरा बुझ्यौँ तर त्यहाँ त पदाधिकारीहरु बस्ने ठाँउको समेत टुंगो रहेनछ । होटलमा बसेर काम गरेका छन् । तर यति धेरै पदहरुमा कर्मचारीहरु मागिएको छ । तिनिहरुको व्यवस्थापन कहाँ कसरी गर्ने भन्ने पनि छैन । अरु तयारी नगरी यस्तो विज्ञापन गर्नुको पछाडी त केही हुन्छ नै भनेर तत्काल स्थगित गर्न निर्देशन दिइएको हो,’ एक अधिकारीले बताए ।
मन्त्रालयको निर्देशन पछि प्रतिष्ठानले आजबाट लिने भनेको मेडिकल अफिसर, हाउस अफिसर डेन्टल सर्जन र स्टाफ नर्सको अन्तरबार्ता स्थगित गरेको जनाएको छ ।
यस्तो थियो विज्ञापन
विज्ञापन स्थगित भएको सूचना यस्तो छ