सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

बैतडी, ३० जेठ । मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो ।

पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बसेका छन् । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताईन् ।

स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ । स्थानीय बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई पानी नदिएको पञ्चेश्वर स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए ।

स्वास्थ्य चौकी भएर जाने खानेपानीको पाइपबाट तीन महिनामा एक रात मात्रै पानी भर्न दिए प्रसूति सेवाका लागि निर्माण गरिएको ३० हजार लिटरको ट्याङ्की भरिने उनले बताए । तर स्वास्थ्य चौकीलाई पानी दिए मुहान सुक्ने डरले स्थानीय पानी दिन तयार नभएको उनको भनाई छ ।

स्वास्थ्य चौकी इन्चार्ज दलित, अनमी पनि दलित र त्यसमाथि सुत्केरीले पानी प्रयोग गर्ने भएका कारण घुमाउरो ढङ्गले विभेद गरिएको उनले बताए ।

चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ २८ गतेसम्म पञ्चेश्वर स्वास्थ्य चौकीमा ६६ जना महिला सुत्केरी भएका छन् । सुत्केरी महिलाका लागि सङ्कलन गरिएको आकासेपानी सकिएपछि आइतबारदेखि सेवा बन्द भएको स्वास्थ्य चौकीले सूचना जारी गरेको छ । पञ्चेश्वर गाउँपालिका–१, बाट जिल्ला अस्पताल बैतडी पुग्न एक दिन लाग्ने गर्दछ ।

पत्रपत्रिकाबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *