सन्दर्भ : नेपाल परिवार नियोजन दिवस

परिवार नियोजन कार्यक्रमसंग साइनो गाँसिएको ‘जलेको स्वास्थ्य मन्त्रालयको भवन’

0
Shares

आज १८ सेप्टेम्बर अर्थात परिवार नियोजन दिवस । नेपाल सरकारले १८ सेप्टेम्बरलाई परिवार नियोजन दिवसका रुपमा मनाउन थालेको १३ वर्ष भयो । कसरी ? यहाँ निर बताउन चाहन्छु ।

खासमा विसं २०१६ साल असोज २ गते शुक्रबार तद्अनुसार सेम्टेम्वर १८ तारिख १९५९ का दिन नेपाल परिवार नियोजन संघको स्थापना भएको हो । सोही दिनलाई स्मरण गर्दै विसं २०७१ साल देखि राष्ट्रिय रुपमा यो दिवस मनाउन थालिएको हो ।

हिजो आज परिवार नियोजनलाई परिवार योजना भनिएको हुँदा परिवार नियोजन दिवसको नाम पनि परिवार योजना दिवस भनिन थालिएको छ । यस वर्षको परिवार योजना दिवसको नारा विपद होस वा सामान्य अवस्था परिवार योजना सबैको आवश्यकता भन्ने तय गरेको देखिन्छ ।
…………………………………………………………

परिवार नियोजन कमिटी तत्कालिन स्वास्थ्य सहायक मन्त्री द्धारिका देवी ठकुरानीको अध्यक्षतामा गठन भएदेखि गैर सरकारी संस्था मार्फत परिवार नियोजनको सेवा प्रदान गरिदै आएको हो । तर, विसं २०२५ साल देखि परिवार नियोजन कार्यक्रम मातृशिशु कल्याण कार्यक्रम समायोजन भएपछि सरकारी स्वास्थ्य संस्थाबाट पनि यो सेवा प्रदान गर्न थालियो ।

यी दुबै कार्यक्रमलाई शुरुमा अमेरिकी सहयोग नियोगको प्राविधिक तथा आर्थिक सहयोग रह्यो । संगसंगै विश्व स्वास्थ्य संघ, युएनएफपिए, युनिसेफ, विश्व परिवार नियोजन संघ जस्ता दर्जनौ संस्थाहरुले सघाए ।

…………………………………………………………………

नेपाल चिकित्सक संघले स्थापना कालदेखिनै परिवार नियोजनका पक्षमा वकालत गर्‍यो । चिकित्सकहरु डा बद्रीराज पाण्डे, डा योगनाथ शर्मा, डा रिता थापा, डा क्रान्ति गिरी, डा योगेन्द्रमान प्रधान, डा टिकाराम वैद्य, डा द्धारिकानाथ रेग्मी, डा बद्रीधर बज्र, डा लक्ष्मीराज पाठक, डा नरेशप्रताप केसी, नर्स विजया केसी र अन्य दर्जनौ ब्यक्तिहरुको आफ्नो समय र स्थानबाट महत्वपूर्ण योगदान दिएका छन् । साथै मातृशिशु कार्यकर्ता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु जस्ता हजारौँ ब्यक्तिहरुका योगदानलाई आज बिर्सन हुँदैन ।

इतिहासमा महत्वपूर्ण योगदान गरेका तर चर्चामा नआएकाहरुको बारेमा सोधखोज गरि अभिलेख राख्नुपर्ने आवश्यकता झन् झन् महसुस हुँदैछ । त्यसैले उहाँहरु सबै स्मरणीय हुनुहुन्छ ।

परिवार नियोजनका नाममा बनेको भवन जब स्वास्थ्य मन्त्रीले कब्जा गरे !

