‘अङ्ग प्रत्यारोपणका अगुवा’ डा. पुकारको सरकारी सेवाबाट अवकाश

काठमाडौँ, ८ असोज । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसंग सधै जसो जोडिएर आउने एउटा नाम छ । त्यो हो, डा. पुकारचन्द्र श्रेष्ठ ।
प्रत्यारोपण केन्द्रसंग मात्रै होईन, उनको नाम नेपालमा अङ्ग प्रत्यारोपणको सुरुवात, विकास र विस्तार गर्ने अगुवाहरुको सूचीमा कहिल्यै छुटेन, कहिल्यै तल पनि परेन ।
करीव ३४ वर्ष सरकारी सेवामा खर्चिएका उनले उनले प्रत्यारोपण केन्द्रको स्थापना काल देखि झण्डै १२ वर्ष कार्यकारी निर्देशकको भूमिकामा रही काम गरे ।
निर्देशक भन्दा पनि त्यहाँ उनी प्रत्यारोपण सर्जनको रुपमा बढी खटिए ।
प्रत्यारोपण केन्द्रमा मात्र कहाँ ? उनले केन्द्रमा भइरहेको प्रत्यारोपण सेवालाई मोफसलमा बिस्तार गर्ने कार्यको सुरुवात गरे ।
गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा त उनको योजनाले सार्थकता समेत पाईसक्यो ।
हो, उनले आफ्नै नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल पोखरा, कर्णाली प्रदेश तर्फ प्रादेशिक अस्पताल सुर्खेत, लुम्बिनी प्रदेश तर्फ भेरी अस्पताल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपणको सुरुवात गरिदिए ।
त्यहाँका चिकित्सक तथा नर्सहरुलाई सिकाए, तालीमको अवसर दिलाए । अरु बाँकी प्रदेशमा पनि मिर्गौला प्रत्यारोपण सेवालाई बिस्तार गर्ने योजना बनाउँदै गए । भलै, मोफसलका प्रत्यारोपण सेवाले अपेक्षित गति लिन सकेको छैन ।
……………………………………………………………..
मंगलबार दिउसो शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भवनको भुईतल्लाको बीचको भागमा मञ्च तयारी अवस्थामा थियो । एकछिन पछि व्यानर टाँगियो । व्यानरमा उनै डाक्टर पुकारको तस्बिर थियो ।
लेखिएको थियो ‘सम्मान तथा विदाई कार्यक्रम ।’
हो, डा. श्रेष्ठ स्थापना देखि (बीचको १७ महिना बाहेक) १३ वर्ष बढी बिताएको त्यस केन्द्रबाट मंगलबार औपचारिक रुपमा विदाई हुँदै थिए ।
उमेर हदका कारण सरकारी सेवाबाट बाहिरिने दिन उनलाई विदाई गर्न आफ्ना सहकर्मी देखि उपचार पाएका अङ्ग प्रत्यारोपितहरु उपस्थित थिए ।

……………………………………………………………………….
छुटिने बेलामा उनले सुरुवाती दिन सम्झे । १३ वर्ष अघि अस्पताल स्थापना गर्दाका सुख दुख साथ सहयोग आफ्नो स्मृतिमा घुमिरहेको बताए ।
‘अङ्ग प्रत्यारोपण सम्वन्धी छुट्टै अस्पताल खोल्ने योजनाका साथ सरकारले त्यसबेला भक्तपुर अस्पतालको केही भवनलाई प्रयोग गरेर मानव अङ्ग प्रत्यारोपण केन्द्र खोल्न निर्णय गरेको थियो । म वीर अस्पतालमा काम गर्दै थिएँ । त्यसको नेतृत्व गर्न मलाई भन्यो । तर औपचारिक रुपमा तहगत जिम्मेवारी केही दिएको थिएन । वीरबाट म, डा. कल्पनाकुमारी श्रेष्ठ लगायतका केही चिकित्सकहरु काजमा यता खटियौँ । हामीले विसं २०६८ फागुन ७ गते ओपिडी सुरु गरेका थियौँ । त्यसको केही समय पछि अर्थात २०६९ बैशाख ११ गते सरकारले मानव अंग प्रत्यारोपण केन्द्र विकास समिति गठन गरेको सूचना जारी गरयो त्यसपछि मात्रै हामीले औपचारिक रुमपा पदनाम तथा जिम्मेवारी दिईयो र काम सुरु भयो,’ डा. पुकारले विगत सम्झिए ।
हुन पनि, आफ्नै भवन नभएको, आफ्नै छुट्टै कर्मचारी नभएको सबैभन्दा कान्छो सरकारी अस्पतालले वितेका १३ वर्षमा खास गरी मिर्गौला प्रत्यारोपणको क्षेत्रमा जे जस्ता उपलव्धी हासिल गर्यो कुनै विकसित देशको भन्दा कम छैन ।
केन्द्रको कलेजो प्रत्यारोपण कार्यक्रमले पनि पछिल्ला दिनमा गति लिएको देखिन्छ । यी दुबै कार्यक्रम उनकै अग्रसरतामा यहाँसम्म आईपुगेको हो ।
क्लिनिकल प्राक्टिस गर्ने व्यक्ति, प्रत्यारोपण विज्ञ, त्यसैमा मात्रै सिमित हुने छुट उनलाई थिएन । प्रत्यारोपणका लागि कानून चाहिन्थ्यो । त्यसैले यहि अवधीमा उनले अंगदान सम्वन्धी कानून, बनाउने संसोधन गर्ने, मस्तिष्क मृत्युसम्वन्धी कानून बनाउने देखि लिएर त्यसको कार्यान्वनयमा देखिएको चुनौतीलाई चिर्ने प्रयासमा डा. श्रेष्ठ सधै लागि रहे ।
हुन त उनी प्राविधिक व्यक्ति थिए तर जिम्मेवारी अस्पताल प्रशासनको पनि थियो । प्राविधिक तर्फ उनी जति निपूर्ण थिए, प्रशासनिक तर्फ त्यति नभएको हुन सक्छ, त्यसैले होला बेला बेलामा हण्डर र ठक्कर पनि पाए ।
तर, उनी कहिल्यै डगमगाएनन् ।
केन्द्रलाई प्रत्यारोपणमा नम्बर वान बनाउने योजनामा दिनरात नै लागि परे ।
उनको दिन रातको मेहनतले केन्द्र यतिवेला देशमै सबैभन्दा अब्बल केन्द्रको रुपमा दहरिएको छ ।
……………………………………………………….
१३ वर्षको अवधीमा केन्द्रले १५०० बढीको मिर्गौला प्रत्यारोपण, ३५ जनाको कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । यस्तै अहिलेसम्म मस्तिष्क मृत्यु भएका सात जना व्यक्तिबाट अङ्ग झिकेर १३ जनामा मिर्गौला, चार जनामा कलेजो तथा एक जनामा कलेजो र मिर्गौलाको सफल प्रत्यारोपण गरेको छ । यी सबै काममा डा. श्रेष्ठले नै अगुवाई गरेका थिए ।
यति मात्रै कहाँ होर, मस्तिष्क मृत्यु पछि अंग झिकेर प्रत्यारोपण गर्ने कार्यको सुरुवात गर्ने, कलेजो प्रत्यारोपणको सुरुवात गर्ने, पियर एक्सचेन्ज अन्तर्गत एक अर्का परिवारको सदस्यको अंग एक अर्का परिवारको बिरामीलाई दिने व्यवस्था, एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने, एक व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने सुरुवात कर्ताको श्रेय पनि डा. श्रेष्ठलाई जान्छ ।
यसबाहेक उनले धेरै सार्वजनिक मञ्चमा भन्दै आएको एउटा महत्वपूर्ण कुरा पनि छ, ‘केन्द्रमा भएको प्रत्यारोपणको नतिजा ९९ प्रतिशत सफल छ ।’
यो सफलता कुनै विकसित र सुविधा सम्पन्न देशका अस्पतालमा हुने प्रत्यारोपणको भन्दा कम होईन ।
यसबाट पनि थाहा हुन्थ्यो केन्द्रलाई अब्बल बनाउन उनी कति खट्थे भनेर ।

…………………………………………..
मंगलबार दिउसो बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहितका स्थानीय समाजसेवी तथा अगुवाहरुको उपस्थितिमा डा. श्रेष्ठलाई अस्पतालले सम्मानका साथ विदाई गर्दै थियो । त्यसबेला उनका सहकर्मी, प्रत्यारोपित व्यक्तिहरु, उनका बिरामी, उनलाई नजिकबाट चिन्नेहरु निकै भावुक बनेका थिए ।
डा. श्रेष्ठलाई उनीहरुले भन्दै थिए, ‘जहाँ गए पनि तपाईँको सीप र सेवाले अरु थप आम नागरिकले पाई रहनु, सरकारी सेवाबाट अवकाश पाएपनि सेवाको भावनाबाट अवकाश नलिनु ।’
- ‘नेपालमा अङ्ग प्रत्यारोपणको क्षेत्रमा बितेका मेरा बाह्र वर्ष’
- ‘मस्तिष्क मृत्यु र अंगदानको विषयमा ब्यापक जनचेतना जगाउन जरुरी देखियो’
माला र खादाले छोपिएका डा. श्रेष्ठले प्रत्यारोपण केन्द्रको स्थापना देखि सेवा विस्तारसम्मका काममा आफ्नो भोगाई र साथ सहयोगका कुरा राखेका थिए । उनले केन्द्रलाई यहाँसम्म ल्याउन मियोको रुपमा आफूले नेतृत्व गरे पनि सबैको साथले सफल भएको भन्दै चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई विशेष धन्यवाद दिएका थिए ।
उनले अन्तिममा आफ्नो भूमिका भोलिका दिनबाट फरक भए पनि आम नागरिकलाई सेवा दिने कामबाट पछि नहटने प्रतिवद्धता जनाए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



