अन्तर्वार्ता:

बाथ मुटुरोगको रोकथाम तर्फ सरकारको ध्यान जानै सकेन

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बाथ मुटुरोग नियन्त्रणको अभियानमा सक्रिय हुन थालेको बर्षौ भयो । विभिन्न संघ संस्थाको सहयोगमा उनले विभिन्न जिल्लाका विद्यालयमा पुगेर बालबालिकामा बाथ मुटुरोग छ कि छैन भनेर जाँच्ने गरेका छन् । फेला पारेका केशहरुलाई काठमाडौँ ल्याउने उपचारका लागि समन्वय गर्ने र निको बनाई घर पठाउने कार्यमा क्रियाशिल छन् । यसै सन्दर्भमा यसपटक उनै डा. रेग्मीसंग बाथ मुटुरोग के हो ? कसरी नियन्त्रण गर्ने ? सरकारले यो समस्याका लागि के कस्ता पहल गरेको छ ? आदि विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छौँ । हेर्नुहोस् कुराकानीको सार संक्षेप :

बाथ मुटुरोग भनेको के हो ?

स्कुल जाने उमेर समूहका कतिपय बालबालिकाहरूलाई घाँटी दुख्ने, टन्सिल बढ्ने, जुन हामीले टन्सिलाइटिस, फ्यारिङजाइटिस भनेर भन्छौँ, यो चाहिँ उनीहरुलाई वर्षमा कम्तीमा पनि एक दुई पटक भइराख्या हुन्छ। कतिपय बालबालिकाहरूलाई त यो वर्षमा चार पाँच पटक पनि हुन्छ।

अर्थात यस्तो समस्या फर्की फर्की आउँछ। हो, त्यस्ता बालबालिकाहरु जसलाई चाहिँ घाँटीको समस्या अत्याधिक हुन्छ उनीहरुको समयमै राम्रो उपचार गरिएन भने घाँटीको समस्या जोर्नीमा सर्छ। त्यसपछि जोर्नी दुख्ने, ज्वरो आउने समस्या हुन्छ ।  जसलाई, बाथ ज्वरो, रुम्याटिक फिभर भनेर भन्दछौँ ।

यो रुम्याटिक फिभर भएकाहरूमध्ये ५० प्रतिशत बालबालिकाहरूलाई मुटुको भल्भ बिग्रिने रोग लाग्छ, जसलाई बाथमुटुको रोग भनिन्छ।

त्यो बाथमुटु रोग लागिसकेपछि मुटुको भल्भ जब बिग्रिन्छ, मुटु सुन्निने हुन्छ। बालबालिकाहरूलाई त्यसपछि दम बढ्ने, अलिकति हिँड्दाखेरि मुटुको धड्कन बिग्रिने र हार्ट फेलियर हुने र त्यहि अवस्थामा कतिपयको मृत्यु समेत हुन्छ ।

त्यसैले बाथ मुटुको रोग भनेको कलिला बालबालिकामा घाँटी दुख्ने, टन्सिल बढ्ने र टन्सिल पाक्ने समस्याबाट उत्पन्न हुने मुटुको रोग ।

यसलाई किन बाथ मुटुको रोग भनिन्छ ?

किन भन्दाखेरि यो समस्या पहिला घाँटीबाट जोर्नीहरुमा जान्छ, बाथको समस्या हुन्छ । अनि त्यसपछि मुटु तिर समस्या पैदा गर्न थाल्छ । त्यो भनेको बाथबाट अनि मुटुको भल्भहरु बिग्रन्छ । त्यसैले यसको नाम बाथ मुटुरोग राखिएको हो । सरल भाषामा के बुझ्नु पर्‍यो भने बाथ मुटुको रोग भनेको घाटीको इन्फेक्सनबाट जोर्नीलाई असर गरेर मुटुको भल्भलाई बिगार्ने रोग हो ।

बाथ मुटुरोगको प्रभाव वा समस्या नेपालमा कति छ ?

नेपाल विश्वमा बाथ मुटु रोगको ठूलो समस्या भएको राष्ट्रमा पर्छ। यहाँ बाथ मुटुरोगकै कारण बर्षेनी १००० बालबालिकाहरुले ज्यान गुमाई रहेका छन् । अहिले पछिल्लो तथ्यांक अनुसार नेपालको टप १० मृत्यु हुने रोगहरू मध्ये दशौंमा बाथ मुटु रोग पर्छ। जबकि आजभन्दा १० वर्ष अगाडि त्यो एघारौंमा थियो। बाथ मुटु रोगको समस्या, यसबाट मृत्यु हुने समस्या बढिरहेको देखिन्छ।

बढ्दो क्रममा रहेको यो समस्यालाई सरकारले कसरी हेरेको पाउनु भएको छ ?

नेपाल सरकारको लगानी यो बाथ मुटु रोगको उपचारका लागि छ । वर्षेनी ६०- ७० करोड रुपैयाँ बाथ मुटु रोगीहरूको मुटुको भल्भ फेर्ने अप्रेसनको लागि नेपाल सरकारले खर्च गरिरहेको अवस्था छ। तर, यो रोगको रोकथामको लागि नेपाल सरकारको कार्यक्रम आजका दिनसम्म छैन। त्यसैले, अब सरकारको ध्यान उपचारसंगै रोकथाममा केन्द्रीत हुनु पर्दछ ।

किनभने बाथमुटु रोग लागिसकेपछि उपचारको लागि राज्यले धेरै नै रकम खर्च गरिरहेको छ , राज्यको स्रोत साधन खर्च भइरहेको अवस्था छ । तर, यसको रोकथामको लागि भने कत्ति पनि ध्यान पुगेको देखिदैन । तर रोकथाम एकदमै सजिलो छ । थोरै खर्चमा हुन्छ र यसको लागि समय चाहिँ अलिकति लाग्छ, ५–१० वर्षपछि यसको नतिजा देखिन्छ र त्यसमा काम गर्नुपर्ने एकदमै जरुरी छ ।

यदि नेपालमा बालमृत्युदर घटाउने र महिलाको मृत्यु दर घटाउने हो भने बाथ मुटुरोग रोकथामका लागि सरकारको ध्यान जान जरुरी छ ।

बाथ मुटुरोगले मातृ मृत्यु पनि बढाउँछ र ?

हो, महिलाहरु प्रसूति हुँदाखेरि मृत्यु हुने कारणहरूमध्ये २० प्रतिशत कारण बाथ मुटु रोग हो भन्ने कुरा विश्व स्वास्थ्य संगठनले दिएको तथ्याङ्क हो। यो कुरालाई पनि सरकारले ध्यान दिएर महिलाहरूको मृत्यु दर घटाउनको लागि पनि यो बाथ मुटु रोग रोकथाम कार्यक्रम सुरु गर्नु पर्छ । बालबालिकाहरूको मृत्युदर घटाउनको लागि पनि नेपालमा बाथ मुटु रोगको रोकथाम कार्यक्रम चाहिन्छ ।

रोकथाम कसरी गर्ने ?

अहिले पनि हामीहरु जस्तोले विभिन्न संघ संस्थाको सहयोग तथा स्थानीय सरकारसंग सहकार्य गर्दै बालबालिकाहरुको मुटुको परीक्षण गरिरहेका छौँ । तर यो पर्याप्त छैन ।

यदि यो रोग पत्ता सुरु कै अवस्थामा पत्ता लगाउन सकियो भने, यसको रोकथाम गर्न सजिलो हुन्छ। सुरु कै अवस्थामा पत्ता लगाएर यसको उपचार एकदमै सजिलो र सस्तो छ। अब जब रोग चाहिँ धेरै एडभान्स स्टेजमा पुगिसकेको हुन्छ, त्यसको विकल्प भनेको सर्जरी नै हुन्छ। त्यसको उपचार सर्जरी अर्थात अप्रेसन गर्नुपर्ने हुन्छ। त्यसैले रोकथामको उपाय विभिन्न छन्, त्यसमध्येको पहिलो उपाय भनेको बच्चाहरुको स्क्रिनिङ गरेर रोग पत्ता लगाइदिनु । स्क्रिनिङले बच्चामा रोग छ कि छैन थाहा हुन्छ । यदि सुरुवाती चरणमा रहेछ भने उपचार खर्च कम र धेरै सजिलै सुधार आउँछ । जो अहिले हामीले गरि रहेका छौँ यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजानु पर्छ ।

सरकारलाई अरु के सुझाव छ ?
हो, यसमा परीक्षणका क्रममा अब जसको रोग पत्ता लाग्छ, उनीहरुलाई चाहिँ रोकथामको उपचार, थोरै पेनिसिलिनको चक्की अथवा सुइ जो निशुल्क नेपाल सरकारले दिने व्यवस्था समेत गरेको छ । त्यसलाई निरन्तरता दिने हो । त्यसका लागि सरकारले रोग पत्ता लागेकाहरुको रोष्टर तयार गरी उनीहरुलाई प्रत्येक महिना निःशुल्क रुपमा यो पेनिसिलिनको सुई अथवा चक्की उनीहरुलाई उपलब्ध गराउनु पर्दछ ।

यहाँ निर स्पष्ट पार्न पनि चाहन्छु कि नेपाल सरकारले उपलव्ध गराउने आधारभूत औषधीको निःशुल्क सूचीमा यो औषधी छ तर त्यसमा इन्जेक्सन पेनिसिलिन परेको छ, ओरल पेनिसिलिन परेको छैन । हाम्रो माग त्यो निशुल्क सूचीमा ओरल पेनिसिलिनलाई पनि समेटनु पर्दछ ।

अर्को कुरा बच्चाको स्क्रिनिङ गरिसके पछि आएका जुन पोजिटिभ केसहरु छन् त्यस्तै प्रकारले अस्पतालमा डायग्नोसिस भएका जुन पोजिटिभ केसहरु छन् उनीहरुलाई एउटा रजिस्ट्रीमा दर्ता गरेर अस्पतालहरु (विशेषगरी बेसिक हस्पिटलहरु) मार्फतबाट यी औषधी निशुल्क उपलव्ध गराउनु पर्दछ । संगसंगै टन्सिल बढ्दा घाँटी दुख्दा पाक्दाखेरि एन्टिबायोटिक खाएर उपचार गर्नुपर्छ भन्ने कुरा स्थानीय तहका जनमानसमा पुग्नु पर्दछ । टन्सिलबाट नै बाथमुटुको रोग लाग्छ भन्ने प्रकारको जनचेतना जागरण गर्नु पर्दछ । यसो गर्दा वर्षमा ६० ७० करोड रुपैयाँ जुन उपचारको लागि खर्च भईरहेको छ, केही वर्ष भित्र जोगाउन सकिन्छ भन्ने लाग्छ।

प्रस्तुति: रामप्रसाद न्यौपाने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *