औषधिकै संक्रमणले तीन जनाको मिर्गौला बिग्रियो

काठमाडौँ २० फागुन । प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ ।

जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले हालका लागि उक्त ‘ब्याच’ का औषधिको बिक्रीवितरण रोक्ने तयारी गरेको छ ।

गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये तीन जनामा एकै प्रकारको संक्रमण देखिएको थियो । संक्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रियाकक्ष फागुन १२ गतेसम्मका लागि बन्द गरेर सरसफाइ गरेको थियो । यस्तै अस्पतालले संक्रमणको स्रोत पत्ता लगाउनका लागि शल्यक्रियामा प्रयोग भएका औषधिलगायत सबै वस्तु, औजार तथा शल्यक्रियाकक्षबाट नमुना संकलन गरेर अनुसन्धान सुरु गरेको थियो । तीनमध्ये एक महिला एनएमसीमै उपचाररत छिन् भने दुई जनालाई उपचारार्थ मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।

अनुसन्धानबाट त्यहाँ प्रयोग गरिएको ब्याक्टेरियाको संक्रमणविरुद्ध उपयोग हुने मेट्रोनिडाजोल सस्पेन्सन र रिंगर ल्याक्टेट नामक सलाइनमा खराबी रहेको पत्ता लागेको अस्पतालका मेडिकल निर्देशक डा. राजेशकिशोर श्रेष्ठले बताए । ‘अनुसन्धानका लागि हामी मेडिकल काउन्सिल र डीडीएमा पनि गएका छौं । हामीसँग रहेको त्यो औषधि सबै फिर्ता पठाइसकेका छौं, प्रयोग गर्न बन्द गरिसकेका छौं,’ उनले भने, ‘तिनै औषधिका कारण तीन जनामा अत्यन्त गम्भीर प्रकारको संक्रमण देखिएको पुष्टि भयो । उनीहरूको थप उपचारको जिम्मा अस्पतालले लिन्छ ।’

संक्रमणबारे थप अनुसन्धानका लागि काउन्सिल र औषधि व्यवस्था विभागलाई जानकारी गराइसकेको उनले बताए । औषधिबाट संक्रमण भएको पत्ता लागेपछि अस्पतालले पुनः शल्यक्रियाकक्ष खुला गरेर मंगलबारदेखि सेवा सञ्चालनमा ल्याइसकेको जानकारी उनले दिए ।औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पनि एनएमसी अस्पतालमा शल्यक्रियाका बेला प्रयोग गरिएका एन्टिबायोटिक र सलाइन पानीमा खराबी देखिएको पुष्टि गरे ।

उनले अरू अस्पतालमा पनि यी औषधि प्रयोग भएरनभएको र त्यसबाट संक्रमण भएनभएको अनुसन्धान भइरहेको उनले बताए । ‘अरू ठाउँमा पनि यस्तै संक्रमण भएको रिपोर्ट आउनुपर्ने हो तर अहिलेसम्म त्यस्तो जानकारी आएको छैन,’ उनले भने । ती औषधि कुन कम्पनीका उत्पादन हुन् भन्ने उनले खुलाउन चाहेनन् । ‘कम्पनीका नाम हामी सूचना जारी गरेरै खुलाउँछौं, अहिले अनुसन्धानकै चरणमा छ,’ उनले भने ।

नेपाल मेडिकल काउन्सिल स्रोतले भने खराबी देखिएका दुवै औषधिको बिक्रीवितरण बन्द गरेर अनुसन्धान गर्नुपर्ने बताएको छ । ‘एन्टिबायोटिक र सलाइनमा देखिएको खराबीलाई सामान्य रूपमा लिन मिल्दैन,’ उनले भने, ‘एउटा मात्र ब्याचमा नभएर अरू ब्याचमा पनि खराबी भएको हुन सक्छ । त्यसैले हामीले डीडीएलाई दुवै औषधिको बिक्रीवितरण नै रोक्नका लागि आग्रह गरेका छौं ।’ शल्यक्रिया गर्दा प्रयोग गरिएको दुई प्रकारको एन्टिबायोटिक ‘मेट्रोनिडाजोल’ र ‘रिंगर ल्याकटेट सलुसन’ को कम्पनीको ब्याच सूचना जारी गरेर बन्द गराउने तयारी भइरहेको पनि उनले बताए ।

मेट्रोनिडाजोल एक प्रकारको एन्टिबायोटिक हो, जसले एनएरोबिक ब्याक्टेरिया (अक्सिजन प्रयोग नगर्ने ब्याक्टेरिया) सँग लड्न मद्दत गर्छ । यसले योनि, पेट तथा आन्द्रा, कलेजो, छाला, जोर्नी, मस्तिष्क, मुटु, श्वासप्रश्वास नली तथा दाँतमा हुन सक्ने ब्याक्टेरियाको संक्रमणबाट बचाउन सहयोग पुर्‍याउँछ । त्यसैगरी ‘रिंगर ल्याकटेट सलुसन’ भने सलाइन पानी हो ।

शल्यक्रियालगत्तै देखिएको संक्रमणपछि बिरामीमा पिसाब नहुनेलगायत विविध प्रकारका समस्या देखिएका थिए । संक्रमणले ती बिरामीको मिर्गौलामा गम्भीर समस्या देखिएको छ । एनएमसी अस्पतालका निर्देशक डा. श्रेष्ठका अनुसार मिर्गौला फेल भएका तीन जनामध्ये एक जना बिरामी सामान्य अवस्थामा आउन सक्ने सम्भावना छ भने दुई जनालाई डायलसिस गराउनुपर्ने हुन्छ । डायलसिसको सुविधा एनएमसीले नै दिने पनि उनले बताए ।

  • आजको कान्तिपुरमा बुनु थारुले लेखेको समाचार ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *