क्यान्सरका डाक्टर : जसको परिवारमा ५० जनालाई क्यान्सर छ

- नेपाली हेल्थ
डा. राजेन्द्रप्रसाद बराल

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन्, डा. राजेन्द्रप्रसाद बराल। २५ वर्षयता उनी क्यान्सर रोगको उपचारमा सक्रिय छन्।

ब्लड क्यान्सरका कारण उनले आमा गुमाए। त्यसपछि बुबा, फुपू, फुपूको छोरा, काका–काकी, मामालगायत गरी परिवारका ५० भन्दा बढी सदस्य क्यान्सर रोगी भएको उनी बताउँछन्।

डा. बराल ‘सार्क फेडरेसन अफ अन्कोलोजिस्ट’का अध्यक्ष र ‘नेपाल अर्बुद रोग निवारण’ संस्थाका उपाध्यक्ष हुन्। हाल नर्भिक अस्पताल र ओम अस्पतालको अन्कोलोजी विभागका प्रमुख पनि हुन्।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालको पुख्र्यौली घर पोखरा हो। तर, उनी काठमाडौँमै जन्मिए-हुर्किए। उनका आमाबुबाको बालविवाह भएको थियो। ‘बिहे गर्दा आमाबुबा १० वर्ष पनि नाघेका थिएनन्,’ उनले भने, ‘आमाबुबाको बिहेकै दिन बुबाको हजुरआमा बित्नुभएछ। हजुरबुबाले अलच्छिनी भनेर मेरी आमालाई नानाथरी भनेपछि उहाँ मामाघर गएर बस्न थाल्नुभयो।’

डा. बरालका बुबा सानैमा घरबाट भागेर काठमाडौं आए। दरबार हाईस्कुलमा पढ्न थाले। ‘त्यो बेला बुबा पोखराबाट नौ दिन लगाएर काठमाडौं आउनुभएको थियो रे १’ उनले भने, ‘१८–२० वर्षपछि बुबा मामाघर पत्ता लगाएर आमालाई लिन जानुभएछ। म उहाँहरूको जेठो सन्तान हुँ। ममुनि दुई भाइ र एक जना बहिनी छन्।’

कक्षा सातसम्म डा.  बरालले काठमाडौँ, सिफलस्थित हिमालय विद्या मन्दिरमा पढे। आठ कक्षादेखि सिद्धार्थ वनस्थलीमा पढेर त्यहीँबाट एसएलसी दिए। ‘‘ठूलो भएपछि के बन्छौ रु’ भनेर सोध्दा त्यो बेलादेखि नै सबैले ‘डाक्टर बन्छु’ भन्थे,’ उनले भने, ‘म पनि त्यसै भन्थेँ । तर, डाक्टर बन्ने(नबन्ने टुंगो चाहिँ थिएन।’ एसएलसीपछि उनी अस्कल कलेजमा आईएससी पढ्न थाले। ‘त्यो बेला २०३६ सालको आन्दोलन चलिरहको थियो,’ उनले भने, ‘यहाँ पढ्ने माहौल नभएर बनारस पढ्न गएँ। उता म बीपी कोइरालाको घरमा बस्थेँ। मनीषालाई मैले त्यही बेला चिनेको हुँ।’

आमाको अन्तिम बोली– ‘तिमी क्यान्सरको डाक्टर बन है’

परीक्षा नजिकिँदै थियो। त्यही बेला डा.  बराल बिरामी परे। स्वास्थ्यले साथ नदिएपछि उनी काठमाडौँ फर्किए। त्यही बेला उनकी आमा पनि बिरामी परिन्। परीक्षा नजिकिँदै थियो, तर आमाको स्वास्थ्यभन्दा ठूलो उनलाई परीक्षा र पढाइ लागेन। परिवारको जेठो छोरा भएकाले आमा छोडेनन्। बरु, बीचैमा पढाइ छाडेर आमाको उपचारमा लागे। उपचारको क्रममा उनकी आमालाई ब्लड क्यान्सर भएको थाहा भयो। यो २०३९ सालतिरको कुरा हो। ‘त्यो बेलामा हामीलाई क्यान्सरबारे केही थाहा थिएन,’ उनले भने, ‘थाहा भएकाहरूले पनि केही सल्लाह दिएनन्। ‘क्यान्सर भनेको के हो रु’ भन्ने नै थाहा नभएको बेला त्यसको अस्पताल र डाक्टर त टाढैको कुरा भयो।’

त्यतिखेर दीपक बोहोरा पर्यटनमन्त्री थिए। उनको सहयोगमा डा. बरालको परिवारले बैंककबाट औषधि मगायो। ‘उताबाट ल्याएको किमोको औषधि यहाँको एक जना सिनियर डाक्टरले चढाउनुहुन्थ्यो,’ उनले भने, ‘तर, उहाँ क्यान्सरको डाक्टर हुनुहुन्नथ्यो। आमालाई बचाउन सकिन्छ कि भनेर हामीले भरपूर प्रयास गर्‍यौँ।’ यतिबेलासम्म उनीहरूले आमालाई रोगबारे बताएका थिएनन्। आमाको स्वास्थ्य अवस्था दिनानुदिन खस्किँदै थियो। ‘मानिसलाई मृत्युको आभास हुँदो रहेछ,’ डा.  बरालले भने, ‘एक दिन आमाले ‘तिमीहरूले मलाई ढाँटेका हौ, मलाई पक्कै पनि कुनै ठूलो रोग लागेको छ’ भन्नुभयो। हामीले उहाँलाई सुगर भएको भनेर ढाँटेका थियौँ।’ त्यसको केही समयपछि उनकी आमाले आफूलाई क्यान्सर लागेको थाहा पाइन्। त्यसपछि आमाले उनलाई बोलाएर भनिन्– ‘मेरो एउटा अन्तिम इच्छा छ, त्यो तैँले पूरा गर्नुपर्छ।’

निराश हुँदै डा. बरालले आमाको अन्तिम इच्छा सोधे। ‘फिल्मको सिनजस्तै भयो,’ उनले भने, ‘आमाले ‘तिमी क्यान्सरको डाक्टर बन है’ भन्नुभयो। मैले ‘हुन्छ’ भन्ने शब्द मुखबाट के निकालेको थिएँ, आमा बित्नुभयो।’

एकातिर पढाइ बिग्रियो, अर्कोतिर जति प्रयास गर्दा पनि आमालाई बचाउन सकेनन्। चार–पाँच वर्ष जुनियरहरूसँग उनी फेरि त्रिचन्द्र कलेजमा आईएससीमा भर्ना भए। ‘एसएलसी दिँदा पाँच कक्षामा पढ्नेहरूसँग म आईएससीको क्लासमा थिएँ,’ उनले भने। त्यहाँबाट आईएससी सकेर उनले भारतीय दूतावासको सहयोगमा भारत, उत्तर प्रदेशको इलाहाबादबाट एमबीबीएस गरे। ‘एमबीबीएस चौथो वर्षमा बिहे गर्ने कुरा चल्यो,’ उनले भने, ‘एमबीबीएस पास भएको भोलिपल्टै मेरो बिहे भयो।’

टाटामा जुरेको अवसर

उताबाट फर्किएपछि उनी वीर अस्पतालमा काम गर्न थाले। त्यतिबेला उनलाई डाक्टर बनेर मात्र पुगेको थिएन। उनलाई जसरी भए पनि क्यान्सरको डाक्टर हुनु थियो। डा. अञ्जनीकुमार शर्माको नाम उनले सुनेका थिए। ‘त्यो बेला उहाँ अर्बुद रोग निवारण संस्थाको अध्यक्ष हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँलाई भेट्न पाए क्यान्सरको डाक्टर बन्न सकिएला भन्ने आश थियो। त्यसैले आफूले गरिरहेको सबै काम छाडेर उहाँलाई पछ्याउँदै अन्नपूर्ण नर्सिङ होममा काम गर्न थालेँ।’

त्यहाँ काम गर्दागर्दै डा. बरालको चिनजान भारतको टाटा मेमोरियल अस्पतालबाट आएका डाक्टरहरूसँग भयो। ‘उनीहरूलाई मैले आफूलाई त्यहाँ गएर पढ्न इच्छा लागेको बताएको थिएँ,’ उनले भने, ‘त्यहाँ भारतीयलाई मात्र कोटा हुँदो रहेछ। पछि डा. शर्माको अनुरोधमा त्यो कलेजको लागि जाँच दिन पाएँ। आठ हजार आवेदनमा तीन वटा सिट थियो। मैले दोस्रो नम्बरमा नाम निकालेँ।’

सन् १९९१ देखि १९९६ सम्म उनले भारतको टाटा मेमोरियल अस्पतालमा अध्ययन गर्ने मौका पाए। ‘त्यसबेला ब्लड क्यान्सरको विषयमा पढ्दा छाँगाबाट झरेजस्तै भएँ,’ उनले भने, ‘आमालाई ब्लड क्यान्सर थियो। तर, उहाँ ब्लड क्यान्सरले मात्र नभई औषधिको हाई डोजले बित्नुभएको रहेछ।’

एक दिनमा ८० एमजी खानुपर्ने औषधि उनकी आमालाई दिनकै नौ सय एमजी दिने गरेको रहेछ। ‘आमाले नौ दिनसम्म ८१ सय एमजी औषधि खानुभएकोे थियो,’ उनले भने, ‘संसारको सबैभन्दा ठूलो प्राणी ह्वेल माछाले पनि त्यो मात्राको औषधि धान्न नसक्ने रहेछ। त्यसले मुटुलाई असर पार्ने रहेछ। मेरी आमा त्यही औषधिको हाई डोजले मुटु फुटेर बित्नुभएको रहेछ।’

भारतबाट फर्किएपछि उनले बी एन्ड बी अस्पतालमा काम गर्न थाले। अस्पतालमा १२–१५ वर्ष उनले आफ्नै हातले किमो बनाए। क्यान्सरको उपचार गलत तरिकाले नहोस् भनेर उनले अन्य डाक्टर र नर्सहरूलाई पनि किमो बनाउन सिकाए। ‘मैले सुरु–सुरुमा उपचार गरेका केही क्यान्सरका बिरामी अहिले डाक्टर भइसके,’ उनले भने, ‘तन्नेरी अवस्थामै क्यान्सरको शिकार भएका धेरै युवायुवतीको मैले बिहे पनि गराइदिएको छु। उनीहरूका छोराछोरी पनि छन्।’

यी सबै गरिरहँदा हरेक दिन डा। बराललाई लाग्छ– ‘मेरी आमाले पनि उपयुक्त उपचार पाएको भए बाँच्नु पो हुन्थ्यो कि १’

परिवारका थुप्रैलाई क्यान्सर

उनको परिवार र आफन्तमा अहिले धेरै जना क्यान्सरका रोगी छन्। उनका बुबा पनि क्यान्सररोगी हुन्। कुनै समय उनलाई छालाको क्यान्सर भएको थियो। ‘बुबा, फुपू, फुपूको छोरा, काका–काकी, मामा, मामाको छोरा गरेर परिवारका ५० भन्दा बढी सदस्यलाई क्यान्सर छ,’ उनले भने, ‘सबैलाई फरक–फरक खालको क्यान्सर छ। फोक्सो, छाला, छाती, पाठेघर, आन्द्रा, पिसाबको थैली आदिको क्यान्सरबाट उनीहरू पीडित छन्। परिवारमा क्यान्सरकै कारण केही बितिसके भने केही उपचारका क्रममा छन्।’

परिवारमा क्यान्सर भएकामध्ये उनले कसैलाई पनि ‘यहाँ उपचार हुँदैन, विदेश जाऊ’ भनेर सल्लाह दिएका छैनन्। केही पर्नेबित्तिकै परिवारका सदस्य उनीकहाँ दौडिएर आउँछन्। ‘हिजो मात्र एक जना काका आउनुभएको थियो,’ उनले भने, ‘उहाँलाई पनि हेरेर पठाइदिएँ। त्यस्तै, अन्य थुप्रै बिरामीको भीड अहिले पनि मकहाँ लाग्छ। उहाँहरूलाई परामर्श दिन पाउँदा आमाको सपना पूरा भएजस्तो लाग्छ।’

२५ वर्षयता उनी क्यान्सर रोगको उपचारमा सक्रिय छन्। उनी ‘सार्क फेडरेसन अफ अन्कोलोजिस्ट’का अध्यक्ष र ‘नेपाल अर्बुद रोग निवारण’ संस्थाका उपाध्यक्ष हुन्। हाल नर्भिक इन्टरनेसनल अस्पताल र ओम अस्पताल तथा रिसर्च सेन्टरको अन्कोलोजी विभागका प्रमुख हुन्। क्यान्सरलाई कम गर्न उनी सचेतना फैलाउने अभियानमा पनि लागिपरेका छन्। ‘यो २५ वर्ष मैले थुप्रै चाडपर्व र उत्सव थाती राखेर बिरामीको सेवा गरेँ,’ उनले भने, ‘मैले न दशैँ भनेँ, न तिहार।’

  • अन्नपूर्ण पोष्ट दैनिकमा सृजना खड्काले तयार पारेको फिचर

थप समाचार


Facebook Comment