‘जलवायु परिवर्तन र विपद्का कारण स्वास्थ्यमा बढ्दो जोखिम’
विज्ञ भन्छन्, 'पूर्वतयारी र उत्थानशीलतामा जोड दिऔँ'

काठमाडौं, ३० भदौ । जलवायु परिवर्तन र विपद्का कारण स्वास्थ्य क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि प्रमाणमा आधारित नीति, नवीन समाधान र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणमा जोड दिइएको छ।
नेपाली सोसाइटी अफ कम्युनिटी मेडिसिन (नेस्कम) को आयोजनामा मंगलबारदेखि काठमाडौंको पार्क भिलेज रिसोर्टमा सुरु भएको चौथो नेस्कम तथा अन्तर्राष्ट्रिय रिस्क–ई–स्केप सम्मेलनमा जलवायु परिवर्तन, विपद् र स्वास्थ्यबीचको सम्बन्ध तथा विपद्का बेला स्वास्थ्य सेवाको निरन्तरताका विषयमा छलफल सुरु भएको हो।
‘जलवायु, विपद् र स्वास्थ्य स् प्रमाण, नवीनता र उत्थानशीलता’ मुख्य विषय रहेको सम्मेलनको उद्घाटन सत्रमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा। अनुज भट्टचन, प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख विज्ञ सल्लाहकार प्राडा जगदीश अग्रवाल, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार प्राडा मनोहर प्रधानसहित स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विज्ञ, चिकित्सक, अनुसन्धानकर्ता, विद्यार्थी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ।
वक्ताहरूले जलवायु परिवर्तनसँगै बाढी, पहिरो, अत्यधिक गर्मी, वायु प्रदूषणलगायत वातावरणीय तथा विपद्जन्य जोखिम बढ्दै गएकाले त्यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा पर्न थालेको बताएका छन्। उनीहरुले बदलिँदो परिस्थितिमा स्वास्थ्य प्रणालीलाई विपद्को सामना गर्न सक्ने र विपद्पछि पनि सेवा निरन्तर सञ्चालन गर्न सक्ने गरी तयार पार्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले विपद्का समयमा आकस्मिक स्वास्थ्य सेवा मात्र नभई दीर्घरोगीको नियमित उपचार र हेरचाहलाई समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
विपद्का बेला स्वास्थ्य संस्थाको सेवा अवरुद्ध हुँदा दीर्घरोग, मानसिक स्वास्थ्य तथा अन्य स्वास्थ्य समस्याबाट प्रभावित समुदाय थप जोखिममा पर्न सक्ने भएकाले स्वास्थ्य प्रणालीको पूर्वतयारी बलियो बनाउनुपर्ने उनीहरूको भनाइ थियो। भोटेकोशी बाढीको प्रसंग जोडदै यो कार्यक्रम अत्यन्त महत्वपूर्ण समयमा आयोजना भएको बताए ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार प्राडा अग्रवालले ज्ञानलाई कार्यान्वयनमा, प्रमाणलाई नीतिमा र नीतिलाई स्वास्थ्यमा देखिने प्रभावमा रूपान्तरण गर्नुपर्ने बताए। उनले विपद् व्यवस्थापनका क्षेत्रमा शैक्षिक संस्था र सरकारबीचको सहकार्य थप बलियो बनाउनुपर्ने, जलवायुजन्य आपत्कालीन अवस्थाका लागि पूर्वतयारी सुधार गर्नुपर्ने तथा समुदायका लागि व्यावहारिक, किफायती, समतामूलक र दिगो समाधान विकास गर्नुपर्नेमा जोड दिए।

यस्तै स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा प्रधानले युवा अनुसन्धानकर्ता, चिकित्सक, विद्यार्थी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत नयाँ पुस्ताको सहभागिता पनि महत्वपूर्ण रहेको वक्ताहरूले बताए ।उनले भविष्यमा विपद् पूर्वतयारी र जनस्वास्थ्य सेवाको प्रभावकारिता विभिन्न विधा र क्षेत्रबीचको सहकार्यमा निर्भर हुने भन्दै उनीहरूलाई अनुसन्धान, नवीनता र समुदायसँगको सम्बन्धलाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रमको कि नोट स्पीकरको रुपमा प्राडा प्रदीप वैद्यले सम्वोधन गरेका थिए भने ओरिन्टेशन प्राडा लोचना श्रेष्ठले गरेकी थिईन ।
कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता पुष्पाञ्जली अधिकारी गरेकी थिईन, सोसाइटीका अध्यक्ष डा दीपेश ताम्राकारले उद्घाटन मन्त्व्यव दिदै जलवायु परिवर्तनले निम्त्याउने विनाश र त्यससंगै जोडिएर आउने स्वास्थ्य समस्या अत्यन्त जोखिमपूर्ण हुने भन्दै यसतर्फ राज्यको नीति तेर्सिनु पर्ने बताए ।
सम्मेलनमा जलवायु परिवर्तन, विपद् तथा स्वास्थ्य प्रणालीसँगै वायु प्रदूषण, बाल स्वास्थ्य, वातावरणीय जोखिमलगायत विषयमा वैज्ञानिक प्रमाण प्रस्तुत भइरहेका छन्। विभिन्न विधाका विज्ञबीच अन्तरविषयगत छलफलका लागि समेत सम्मेलनमा विशेष व्यवस्था गरिएको आयोजकले जनाएको छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित विभिन्न देशका विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार, गैरसरकारी संस्था तथा स्वास्थ्य क्षेत्रका राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको छ।
हरेक दुई दुई वर्षमा हुने यो सम्मेलन यसपटक युरोपेली संघको आर्थिक सहयोग तथा रिस्क–ई–स्केप परियोजनासँगको सहकार्यमा आयोजना गरिएको हो।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



