औषधी व्यवस्था विभागका तीन बरिष्ठ औषधी व्यवस्थापकको सरुवा

काठमाडौं, ३१ भदौ । औषधी व्यवस्था विभागका तीन बरिष्ठ औषधी व्यवस्थापकको जिम्मेवारी हेरफेर भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै यसअघि विभागको निमित्त महानिर्देशक समेत रहेकी बरिष्ठ औषधी व्यवस्थापक शिवानी खड्गीलाई मन्त्रालय ल्याएको छ ।
उनको ठाउँमा विभागको नेपालगञ्ज शाखाको प्रमुख रहेकी निनु श्रेष्ठलाई सरुवा गरी जिम्मेवारी दिएको छ । नेपालगञ्जमा भने मन्त्रालयमा रहेकी उशा तण्डुकारलाई पठाइएको बताइएको छ ।
मन्त्रालयले यसअघि विभागको महानिर्देशकको जिम्मेवारीमा भरत भट्टराईलाई पठाएको थियो । त्यसपछिको दोस्रो लटमा यी तीन जना दशौँ तहका कर्मचारीहरुको सरुवा गरिएको हो ।
स्वास्थ्यका तीन विभागमध्ये पछिल्लो समय औषधी व्यवस्था विभागको विषय बढी चर्चामा आउन थालेको छ । औषधीको मूल्य, औषधीको सहज उपलव्धता र नीतिगत व्यवस्थाका विषयमा बेलाबेलामा चर्चा हुने गरेको हो ।
स्वास्थ्य मन्त्री निशा मेहताले औषधीका क्षेत्रमा सुधार गर्ने बताइरहे पनि अहिलेसम्म देखिने गरी नतिजा दिन सकेकी छैनन् । नयाँ टिम पठाएपछि के हुन्छ त्यो भने हेर्न बाँकी छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



