जब औषधि बोकेर उड्यो ड्रोन….
म्याग्दी २७ चैत । अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन ।
यसको पिठ्युँमा थियो– एक किलो औषधिको बाकस । राम्चेको हेल्थपोस्टमा जमिनदेखि करिब १५ मिटर उचाइबाट औषधि खसालेर ड्रोन पुनः नागी फर्कियो ।
आठवटा पंखा जोडिएको यो अप्टोकप्टरको समुद्री सतहबाट २ हजार ५ सय मिटरदेखि ३ हजार मिटर उचाइसम्मका बस्तीमा सफल उडान परीक्षण गरिएको हो । ‘हाई अल्टिच्युडमा पनि भारसहित अप्टोकप्टर ड्रोनले १५ सय मिटर दूरीमा सफल उडान भरेको छ,’ ड्रोन निर्माणको नेतृत्व गरेका राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर सुरज कार्कीले भने, ‘हामी उत्साही छौं, भविष्यमा दुर्गम ग्रामीण भेगका जनताको उपचारमा हाम्रो ड्रोन उपयोगी हुनेछ ।’
अग्ला डाँडाका कारण पहाडी क्षेत्रमा एउटा गाउँबाट अर्कोमा पुग्न थुप्रै घण्टा लाग्छ । यस्तोमा औषधिजस्ता अत्यावश्यक चिज पुर्याउन ड्रोन प्रभावकारी हुने अनुमान गरिएको छ । डाँडापाखामा छरिएर रहेका तथा पातलो जनसंख्या भएका दुर्गम ग्रामीण बस्तीमा छिटो र सजिलोसँग औषधि पुर्याई जनताको स्वास्थ्योपचार गर्न यस्ता मेडिकल ड्रोन लाभदायी हुने अपेक्षा गरिएको छ ।
केन्द्रका इन्जिनियरहरूले जहाजको मोडेलमा तयार पारेको फिक्स्डविङ ड्रोनले पनि सफल उडान भरेको छ । यो ड्रोनले हाई अल्टिच्युडमा करिब ५ किलोमिटरसम्मको दूरीमा उडान भरेको छ । आविष्कार केन्द्रका ड्रोन विभाग प्रमुख रहेका इन्जिनियर सुनील बानियाँले यो परीक्षणले बाटो खुलेको बताए ।
‘अप्टोकप्टरले २.५ किलोमिटरसम्मको दूरीमा सजिलै औषधि पुर्याउन सक्ने प्रमाणित भएको छ, ५ किमि दूरीमा पनि पुर्याउन फिक्स्डविङ जहाज जस्तो ड्रोन प्रयोग गर्न सकिने भएको छ,’ उनले भने । आइतबार यी परीक्षण हुँदा केन्द्रका अध्यक्ष म्यागसेसे विजेता महावीर पुन पनि उपस्थित थिए । केन्द्रको स्थापनाका लागि लामो दौडधुप गरेका पुनले भने, ‘हाम्रो ड्रोनको परीक्षण उडान सफल भएको छ ।
अब यिनको व्यावसायिक उत्पादन र प्रयोगका लागि कानुनी प्रक्रिया सुरु हुनेछ ।’ नेपालमा वैज्ञानिक क्षेत्रमा खोज, अन्वेषण, रैथाने सीप र प्रविधिको परीक्षणमार्फत व्यावहारिक र व्यावसायिक बनाउन युवा वैज्ञानिक, अध्येता, खोजकर्ताको विदेश पलायन रोक्न केन्द्र स्थापना गरेको पुनले बताए । उनले भने, ‘काम नै नगरी सपना बाँडेर मात्र कहाँ हुन्छ ? पटक–पटकको अभ्यासबाट प्रविधिको मात्र होइन, सिद्धान्तको पनि प्रतिपादन हुन्छ ।’
आफूहरू ग्रामीण भेगमा स्वास्थ्य उपचारको नमुना मोडेल निर्माण प्रक्रियामा रहेको उनले बताए । यसअघि उनले नागी क्षेत्रमै वा यरलेस इन्टरनेट सुविधा पुर्याएर विश्वको ध्यान तानेका थिए । यसैबापत उनलाई रोमन म्यागसेसे पुरस्कार दिइएको थियो ।
३० नेपाली इन्जिनियरको टिमले यी मेडिकल ड्रोन तयार पारेका हुन् । केन्द्रमा निर्मित ड्रोनहरू नमुनाका रूपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ र ८ (साविक हिस्तान र राम्चे गाविस) का आठवटा बस्तीमा सञ्चालित ग्रामीण स्वास्थ्य सेवा तथा टेलिमेडिसिन कार्यक्रममा औषधि ओसारपसार र रगत, दिसापिसाबका नमुना संकलनमा प्रयोग हुने भएका छन् । केन्द्रले नेपालीले बनाउने ड्रोनको व्यावसायिक प्रयोजनका लागि उत्पादनको योजना बनाएको छ ।
‘नयाँ विषयको अध्ययन, अनुसन्धान, अन्वेषण, खोज र अनुभवको अभिलेख गर्ने निकाय छैन । विचारधारा र सिद्धान्तको प्रवद्र्धन गर्ने प्लेटफर्मका रूपमा आविष्कार केन्द्र आवश्यक भएको हो,’ अभियन्ता पुनले भने, ‘व्यक्ति तथा संस्थाबाट प्राप्त फन्डलाई अनुसन्धान, अन्वेषणबाट प्राप्त उपलब्धि व्यवहारमा परीक्षण गराउन र कतिपय अवस्थामा रैथाने ज्ञान सीपको समेत वैज्ञानिक परीक्षण गराउन सहयोग गरिने छ ।’ प्रविधिको क्षेत्रमा नेपाली युवा जनशक्ति तयार भइरहेकाले उनीहरूलाई काम र उत्साह दिँदा राज्यले लाभ लिन सक्ने उनले बताए ।
–
- आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काको समाचार
सम्पर्क इमेल : nepalihealthnews@gmail.com