परिवार नियोजन र मातृशिशु कार्यक्रमलाई अमेरिकी सरकारबाट सहयोग प्राप्त भएपछि कार्यक्रमले गति लियो । परिवार नियोजनका साधनहरु उपलब्ध गराउने जनशक्तिलाई तालीम दिने प्रचारसमग्री तयार गर्ने, शिविर सञ्चालन गर्ने र आयोजनाका लागि केन्द्रमा भवन निर्माण गर्ने, श्रोत उपलब्ध गराउने कार्यहरु हुन थाले । सोही क्रममा आयोजनाका लागि दुईवटा भवन बनाउने कार्यक्रम स्वीकृत भयो ।

पहिलो चरण अन्तर्गत रामशाह पथमा नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको केन्द्रीय कार्यालयको भवन निर्माण भयो । जुन भवन तत्कालिन वडामाहारानी ऐश्वर्या राज्यलक्ष्मीले २०३२ साल पौष १३ गते उद्घाटन गर्नु भएको हो ।

यो भवन परिवार नियोजन तथा मातृशिशु कल्याण परियोजनाका लागि केन्द्रिय प्रशासनिक कार्यका लागि बनाईएको थियो । यो भवन निर्माण सम्पन्न भइसकेपछि दोस्रो चरणमा तालीम र अध्ययन् अनुसन्धानका लागि सोही परिसरमा अर्को अर्थात दोस्रो भवन निर्माण गर्ने योजना तत्कालीन श्री ५ को सरकार र अमेरिकी सहयोग नियोगबीच सम्झौता भएको थियो ।

तर, तत्कालीन श्री ५ को सरकार र अमेरिकी सहयोग निर्माणबीच तालमेल मिल्न नसक्दा दोश्रो चरणको भवन निर्माणको काम त्यत्तिकै रोकियो ।

निर्माण सम्पन्न भएको खण्डको भुँइतलामा परिवार नियोजनको स्थायी अस्थायी उपाय आईयुसिडी, भ्यासेक्टोमी र ल्याप्रोस्कोपी जस्ता अपरेशनको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई तालीम दिइन्थ्यो । माथिल्लो तलाका कोठाहरु पुस्तकालय र प्रशासनिक कामका लागि प्रयोगमा ल्याईएको थियो ।

विसं २०३० असार २५ गते सिंहदरबारमा आगलागी भयो । त्यसपछि सिंहदरबार परिसरमा रहेको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग त्यहाँबाट बाहिर निस्कियो । सुरुमा स्वास्थ्य मन्त्रालय हाल टेकु परिसरमा रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र रहेको बहादुर भवनका केही कोठमा सिमित भयो । केही समय पछि स्वास्थ्य विभाग पनि टेकु परिसरम बनेको नयाँ टेमो भवन (ट्रान्सपोर्ट, इक्विपमेन्ट, मेन्टिनेन्स अर्गनाइजेसन) मा सर्‍यो । जुन भवनमा अहिले खोपका सामग्रीहरु राखिन्छ ।

…………………………………………………….

टेकु परिसरको साँघुरो भवनमा निर्वाह चलाएर बसेको स्वास्थ्य मन्त्रालयले अलि फराकिलो स्थानमा ठूलो भवन खोजि रहेको थियो ।

विसं २०३५ साल तिरको कुरा हो, पद्म सुन्दर लावती स्वास्थ्य मन्त्री थिए ।

खुला र ठूलो भवन खोजेका उनले एक दिन सम्झौँता विपरित रामशाह पथमा रहेको परिवार नियोजन तथा मातृ शिशु कल्याणका लागि बनेको नयाँ भवनमा गएर बस्न थाले । अमेरिकी सहयोग नियोगसंग भएको सम्झौँता अनुसार सन् १९८० (विसं २०३७) भन्दा अगाडी त्यस नयाँ भवनमा मन्त्रालय आउन नपाउने भनिएको थियो ।

मन्त्री लावती टेकुबाट आएर तत्कालीन अवस्थामा परिवार नियोजन तथा मातृ शिशु योजनाका प्रमुख डा बद्रीराज पाण्डे बसेको कोठामा बस्न थाले ।

योजना प्रमुख रहेका डा पाण्डेलाई अर्को कोठामा बस्ने व्यवस्था गरियो । विसं २०८२ भदौ २४ गते अराजक समूहले स्वास्थ्य मन्त्रालयको त्यो भवनमा आगजनी नगरेसम्म स्वास्थ्य मन्त्रीले आफ्नो च्याम्बर त्यहि कोठा प्रयोग गरिरहे ।

…………………………………………………………..

यता स्वास्थ्य मन्त्रालय संगको त्यसबेला चुलिएको असमझदारी र मन्त्रालयको पनि प्राथमिकतामा नपरेका कारण अमेरिकी सहयोग नियोगले निर्माण गर्ने भनिएको दोस्रो चरणको तालीम तथा अनुसन्धान भवन त्यत्तिकै रोकियो ।

त्यसबेला रामशाहपथ स्थित मन्त्रालय रहेको त्यो भवनको अमेरिकी सहयोग नियोगको अनुरोधमा विश्व प्रसिद्ध बास्तुकार लुईस इसाडोर खानले नक्सा बनाएका हुन् । यसको नक्सा बनाउँदा साठी हजार र भवन निर्माण गर्दा ४७ लाख रुपैयाँ खर्च भएको थियो ।

यो भवन बास्तुकलाका कारण विश्व प्रसिद्ध थियो । नेपाल सरकारले पुर्ननिर्माणका लागि पहल नगरेर आगलागीसंगै परिवार नियोजनका नाममा बनेको सम्पदा सधैका लागि गुम्दैछ ।

यस्तो थियो त्यो जमाना

परिवार नियोजन तथा मातृशिशु कल्याण योजना शुरु भएपछि युएसएआईडी विश्व स्वास्थ्य संघ, युएनएफपीएस, युनिसेफ आदि संस्थाहरुले कार्यक्रमलाई सहयोग गरे । कार्यक्रम सञ्चालन र कार्यालय व्यवस्थापनमा श्रोतको अभाव भएन । भर्टिकल प्रोजेक्टका रुपमा बहुसंख्यक जिल्लामा कार्यालयहरु खुल्दै गए ।

परिवार नियोजनको स्थायी र अस्थायी साधन अपनाउने सेवाग्राहीको लक्ष्य निर्धारण गरि केन्द्रले जिल्लाका लाई निर्देशन दिन्थ्यो । परिवार नियोजन सम्वन्धी काम गर्ने कर्मचारी र स्वयंसेवकहरुका बीचमा गाउँघरमा सञ्चालन हुने घुम्ती शिविरमा सेवाग्राही उपस्थित गराउन प्रतिस्पर्धा चल्थ्यो ।

सेवाग्राही शिविरमा उपस्थित गराए वापत सेवा प्रदायक र सेवाग्राही सबैले प्रोत्साहन रकम पाउँथे । लक्ष्य पुरा गर्ने र नगर्ने स्वास्थ्यकर्मीहरुलाई दण्ड र पुरस्कारको व्यवस्था थियो । उत्कृष्ठ कर्मचारीलाई विदेशमा अवलोकन भ्रमण समेत गराईन्थयो । लक्ष्य पुरा नगर्ने स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सहित दुर्गम तिर सरुवा हुन्थ्यो ।

जिल्लामा स्थापना भएका योजनाका कार्यालयहरुको व्यवस्थापन अन्य सरकारी कार्यालयहरुको भन्दा व्यवस्थित र साधनस्रोत सम्पन्न हुन्थे । योजनाका कर्मचारीहरुको सुविधा कार्यालयको भौतिक अवस्था , घोडा लगायतका यातायातका साधन आदिको राम्रो व्यवस्था गरिएको थियो ।

गाउँ गाउँमा परिवार नियोजन शिविरहरु सञ्चालन गर्दा शिविरमा पाईने सुविधाका कारण नेपाल सकारका स्थायी स्वास्थ्यकर्मीहरु शिविरमा जान लोभिन्थे ।

शिविर सञ्चालन भएका स्थानमा एक किसिमको जात्रा लागे जस्तै रमाइलो बातावरण हुन्थ्यो । स्थायी नियोजन गर्ने तरिका अहिलेको भन्दा बढी जटिल खालको हुन्थ्यो । घाउ ठूलो बनाईन्थ्यो ।

आजभोली सकेसम्म सानो छिद्र बनाएर अपरेशन गरिन्छ ।

सानो परिवार सुखी परिवारको आदर्शबाट प्रेरित भएर सुरु गरिएको परिवार नियोजन कार्यक्रमले व्यक्ति र दम्पत्तीलाई चाहिएको संख्यामा तथा चाहेको समयमा सन्तान जन्माउन सुसूचित र सहयोग गरयो । नेपालमा यो कार्यक्रम विभिन्न प्रश्नहरुका बीच पनि सफल देखिन्छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *