‘औषधीको मूल्य समायोजन अब पनि नगर्ने हो भने स्वदेशी उद्योग टिक्दैन’

औषधी विलासिताको वस्तु होइन। यो त मानिस बिरामी हुँदा अनिवार्य रूपमा आवश्यक पर्ने जीवनरक्षक पदार्थ हो। त्यसैले औषधी सर्वसुलभका साथ साथै, गुणस्तरीय र प्रभावकारी हुनुपर्छ भन्ने विषयमा कुनै मतभेद हुन सक्दैन। म स्वयं पनि यहि मान्यता राख्दछु । तर एउटा प्रश्न उठ्छ- सधै उही मूल्य राख्ने नीतिबाट स्वदेशी औषधी उद्योगको प्रर्वद्धनको नारामा सार्थकता होला ? यस्तो नीतिले औषधीको गुणस्तर कायम होला ?
खैर,……!
तर्क र प्रश्नहरु यहाँहरु समक्ष नै छाड्न चाहन्छु ।
……………………………………………………..
प्रकृतिको नियम परिवर्तन हो। समय बदलिन्छ, प्रविधि बदलिन्छ, उत्पादन लागत बदलिन्छ, बजार बदलिन्छ। यदि औषधीको मूल्य वर्षौंसम्म स्थिर राखिन्छ भने – त्यो न त व्यवहारिक हुन्छ, न त न्यायोचित।
परिवर्तन गर्नुपर्ने ठाउँमा परिवर्तन नगर्ने, सुधार गर्नुपर्ने ठाउँमा सुधार नगर्ने हो भने प्रर्वद्धनको नारा जति लगाए पनि अर्थ छैन । र यसको असर औषधी उद्योगमा मात्रै होइन यसका प्रयोगकर्ता बिरामी तथा उपभोक्ता माथि पनि पर्दछ ।
आज औषधी उत्पादनमा प्रयोग हुने सक्रिय कच्चा पदार्थ (एपीआई) सहायक कच्चा पदार्थ, प्याकेजिङ सामग्री, ऊर्जा, ढुवानीलगायत सबैको लागत उल्लेखनीय रूपमा बढेको छ। यीमध्ये अधिकांश सामग्री अन्तर्राष्ट्रिय बजार र पेट्रोलियम पदार्थको मूल्यसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।
यो आजको परिस्थितिबाट देश भित्र कुन वस्तुको मूल्य बढेको छैन ? बजारका सबै वस्तु महँगा भएका छन्। नबढेको वा नबढाइएको औषधीको मात्रै हो । औषधीको मूल्य वर्षौंसम्म जस्ताको तस्तै राखिएको छ।
के यो न्यायोचित हो ? सधै भरी यसरी नै चलाउने ? फेरी स्वदेशी औषधी उद्योगको प्रर्वद्धनको नारा लगाई राख्ने ? कसरी मिल्यो ?
यस्तो नीतिले नेपाली औषधी उद्योग अब कति समयसम्म टिक्न सक्छ ? नेपाली औषधी उद्योगले कहिलेसम्म यस्तो समस्या धान्ने हुन् ? झेल्ने हुन् ? नयाँ पुस्ता, युवा जोशले भरिएको वर्तमान सरकारले पक्कै सोच विचार गरेको होला भन्न चाहन्छु ।
……………………………………………………………..
मूल्यको कुरा गरयो कि त्यसलाई विषयान्तर हुने गरी एउटा आरोप आई हाल्छ, व्यापक रुपमा बोनस बाढ्ने र व्यापारिक छुट दिने कुरा । तर बास्तविकता फरक छ । यसमा बुझ्न पर्ने कुरा के छ भने औषधी उत्पादन सामान्य खालको व्यापार होइन।
औषधीको निश्चित सेल्फ लाइफ हुन्छ। म्याद सकिएपछि औषधी नष्ट गर्नुपर्छ। त्यसबाट हुने सम्पूर्ण क्षति उद्योगले नै व्यहोर्नुपर्छ। त्यसअर्थ पनि हामीले आफ्ना बस्तु छिटो बिक्री गर्नका लागि केही स्किमहरु ल्याउनै पर्छ । यो सामान्य व्यापरिक योजना हो ।
बजार व्यवस्थापनका लागि दिइने व्यापारिक छुटलाई विकृति भनेर मात्रै बुझ्नु उचित हुँदैन। मैले फेरी पनि भनें, ती कुराहरु उद्योग सञ्चालनका क्रममा आउने व्यावसायिक व्यवस्थापनका पक्ष हुन्। यो अन्तराष्ट्रिय प्राक्टिस हो । अर्थात नियमित प्रक्रिया हो ।
……………………………………………………………..
नेपालमा औषधीको मूल्य निर्धारणको विषय करिब दुई दशकदेखि अन्योलमा छ। मूल्य समायोजनको कुरा उठेको १७–१८ वर्ष भइसक्यो। सरकार फेरिए, मन्त्री फेरिए, नीति निर्माणका अनेक प्रतिबद्धता आए, तर व्यवहारमा केही परिवर्तन भएको छैन ।
अहिलेसम्म नेपालमा मूल्य निर्धारणको वैज्ञानिक र स्वचालित प्रणाली छैन। यसले अर्बौं लगानी गरी स्वदेशमै केही गरौँ भन्ने नेपाली औषधी उत्पादकलाई अफ्टेरो पारेको छ । उद्योगलाई अनिश्चिततामा राखेको छ।
………………………………………………………………..
यहाँ निर स्पष्ट पार्न चाहन्छौँ कि हामी औषधी उत्पादकहरु (उद्योगीहरु)ले कहिल्यै पनि अनियन्त्रित मूल्यवृद्धिको माग गरेका छैनौं। हाम्रो माग यति मात्र हो कि मूल्य समायोजनको स्पष्ट, पारदर्शी र वैज्ञानिक प्रणाली बनाइयोस्। लागत घटे मूल्य पनि घटोस्, लागत बढे आवश्यकताअनुसार समायोजन पनि होस्। मूल्य घटाउन मिल्ने तर बढाउन नपाइने व्यवस्था कुनै पनि आर्थिक सिद्धान्तसँग मेल खाँदैन।
छिमेकी भारतको उदाहरण हेरौं। त्यहाँ सरकारी मूल्य नियामक निकायले प्रत्येक वर्ष बजारको अवस्था, लागत र आवश्यकताका आधारमा औषधीको मूल्य पुनरावलोकन गर्छ। त्यहाँ कुनै औषधीको मूल्य घट्छ, कुनैको बढ्छ । त्यो प्रक्रिया संस्थागत छ। हाम्रो आग्रह पनि त्यही हो, कि भारतको नक्कल नै त होइन, तर नेपालको आवश्यकता र वास्तविकताअनुसारको वैज्ञानिक प्रणाली बनोस्।
………………………………………………………………
मलाई के लाग्छ भने जुनसुकै पार्टी वा सरकार आओस औषधीको मूल्य निर्धारणलाई सधैं राजनीतिक लोकप्रियताको विषय बनाएर नराखोस । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भावनात्मक होइन, तथ्यमा आधारित निर्णय आवश्यक हुन्छ। यदि स्वदेशी उद्योगलाई टिकाइराख्ने हो भने उसलाई बाँच्न सक्ने वातावरण पनि दिनुपर्छ।
हरेक वर्षको बजेटमा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने घोषणा हुन्छ। तर व्यवहारमा त्यसको अनुभूति नेपाली औषधी उद्योगले गर्न पाएको छैन।
नीति बनाउने, समिति गठन गर्ने, कार्यविधि तयार गर्ने र बैठक गर्ने काम धेरै हुन्छ। तर कार्यान्वयनमा पुग्दा सबै प्रक्रिया अलपत्र पर्छ। उद्योगलाई प्रोत्साहन गर्ने ठोस कदम कमै देखिन्छ।
…………………………………………………………………
तुलनात्मक रुपमा नेपालमा उत्पादन हुने औषधीहरु सस्तो नै हुन्छन् । संगसंगै गुणस्तरीय पनि छन् । दक्षिण एसियाकै सस्तोमध्ये पर्न सक्छन्। तर सस्तो मात्रै भएर हुँदैन, उत्पादन निरन्तर हुनुपर्छ। उद्योग टिक्नुपर्छ। गुणस्तर कायम रहनुपर्छ। त्यसका लागि उद्योगलाई पनि न्यूनतम आर्थिक रूपमा टिक्न सक्ने वातावरण चाहिन्छ।
त्यसैले यतिवेला म सरकारसँग कुनै विशेष सुविधा मागिरहेको छैन। मेरो आग्रह यति मात्र हो कि औषधीको मूल्य निर्धारण र समायोजनलाई वैज्ञानिक, पारदर्शी र समयसापेक्ष बनाइयोस्।
पुराना ऐन–नियमलाई वर्तमान आर्थिक र औद्योगिक वास्तविकताअनुसार परिमार्जन गरियोस्।
स्वदेशी औषधि उद्योगलाई केवल भाषण र बजेटका नारामा होइन, व्यवहारमा पनि प्राथमिकता दिइयोस्।
यदि समयमै यस्ता सुधार गरिएनन् भने यसको असर उद्योगमा मात्रै सीमित रहने छैन। अन्ततः त्यसको प्रत्यक्ष प्रभाव नेपाली नागरिकले पाउने औषधीको उपलब्धता, गुणस्तर र स्वास्थ्य सुरक्षामै पर्नेछ।
त्यसैले अहिलेको आवश्यकता लोकप्रिय निर्णय होइन, दीर्घकालीन र विवेकपूर्ण नीति बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन हुनु पर्ने भन्ने नै हो ।
#ख्यागुली नेपाल औषधी उत्पादक संघ (एपोन)का पूर्व महासचिव हुन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com









