गजेन्द्रनारायण सिंह अस्पतालको गेटको दृश्य र आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम

0
Shares

भोटेकोशी बाढीका फुटेजहरुले भरिएका आँखाहरु ओभाउनै थिए, बुधबार विहान देखि सामाजिक सञ्जालमा अर्को भयानक दृश्य देखिन थाल्यो । भोटेकोशी बाढीलाई अप्रत्यासित आएको प्राकृतिक विपत्ती मान्न विवस आँखाहरु मधेशबाट आएको नयाँ दृश्यलाई त्यति सहज स्वीकार गर्न सकिरहेको थिएन ।

भोटेकोशी बाढीबाट अकल्पनीय रुपमा जनधनको क्षति पुगेको छ, मधेशको त्यो परि घटनाले तत्काल ठूलो क्षति त भएन तर हाम्रो सिस्टम, हामीमा हुनु पर्ने ज्ञान र मानवीय संवेदनालाई छर्लङ्ग पारिदिएको छ ।

हो तपाईँले थाहा पाईसक्नु भयो, मैले मधेशबाट आएको दृश्यको रुपमा के विषय उठाउन खोजिरहेको छु ।

गत बुधबार विहानै गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा सुत्केरीका लागि एका विहानै (२ बजे तिर) आएकी बविताकुमारी पासवानले केही समय पछि मुलगेटमा बच्चा जन्माईन् ।

अस्पतालको मुल गेटमा सुत्केरी हुँदै गरेको दृश्य कसैले सीसीटीभीमा समेत कैद भयो । त्यसदिन जब उज्यालो भयो, दृश्य सामाजिक सञ्जालबाट बाहिरियो । समाचारहरुमा सुत्केरीका लागि चाहिने जाँचका लागि पैसा तिर्न नसकेर उनी बाहिर गईन र बच्चा जन्माइन भन्ने आयो । कतिपय समाचारमा उनीहरुले पैसा छैन भनेर अस्पतालका स्टाफहरुलाई अनुरोध गरेको भए हुन्थ्यो भनेर पनि आए । कसैले अस्पतालका स्टाफहरुको व्यवहारले अफ्टेरो पारेको पनि भने ।

खैर,  कुरा जे होस्,

अस्पतालको गेटबाहिर सडक पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु सबैभन्दा दुखद पक्ष हो । कारण जे सुकै होस, छानविन समिति गठन भएको छ, टोलीले आवश्यक अध्ययन् गरी यर्थात बाहिर ल्याई हाल्छ नै । तर यस घटना पछि हामीले पनि विद्यमान कानूनी, सामाजिक र व्यवहारिक पक्षलाई हेरेर समय अनुसार विषयलाई अपडेट गर्नु पर्ने जस्तो लाग्छ ।

समस्याहरु आउँछन्, तिनलाई सुल्झाउन भनेर सरकारले नीति नियमहरु बनाएको हुन्छ । सुत्केरी घटना र त्यसपछिका कुराहरुलाई टुंगोमा पुरयाउन पनि केही नीति र सिद्धान्तलाई अघि सार्नै पर्छ । तर ती नीति र सिद्धान्तहरु समयानुसार आवश्यकताको सिद्धान्तलाई मनन गरी परिवर्तन पर्दछ । र भै रहेको पनि छ ।

यहि अस्तिको घटना हेरौँ न, गजेन्द्रनारायण सिंह अस्पतालमा प्रसूति व्यथामा आएकी बवितासंग चिकित्सकले भने अनुसार प्रयोगशाला जाँच गर्न पैसा नभएपछि अस्पतालबाट अचानक हराएको भन्न्ने कुरा सुनिएको छ ।

अस्पतालको मुलगेट बाहिर सुत्केरी भएपछि साल नाल काटन अस्पताल भित्र छिरेको तर सो सेवा लिएपछि पुन बाहिरिएको भन्ने कुरा समाचारमा पढेको हुँ ।

माननीय मन्त्री ज्यूले पनि शुक्रबार संसदमा बताउनु भएको थियो । उहाँले अहिले आमा र शिशुलाई हाल अस्पतालकै बेड नम्बर २२ मा भर्ना गरिएको पनि बताउदै दुबै जनाको स्वास्थ्य सामान्य रहेको जानकारी दिनु भएको थियो ।

अहिले उठेका निशुल्कको प्रश्नहरु

राजविराज घटना पछि जताततै प्रश्न उब्जिएको छ,  के नेपालमा प्रसूति सेवा निस्शुल्क हो ? हो भने कुन हद सम्म हो ? यो घटनामा सम्बन्धित आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम २०७८ मा के छ ?

यस्तो रहेछ निर्देशिकामा 

यस निर्देशिकाको अनुसूची २ (क) अनुसार नवजात शिशु स्वास्थ्य सेवा प्याकेजलाई 0, A, B र C गरी ४ भागमा विभाजन गरिएको छ । कुन प्याकेजमा कुन कुन जांच गर्ने स्पष्ट खुलाइएको छ तर दफा ६ (क) अनुसार स्वास्थ्य संस्थालाई प्राप्त हुने इकाई मूल्य (नर्मल डेलिवरी-२५००, जटिल डेलिवरी-४०००, सिजरियन सेक्सन-१०,०००) बाट गर्भवती महिलालाई सम्पूर्ण प्रयोगशाला जाँच, औषधि, उपकरण खरीद गरी अनिवार्य रुपमा नि:शुल्क सेवा उपलब्ध गराउनु पर्नेछ ।

सेवा प्रदायक संस्थाले सेवा ग्राही महिलालाई औषधि, उपकरण, सामान र प्रयोगशाला शुल्क वा सेवा बापत कुनै पनि शुल्क लिन पाइने छैन । यो अनुसार आवश्यक सबै जाँच नि:शुल्क गर्नु पर्ने हुन्छ । रेगुलर जाँच (ANC visit) मा कुन कुन जाँच नि:शुल्क गर्ने र कुन प्याकेज अन्तर्गत कुन जाँच (रगत, पिसाब, CSF,) नि: शुल्क गर्ने भन्ने स्पष्ट उल्लेख गरेको पाइन मैले ।

कहाँ निर ग्याप देखियो ? 

स्वास्थ्य संस्थालाई इकाई मूल्य निश्चित गरेको  तर सेवा दिदा आवश्यक औषधी, उपकरण, सामान र प्रयोगशाला जाँच असिमित हुँदा  ब्लाङ्केटमै सम्पूर्ण भन्दा के के जाँच निशुल्क गर्ने भन्ने सीमा देखिएन ।

त्यसैले मलाई लागेको यस्तो समस्या दोहोरिन नदिन सरकारले नीतिगत तहबाटै तीन कुरामा स्पष्ट हुन जरुरी छ ।

त्यसमा के गर्ने ?

  • नवजात शिशुको स्वास्थ्य सेवा दिदा जस्तै कुन प्याकेजको सेवा अन्तर्गत कुन कुन प्रयोगशाला जांच नि:शुल्क गर्ने भन्ने स्पष्ट उल्लेख गर्नु पर्ने देखिन्छ ।
  • सम्पूर्ण जाँच नि:शुल्क गर्ने भन्ने हो भने जति स्वास्थ्य संस्थाबाट  आवश्यक औषधि, उपकरण, सामान र प्रयोगशाला जाँच गर्दा खर्च हुन्छ त्यो परिपूर्ति  गर्नु पर्ने देखिन्छ ।
  • प्याकेज अनुसारको इकाई मूल्य समय सापक्ष परिमार्जन गर्नु पर्ने देखिन्छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *