स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ प्रशासक डा. सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
Shares

काठमाडौँ, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक ( १०औँ तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा डा. सापकोटा र उनकी श्रीमती निरजा पण्डितविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न आकर्षक कार्यालयहरूमा निरन्तर कार्यरत रहँदा सापकोटाले काठमाडौँ लगायतका प्रमुख सहरहरूमा महँगा घडेरी खरिद गरी भव्य घर बनाएको, महँगो सवारीसाधन खरिद गरेको र अस्वाभाविक जीवनशैली बिताएको भन्दै उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा अख्तियारले सापकोटाको सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्मको जाँच अवधि कायम गरी छानबिन गरेको थियो।

अनुसन्धानका क्रममा सापकोटाको वैधानिक आय पारिश्रमिक, भत्ता, सवारी साधन तथा जग्गा बिक्री, घरबहाल, कृषि, सेयर बिक्री र अन्य स्रोतहरूसमेत गरी कुल ३ करोड ३५ लाख ७७ हजार २६० रुपियाँ ३४ पैसा देखिएको छ। सोही अवधिमा उनको घरजग्गा खरिद, घर निर्माण, सेयर तथा सवारी साधन खरिद, कर्जा भुक्तानी, अध्ययन र वैदेशिक भ्रमण खर्चसहित कुल व्यय ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपियाँ ५८ पैसा भएको पाइएको छ।

कुल आयको तुलनामा व्यय घटाउँदा २ करोड ३ लाख ९४ हजार ६१५ रुपियाँ २४ पैसा बराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि आयोगले मुद्दा दायर गरेको हो। सार्वजनिक पदको दुरुपयोग गरी अस्वाभाविक जीवनयापन गरेको र सम्पत्तिको विवरणसमेत झुट्टा पेस गरेको पुष्टि भएपछि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

गैरकानुनी रूपमा आर्जित स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती निरजा पण्डितको नाममा समेत घरजग्गा तथा सम्पत्ति खरिद गरिएको पाइएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्रै पण्डितलाई पनि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *