अन्तर्वार्ता :

‘मस्तिष्क मृत्यु र अंगदानको विषयमा ब्यापक जनचेतना जगाउन जरुरी देखियो’

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र देशकै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने केन्द्रको रुपमा परिचित त छ नै देशमै  सबैभन्दा पहिले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने केन्द्र, मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग झिकेर प्रत्यारोपण गर्ने केन्द्र, दुई परिवारबीच मिर्गौला साटासाट गरी प्रत्यारोपण गर्न सुरुवात गर्ने केन्द्र सहित विभिन्न उपनामले परिचित छ । यस केन्द्रका कार्यकारी निर्देशक हुन् डा. पुकारचन्द्र श्रेष्ठ । केन्द्र स्थापनाकाल देखि नै नेतृत्व सम्हाल्दै आएको भएपनि गतवर्ष केही समय उनी केन्द्रबाट बाहिरिएका थिए । तर, अहिले पुन उनैले सो केन्द्र हाँकेका छन् । उनले दोस्रो पटक नेतृत्व सम्हाल्दै गर्दा केन्द्रले अंगग्रत्यारोपणमा गति लिएको बताइएको छ । यसै सेरोफेरोमा रहेर नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले उनै डाक्टर श्रेष्ठसंग अंगप्रत्यारोपणका सम्वन्धमा केही कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीकोसार सक्षेप :

– डा. पुकारचन्द्र श्रेष्ठ, निर्देशक  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्व दोस्रो पटक सम्हालेपछि मिर्गौला प्रत्यारोणलाई गति दिन थाल्नु भएको हो ? अन्यत्र पनि यो सेवा बिस्तार गर्ने तयारी भन्ने पनि सुनिन्छ , खास कुरा के हो ?

यसमा दुईवटा कुरा छन् ।

पहिलो, केन्द्रको सेवालाई अझ बढी विस्तार गर्ने भन्ने हो । हामीले यहाँ बार्षिक करीब २०० जनाको मिर्गौला प्रत्यारोपण गर्दथ्यौँ तर विविध कारणले बीचमा त्यो संख्यामा कमि आएको थियो । यसबाट प्रत्यारोपण गर्न पर्खाईमा रहनेको संख्या झन् झन् बढी हुँदै गयो । त्यसैले पनि हामीले प्रत्यारोपणको गतिलाई बढाउनु पर्ने थियो । म आईसकेपछि यसलाई सुधार्ने प्रयास गरेको छु ।

हामीकहाँ प्रत्यारोपण मात्रै होईन् डायलासिस सेवामा पनि भिड छ । यहाँ अहिले दिनको सय जना जतिको डायलासिस गर्दछौँ ।  अहिले यहाँ सातै प्रदेशका बिरामीहरु यहाँ आउनुहुन्छ । तर यो अस्पतालको क्षमता स्थापना कालमा जति थियो त्यति नै छ । अब यसलाई हामीले ३०० बेडको किन नबनाउने ? ५०० बेडको किन नबनाउने ? अहिले प्रत्यारोपणमा जो कमी आएको छ त्यसलाई आफ्नो क्षमतामा किन सेवा नदिने ? २०० मात्रै किन ? अव ३००, ४०० जनाको प्रत्यारोपण किन नगर्ने ? लगायतका कुरा छ ।

दोस्रो, मैले यो संस्था मात्रै होइन त्यो भन्दा माथि उठेर मिर्गौला प्रत्यारोपण सेवा अर्थात मिर्गौला उपचार सेवा देशव्यापी किन नबनाउने ? अब पनि पूर्व मेची देखि पश्चिम महाकालीका बिरामीहरु किन यो केन्द्रमा धाउने ? अहिले हरेक प्रदेश प्रदेशमा राम्रा राम्रा अस्पताल बनिसकेका छन्, राम्रो सेवा दिइरहेको अवस्था छ । हाम्रो संघीय अस्पताल, प्रतिष्ठान, मेडिकल कलेजहरु हरेक प्रदेशमा प्राय खुलिसकेका छन् । त्यसमा मिर्गौला केन्द्रित सेवाहरु बिस्तार किन नगर्ने ? भनेर काम सुरु गरेका छौँ । यो काम खासगरी डायलासिस र प्रत्यारोपण सेवालाई लक्षित गरि सुरु गरेका हौं । यसको दुईवटा उद्धेश्य छ । पहिलो यस केन्द्रमा बिरामीको भार कम हुन्छ, दोस्रो विरामी आफैले आफ्ना घर नजिकमा सेवा पाउने हुनुभयो ।

आर्थिक हिसावले पनि सजिलो भयो, भौतिक हिसावले पनि सजिलो भयो । सेवाको हिसावले पनि गुणात्मक संख्यामा दिन सक्ने भयौं । त्यसैले अहिले सातवटै प्रदेशमा मिर्गौैला डायलासिस र प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अघि सारेका हौँ ।

डायलासिस सेवा त अहिले प्रदेश तहमा पुगिसकेको अवस्था होईन र ?

हो, डायलायसिस सेवा अहिले नभएको होइन छ तर धेरै नै नपुग छ । त्यसको लागि पनि यो केन्द्रले त्यो प्रदेशको अस्पतालहरुका जनशक्तिलाई तालिम दिने, भौतिक पूर्वाधारमा पनि यसले कसरी मद्धत गर्न सक्छ त्यो कुरामा पनि काम गर्ने र त्यहाँको जनशक्ति तयार नभएसम्म हाम्रो केन्द्रबाट अनुभवी जनशक्ति पठाएर सेवा सुचारु राख्ने भन्ने योजना बनाएका हौँ ।

केन्द्रले अहिले मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा उपत्यका बाहिर कहाँ कसरी गर्दैछ ?

मैले यो कुरा माथि पनि भनेको छु । हामीले दुईवटा कारणले यो सेवा मोफसलमा सुरु गर्न चाहन्छौँ ।

पहिलो कुरा, सेवा विकेन्द्रीत गर्दा यहाँ आउने भिड कम हुने भयो । अर्को कुरा, जनताले आफ्नै ठाँउमा सेवा पाउने भए । त्यसैका लागि हामीले सातैवटा प्रदेशमा यो सेवा विस्तार गर्ने योजना बनाएका हौँ ।

अहिले हामीले गण्डकी प्रदेशस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो आर्थिक वर्ष भित्रै सुरु हुने गरी मिर्गौला प्रत्यारोपणको कार्यक्रम ल्याउँदै छौँ । प्रदेशका विभिन्न जिल्लामा डायलायसिस विस्तारका लागि पनि विस्तृत योजनाका साथ अघि बढदै छ । यस सम्वन्धमा गण्डकी प्रदेश सरकार र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भईसकेको छ । मेसिनहरु खरिद गर्ने, जनशक्तिलाई तालिम दिने लगायतका कार्यहरु हुँदैछ । यो आर्थिक वर्ष भित्र गण्डकी प्रदेशको १० वटा ठाँउमा डायलासिस सेवा विस्तार गर्ने र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने हाम्रो योजना छ ।

यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा पनि अघि बढाउने योजना बनाउँदै हुनुहुन्छ भन्ने सुनिएको छ, यसबारेमा थप बताईदिनुहोस न ?

यस केन्द्रमा यति धेरै काम हुन्छ । ठूलो संख्यामा डायालासिस हुन्छ । तपाईँलाई थाहा छ यहाँ बर्षको ३० हजार सेसन डायलासिस हुन्छ । अनि यहि केन्द्रमा २०० प्रत्यारोपण गर्न सकिन्छ भने यो केन्द्रले शैक्षिक कार्यक्रम किन सुरु नगर्ने ? शैक्षिक कार्यक्रम चलाउन सकियो भने जनशक्ति यहि नै उत्पादन हुन्छ । यहाँ मिर्गौलाको सर्जन, फिजिसियन, एनेस्थेसिया लगायतका जनशक्ति यहि नै उत्पादन हुनसक्छ । प्रत्यारोपण र डायलासिसको लागि जनशक्ति यहिबाट उत्पादन हुनसक्छ ।

देशभर सेवा विस्तार गर्ने कार्यक्रम अघि बढि रहेको छ भने यो केन्द्रलाई एउटा प्रतिष्ठान, तालिम दिने संस्थाको रुपमा विकसित किन नगर्ने ? भनेर मैले मन्त्रालयमा प्रस्ताव लगिसकेको छु ।

सरकारी अस्पतालमा सबैभन्दा बढी डायलासिस र देशमै सबैभन्दा बढी प्रत्यारोपण हुने यस केन्द्रले भएका जनशक्तिलाई सेवा विस्तारका नाममा बाहिर पठाउँदा यहाँको सेवामा असर पर्दैन ?

यस्तो छ, हामीले अहिले पनि देशका विभिन्न स्थानमा आवश्यक जनशक्ति र मेसिनका लागि पनि समन्वय गरेर सेवा सुरु गरेका छौँ । जस्तो जनकपुरमा मेसिन पनि दियौँ र जनशक्ति र तालिम पनि दियौँ । तामिल पुरा वा अनुभवी नहुँदासम्म हाम्रै जनशक्ति गएर केही महिना बसेर पनि हामीले त्यहाँ सेवा सञ्चालन गरेका छौँ । धनगढीमा पनि त्यसरी नै डायलासिस सेवा सञ्चालनमा ल्याएका छौँ । अरु विभिन्न जिल्लाहरुमा पनि त्यहाँको जनशक्ति यहाँ ल्याएर तालिम दिएर पठाएर पनि सेवा सुरु गरेका छौँ । विभिन्न प्रदेशमा मेसिन वितरण गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई प्राविधिक रुपमा सघायौँ पनि । किनभने हामीसंग १० वर्षको अनुभव पनि त छ नि । हाम्रो केही जनशक्ति सेवा विस्तारका लागि जानु भनेको पनि महत्वपूर्ण कुरा हो । त्यसले हाम्रो यहाँको चालु सेवामा खासै असर गर्दैन ।

मिर्गौला फेल भएकाहरुलाई अंगदान गर्न कानून साँघुरो भयो भन्ने पनि गुनासो सुनिन्छ । यहाँसंग यस्तो गुनासो आएको छ कि छैन ? नेपालमा अंगदानको अवस्था के छ ?

नेपालमा अंगदान गर्ने चलन अथवा ऐन नियमको कुरा गर्दा अहिलेको प्रत्यारोपण ऐनको व्यवस्था हेर्नुपर्छ । यो ऐन अंगदानलाई अघि बढाउन मद्धत गर्ने खालको नै छ भन्छु म । यो ऐनले करीब करीब सबै नातेदारले अंगदान गर्न मिल्छ भनेको छ । तै पनि यहाँ अंगदान गर्न ईच्छुक देखिदैनन् । अर्काको अंग कतै पाइहालिन्छ कि भन्ने आशामा धेरै जना बसेको देखेको छु । त्यसो हुनुको एउटा कारण जनचेतनाकै अभाव हो ।

सबैभन्दा पहिले के बुझ्नु पर्छ भने एउटा स्वस्थ व्यक्तिमा दुईवटा मिर्गौला छ भने एउटा मिर्गौला दान दिएर उसलाई केही फरक पर्दैन । भगवानले हामीलाई दुईवटा मिर्गौला दिएको पनि एउटा अतिरिक्त हो भनेर बुझ्नु पर्छ । यहाँ त मिर्गौला फेल भएको परिवारको सदस्य वा आफन्तलाई आफ्नै एउटा मिर्गौला दिएर केही फरक पर्दैन भन्ने चेतना जागरुक हुन सकेको छैन् । यदि चेतना जागरुक हुन्थ्यो भने निश्वार्थ भावमा आफ्नो परिवार र नातेदारलाई मिर्गौला प्रत्यारोपण गर्न सकिन्थ्यो । अनि प्रत्यारोपित व्यक्ति अरु स्वस्थ व्यक्ति सरह जिउन सक्थ्यो । उत्पादनशील नागरिक हुनसक्दथ्यो । आर्थिक रुपले समाजलाई, राष्ट्र र परिवारलाई सघाउन सक्दथ्यो । तर थाहा हुँदा हुँदै पनि मानिसहरु अंगदान गर्न डराउँछन् । हिचकिचाउछन् वा चाहँदैनन् ।

अर्को कुरा हामीकहाँ पुरुषहरुले अंगदान गर्न नचाहने महिलाहरुले दिनै पर्ने जस्तो देखिएको छ । श्रीमतीले श्रीमानलाई दिनै पर्ने, आमाले छोरालाई दिनै पर्ने, छोरीले बाउलाई दिनै पर्ने तर त्यसको ठिक उल्टो श्रीमान्ले श्रीमतीलाई दिन परेमा म आफै कमजोर छु भन्ने बहाना निकाल्ने बढी देखिन्छ । कतिपयमा त श्रीमती यस्तो रोग लाग्यो बरु अर्को श्रीमती ल्याउँदा सस्तो पर्छ कि भन्ने समेत देखेको छु । पुरुष प्रधान समाज अंगदानमा पनि हावी भएको देखिन्छ । त्यसैले एउटा जन चेतनाको हिसावले पनि सबैले अंगदान गर्नुपर्छ आफन्तलाई भन्ने बुझ्नु पर्छ ।

कुनै कुनै अध्ययनले त मिर्गौला दाता अझै बढी बाँचेको पाइएको छ । अरु स्वस्थ व्यक्ति भन्दा । कलेजो आधा काटेर दिन मिल्छ । यदि आफ्नो नातेदार आफन्त मरणासन्न अवस्थामा पुगेको छ भने फेरी पुर्नजिवन दिन चाहने हो भने आफ्नो कलेजो आधा दान गर्नै सकिन्छ । तर एक दमै त्यो चेतना कम छ ।

अंगदानको कुरा गर्दा नेपालमा मस्तिष्क मृत्युको कुरा संगसंगै आउँछ, नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिले अंगदान गर्न मिल्ने कानून बनाउन मद्धत गर्ने देखि त्यसको कार्यान्वयनको सुरुवात गर्ने श्रेय यहाँलाई नै जान्छ, तर यसले अपेक्षाकृत गति लिएन नि, किन होला ?

नेपालमा सडक दुर्घटना एकदमै बढी छ । वर्षको २ हजार २५ सय जनाको सडक दुर्घटनामा परी मृत्यु हुन्छ । त्यसमध्येमा १ हजार जनाको मस्तिष्कमृत्यु हुन्छ भन्ने हाम्रो अनुमान छ । एक हजार मस्तिष्क मृत्यु भएको मध्ये २०० जनाले मात्रै मिर्गौला दान गरेको भए ४०० जनाको मिर्गौला प्रत्यारोपण हुने थियो । २०० जनाको कलेजो प्रत्यारोपण हुन्थ्यो ।

नेपालमा अंग प्रत्यारोपण सम्वन्धी ऐनमा मस्तिष्क मृत्यु पछि हुने अंगदानको विषय समेटिएको छ । नियमावली बनेको छ । नेपालमै पहिलो पटक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अंग झिकेर प्रत्यारोपण गर्ने कार्यको थालनी हामीले नै गरेका हौँ । अहिलेसम्म मस्तिष्क मृत्युपछि ६ जनाको मिर्गौैला प्रत्यारोपण र एक जनाको कलेजो प्रत्यारोपण भईसकेको छ ।

तर यसले गति लिन सकेन ।

किन सकेन? हामीले बुझाउनै सकेनौँ होला । वा व्यापक जनचेतना गर्नु पर्नेमा त्यसको कमि भयो होला । अहिले पनि मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अंगदान गर्नका लागि त्यो व्यक्तिको परिवारले ईच्छा गर्नु हुन्न ।

आँखा दान चाहि नेपालमा एकदमै सफलताको साथ अघि बढेको छ । तर आँखा दान गर्न रुचाउने परिवारले मिर्गौला र कलेजो दानमा हिचकिचाउनु हुन्छ ।
हामीले पनि खरानी भएर जाने अङ्ग, गाडेर सकिने अङ्गले मृत्युको मुखमा पुगिसकेको व्यक्तिको जीवन बचाउँछ भने किन त्यो कार्यमा नलाग्ने भनेर भन्न सकेनौँ कि ? एउटा मस्तिष्क मृत्यु भएको व्यक्तिले विदेशमा ८ जना मानिसलाई बचाउँछ ।

नेपालमा अहिले तीन जनालाई ( दुईवटा मिर्गौलाले दुई जनालाई र एउटा कलेजोले एक जनालाई) प्रत्यारोपण गरि बचाउँछ र स्वस्थ बनाउँछ । यो कुरा ती परिवार र आफन्तले बुझ्ने हो भने मलाई लाग्छ अंङ्गदान गर्न पछि पर्नुहुन्न । त्यसैले मैले फेरि पनि भन्छु यसमा जन चेतनाकै अभाव हो ।

चेतना जागरुक गराउने यहाँहरु जस्तो राज्यको निकायमा काम गरेका व्यक्तिको पनि दायित्व होईन र ?

हो, तर मैले फेरी पनि भन्छु, नेपालमा विसं २०७३ सालको बैशाखबाट मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग झिकेर प्रत्यारोपण गर्न सुरु गरेको हो । यसरी सुरु गरेको अहिले पाँच वर्ष भयो ।

ऐनमा म मरेपछि मेरो अंगदान गर्छु भन्ने व्यवस्था छ । तर त्यसकोे कार्यान्वयन भएको छैन् । म मरेपछि मेरो अंगदान दिन्छु भनेर आजै मञ्जुरीनामा दिन मिल्छ । तर करीब तीन करोड जनसंख्या भएको देशमा पुग नपुग ३००० हजार जनाले मञ्जुरी नामा दिनु भएको छ ।

पहिलो कुरा स्वेच्छाले अंगदान गर्नका लागि नै हस्ताक्षर गरेका छैनन् । दोस्रो कुरा स्वेच्छाले अंगदानका लागि हस्ताक्षर नगरेका कारण नजिकको नातेदारले अंगदान सम्वन्धी सहमति दिन सक्नुहुन्छ । अब यहाँ यो बारेमा चेतना नभएको हुनाले परिवारका सदस्यको मृत्यु भयो भने उहाँको परिवारलाई ‘कन्भिन्स’ गर्ने जनशक्ति पनि भएन । अस्पतालमा व्यक्तिको मृत्यु भईसकेपछि उहाँको परिवारका सदस्यहरुलाई उहाँको अंगले तीन जनाको ज्यान बचाउन सकिन्छ । दुईवटा मिर्गौला र एउटा कलेजो दान गर्ने कि भनेर सम्झाउने व्यक्तिको पनि अभाव भएको छ ।

अर्को कुरा त्यो शोकको घडीमा यस्तो कुरा लिएर भन्न जान पनि जो कोही हिचकिचाउँदो रहेछ । फेरी नेपालमा यस सम्वन्धी चेतनाको अभाव छ । हाम्रो मान्छेलाई खराव नियतले यस्तो गरेको पो हो कि भनेर सोच्न पनि सक्ने भयो भनेर पनि हाम्रै स्वास्थ्यकर्मी चिकित्सकले पनि उनीहरुका आफन्तलाई भन्न नसकेको अवस्था छ ।

त्यसैले फेरी पनि भन्छु व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । सबैलाई यो कुरा थाहा हुनु परयो कि मस्तिष्क मृत्यु भनेको पूर्ण रुपमा मृत्यु हो । चिकित्सा विज्ञानमा यो अब कहिले पनि फर्केर आउँदैन् । त्यसैले अंगदान गरेमा बरु अरु धेरै मान्छेहरु बाच्न सक्छ यो अंगबाट भन्ने कुरा सन्देश बुझाउनु पर्छ । थाहा दिनु पर्छ ।

मस्तिष्क मृत्यु घोषणा गर्ने बेलामा चिकित्सकले आफन्तहरुलाई भनेर पनि कन्भिन्स हुनुहुन्थ्यो होला नि कोही कोही त ? जनचेतना बढाउन नसक्नुमा चिकित्सकको पनि कमजोरी हो कि ?

ठिक भन्नुभयो, हाम्रा कतिपय चिकित्सक साथीहरुमा यो सम्वन्धी सैद्धान्तिक ज्ञान भए पनि व्यवहारिक अभ्यास नगरेको हुनसक्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिलाई प्रमाणित गर्ने र त्यसपछि आएको अंगलाई झिकेर अर्को व्यक्तिमा हाल्ने भन्ने कुरा र प्राप्त भएको त्यो अंग प्रत्यारोपण केन्द्र मार्फत जुनसुकै अस्पतालको पनि अंग फेल भएको व्यक्तिलाई पाउने भन्ने कुरा व्यवहारिक रुपमा लागू गर्नु भयो भने पनि यो अघि बढन सक्छ ।

हाम्रै धेरै साथीहरुलाई यसबारेमा सैद्धान्तिक ज्ञान भएपनि धेरै व्यवहारिक ज्ञान पनि नहुन सक्छ । मस्तिष्क मृत्यु भनेर अंग झिक्दा मुद्धा लाग्ने हो कि भन्ने पनि डर छ । त्यसैले अहिले चिकित्सक साथीहरुमा पनि यो विषयमा आत्मविश्वास जगाउनु जरुरी छ ।

दोस्रो कुरा तालिम र व्यवहारिक ज्ञानको पनि आवश्यक छ । त्यसमा पनि हामी संगै वसेर छलफल गर्नुपर्छ । जनतामा त यो ज्ञान नभई कन यो अघि बढ्दै बढ्दैन । त्यसैले स्वास्थ्यकर्मीमा पनि यो कुरा छर्लङ हुनु परयो र जन साधारणमा पनि यो कुरा स्पष्ट हुनु पर्‍यो ।

एउटा व्यक्ति आफ्नो आफन्तको मस्तिष्क मृत्यु भएको छ र अंगदान गर्न चाहयो भने कहाँ सम्पर्क गर्ने ? मस्तिष्क मृत्यु भएको कति समय भित्र त्यो अंग झिक्नु पर्छ र प्रत्यारोपण गर्नुपर्छ ?

अंगदान सम्वन्धी सम्पूर्ण कामको समन्वय यस केन्द्रले गर्दछ । नेपाल सरकारले बनाएको अंग प्रत्यारोपण ऐन अन्तरगर्त नै यो केन्द्रलाई समन्वय ईकाई तोकिएको छ ।

जस्तै वीर अस्पतालमा कुनै व्यक्तिको मस्तिष्क मृत्यु भयो र त्यो व्यक्तिको अंग दान गरी प्रत्यारोपण गर्नु परेमा सुरुमा यो केन्द्रलाई अनिवार्य रुपमा खबर गर्नुपर्छ । खवर भएपछि यो केन्द्रले त्यो मस्तिष्क मृत्यु भएको व्यक्तिको बारेमा सम्पूर्ण जानकारी लिन्छ । र अंगदान गर्न योग्य छ कि छैन् ? अंगहरु सहि छन् कि छैनन् ? समितिले मूल्यांकन गर्छ र जतिसक्यो चाँडो यदि अंग काम लाग्ने छ भने मस्तिष्क मृत्यु घोषणा गरेर अंग निकालि हाल्नु पर्छ ।

त्यसको लागि वीर अस्पतालकै टोली सक्षम छ भने त्यहि को टोली परिचालन हुन्छ । नत्र अंगप्रत्यारोपणको टोली गएर पनि अंग निकाल्ने काम हुन्छ ।
दोस्रो कुरा अंग निकालिसकेपछि कसले पाउँछ ? भन्ने कुरा पनि आउँछ,  त्यसका लागि निश्चित मापदण्ड छ । प्राथमिकता तोकिएको छ । जस्तो कि सबैभन्दा बढी समय देखि पर्खिएको, शरीरमा म्याचभएको , कम उमेरको आदि त्यसमा जसको सबैभन्दा बढी स्कोर आउँछ उसले त्यो अंग पाउँछ ।
यो सरकारी संस्था हो । पारदर्शी ढंगले अंग निकाल्ने काम र वितरण गर्ने काममा कसैले सन्देह नगर्न पनि म अनुरोध गर्न चाहन्छु ।

यो सबै प्रक्रिया मिलाउँदै गर्दा त समय धेरै नै लाग्छ होला । निकालेको अंग कति समय भित्र प्रत्यारोपण गर्नुपर्छ ?
हो, यसमा समयको एकदमै पावन्दी छ । एक मिनट पनि समय खेरफाल्न हुँदैन । एकदमै छोटकरीमा भन्दा खेरी मस्तिष्क मृत्यु भएको व्यक्तिको अरु अंगहरु विस्तारै ‘ड्यामेज’ हुँदै जान्छ र एक समय पछि मर्छ ।

त्यसैले मस्तिष्क मत्यु भएको तर अंगहरु चलिरहेको बेलाको हामी कुरा गरेका हौँ । मस्तिष्क मृत्यु भयो तर मुटु चलेको छ, फोक्सोलाई भेन्टिलेटरमा राखेर चलाईएको छ । उसको मिर्गौलाले काम गरिरहेको छ । कलेजो प्याङक्रियाज तथा सानो आन्द्राले काम गरिरहेको अवस्थामा ती अंगहरु जतिसक्यो छिटो निकाल्नु पर्छ र प्रत्यारोपण गर्नुपर्छ । जति ढिलो भयो उती अंगहरु ड्यामेज हुँदै जान्छ । त्यसैले यो काम अत्यन्त इमरजेन्सी हो भन्न सकिन्छ । निकालीसकेपछि पनि जतिसक्यो छिटो प्रत्यारोपण गर्ने ।

निकालेपछि कतिसमय भित्र प्रत्यारोपण गर्ने ?

अंग निकालेपछि कतिसमय भित्र प्रत्यारोपण गर्ने भन्ने एउटा कुरा परिभाषित पनि छ । मिर्गौला निकालेको २४ घण्टा भित्र प्रत्यारोपण गर्नुपर्छ । त्यसबीचमा सो अंग आइसबक्समा बचाएर राखेका हुन्छौं ।

कलेजो १० देखि १२ घण्टा भित्र प्रत्यारोपण गर्नुपर्छ ।

मुटु र फोक्सो ४ देखि ६ घण्टा भित्र प्रत्यारोपण गर्नुपर्छ । नत्र यो अंगहरु क्रमिक रुपमा क्षति हुँदै जान्छ र काम नलाग्ने हुन्छ ।

मस्तिष्क मृत्यु भएको व्यक्ति उपत्यका बाहिरको अस्पतालमा भए त्यहाँबाट अंग पाएमा ल्याउन सम्भव छ कि छैन् ?

सम्भव छ । उपत्यका बाहिरको पनि हवाई उडान भएका त्यस्ता ठाँउका अस्पतालबाट अंग ल्याउन सम्भव छ । तर अहिलेसम्म हामीले काठमाडौँ उपत्यका भित्रका तीन जिल्लाका अस्पतालहरुबाट मात्रै ल्याएका छौँ ।

उपत्यका बाहिर विराटनगर, पोखरा, नेपालगञ्ज, बुटवल आदि ठाँउमा जहाँ चाहि न्युरो सेन्टर छ त्यहाँ, जहाँ न्युरोलोजी र न्युरो सर्जरीको सेवा छ त्यहाँ र जहाँ हवाई सेवा पनि उपलव्ध छ भने त्यहाँबाट पनि अंग ल्याएर प्रत्यारोपण गर्न सकिन्छ ।

जस्तो विराटनगरमा मस्तिष्क मृत्यु भयो भने हामी त्यहाँ गएर अंग ल्याउन सक्छौँ, वा त्यहिको टोलीले अंग निकालेर पठाउन सक्छ ।  जुन अस्पतालको बिरामीले अंग पाउँछ, त्यहाँ प्रत्यारोपण हुन्छ । त्यहाँ अंग जान्छ ।

यदि कसैको मस्तिष्क मृत्यु भएको छ र उसको परिवारले अंगदान गर्न खोज्यो भने कसरी सम्पर्क गर्ने ?

मैले माथि नै भने अंगदान सम्वन्धी सम्पूर्ण कामको समन्वय यस केन्द्रले गर्दछ । नेपाल सरकारले बनाएको अंग प्रत्यारोपण ऐन अन्तरगर्त नै यो केन्द्रलाई समन्वय ईकाई तोकिएको छ । अब यदि कोही कसैको मस्तिष्क मृत्यु भयो र परिवारले अंगदान दिन चाहेमा समन्वय इकाईको कोअर्डिनेटरको मोवाइल नं ९८२३५८१७१४ मा सम्पर्क गरी प्रक्रियामा अघि बढ्न सकिन्छ । यो नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *