सैनिक अस्पतालको आईसीयूमा रहेका बिरामीसंग लिइएको अन्तवार्ता विवादमा

मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले एक स्वरमा भने, 'यसरी अन्तर्वार्ता लिन मिल्दैन पाईदैन'
0
Shares

काठमाडौं, २९ भदौ । छाउनीस्थित नेपाली सेनाको अस्पतालको आइसीयू भित्रै उपचाररत दुई बिरामीको अन्तर्वार्ता लिएपछि यूटुबर सुरजसिंह ठकुरी विवादमा तानिएका छन् । अन्तर्वार्ताको प्रोमो सार्वजनिक भएपछि ठकुरीसंगै अन्तर्वार्ताका लागि अनुमति दिने नेपाली सेनाको जंघी अड्डा र सैनिक अस्पतालको नेतृत्व समेत आलोचित भएका छन् ।

भोटेकोशी बाढीबाट त्रिशुली -३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जना सञ्जय शाह र कबिर महर्जनको १० दिन पछि उद्धार गरि नेपाली सेनाको छाउनी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनीहरुको सोही अस्पतालको आईसीयूमा उपचार रहेकै बखत ठकुरीले अन्तर्वार्ता लिएका हुन् ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा ढुण्डीराज पौडेलले आईसीयू भित्र गएर अन्तर्वार्ता लिनु कुनै पनि कोणबाट उचित नभएको बताउँछन् । ‘यो कार्य न मेडिकल इथिक्सले दिन्छ, न बिरामीको सुरक्षाको दृष्टिले सही हो, त्यसैले यो कार्य गलत छ,’ उनले भने ।

प्राडा पौडेलले आईसीयू जस्तो ठाउँमा केही क्यामेरा पर्सनसमेत लिएर गई अन्तर्वार्ता लिनु उपचार प्रोटोकल भन्दा बाहिरको कुरा हो भन्दै यस्तो कार्य गर्न नहुने बताए । ‘आईसीयूमा राखिने बिरामी गम्भीर खालको हुन्छ । संक्रमणको जोखिम हुन्छ, त्यसैले त त्यहाँ चिकित्सक तथा नर्सहरुको प्रत्यक्ष निगरानीमा बिरामी राखिन्छ, कुरुवा समेत त्यहाँ बस्न पाउँदैन । तर यो त लामो अन्तर्वार्ता नै भयो, यस्तो गर्न मिल्दैन, हाम्रो पनि ध्यानाकर्षण भएको छ,’  काउन्सिलका अध्यक्ष प्राडा  पौडेलले भने ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले आईसीयूको बिरामीको अन्तर्वार्ता लिनु गैर जिम्मेवारी र गैरकानूनी कार्य भएको बताए ।

‘यस्तो गर्न पाईदैन । प्रोफेसनल इथिक्सले पनि दिदैन । किनभने आईसीयू सम्वेदनशील ठाउँ हो । संक्रमण हुने सम्भावना उत्तिकै हुन्छ । धेरै साधनस्रोत प्रयोग गरी बिरामीको निगरानी गरी उपचार गरिन्छ । यस्तो ठाउँमा गएर अन्तर्वार्ता लिनु कुनै पनि हिसावले मिल्दैन र पाईदैन ।’

उनले यस विषयमा मन्त्रालयले थप छलफल गरेर आवश्यक निर्णय लिन सक्ने बताए ।

अन्तर्वार्ताको प्रोमो बजेपछि सामाजिक सञ्जालमा यस विषयमा तिब्र प्रतिक्रिया आएको छ । सेनाको तर्फबाट र युटुवरको तर्फबाट यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *