प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्री त्रयलाई डा. झाको खुला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,
माननीय गृहमन्त्रीज्यू,
माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यू,

विषय: चिकित्सक नियुक्तिमा पारदर्शिता, ‘खडेबाबा’ प्रथा अन्त्य तथा चिकित्सकका पेशागत समस्याको तत्काल समाधान सम्बन्धमा खुला पत्र !

म डा. अमित झा, नाक, कान तथा घाँटी रोग विशेषज्ञ तथा नेपाल चिकित्सक संघको निर्वाचित केन्द्रीय सदस्यका रूपमा यो खुला पत्र लेख्दैछु।

नेपाल चिकित्सक संघमा निर्वाचित हुँदा मेरो अपेक्षा स्पष्ट थियो—चिकित्सकका वास्तविक समस्या सरकार तथा सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा पुर्‍याउने, स्वास्थ्य क्षेत्रमा रहेका विकृति र विसंगतिविरुद्ध आवाज उठाउने र प्रणालीगत सुधारका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्ने।

त्यही विश्वासका साथ मैले सुरुदेखि नै चिकित्सकका समस्याहरू उठाउँदै आएको छु। तर पटक–पटक आवाज उठाउँदा, उजुरी दिँदा र सम्बन्धित निकायमा पुग्दा पनि अपेक्षित परिणाम नआएपछि आज म सरकारको उच्च नेतृत्वसमक्ष सार्वजनिक रूपमा केही गम्भीर प्रश्न राख्न बाध्य भएको छु।

१. वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक नियुक्तिको प्रश्न

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक नियुक्तिका क्रममा देखिएका अपारदर्शिता तथा अनियमितताबारे मैले विभिन्न निकायमा पटक–पटक उजुरी तथा गुनासो राखेको छु।

अन्ततः म अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेँ। त्यहाँबाट १५ दिन पर्खन भनियो। २० दिनसम्म पनि कुनै जानकारी नआएपछि म स्वयं गएर बुझ्दा मेरो गुनासो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइसकेको जानकारी पाएँ।

तर आजसम्म पनि त्यस विषयमा स्पष्ट जानकारी आएको छैन। देखिने गरी सुधार पनि भएको छैन।

राष्ट्रिय ट्रमा सेन्टरमा विज्ञापन भयो, परीक्षा भयो, तर त्यसपछि नियुक्ति प्रक्रिया अघि बढेन। वीर अस्पतालमा त अहिलेसम्म नयाँ विज्ञापनसमेत आएको छैन।

मेरो प्रश्न सरल छ-

  • यदि विज्ञापन गरेर परीक्षा लिने हो भने निष्पक्ष परिणाम किन आउँदैन ?
  • यदि योग्य उम्मेदवारलाई नियुक्त गर्ने हो भने प्रक्रिया किन रोकिएको छ ?
  • यदि प्रक्रिया नै गलत थियो भने त्यसको जिम्मेवारी कसले लिने ?

सरकारले चिकित्सकलाई रोजगारी दिने होइन, निष्पक्ष अवसर दिने वातावरण निर्माण गर्ने हो। त्यो वातावरण नै निर्माण हुन नसक्नु गम्भीर विषय हो।

२. चिकित्सकमाथि हुने हिंसा र त्यसपछि लगाइने राजनीतिक आरोप

वीरगन्जमा एक चिकित्सक भाइमाथि कुटपिट भएपछि म त्यहाँ पुगेँ। संवाद र समाधानका नाममा हामीमाथि नै दबाब सिर्जना गरियो। हामीमाथि हातपात भयो, केही घण्टा नियन्त्रणमा राखियो र मोबाइलसमेत खोसियो।

त्यस घटनाको विरोधमा देशभरका अस्पतालहरू दुई दिन बन्द भए।

तर विडम्बना के भयो भने, चिकित्सकमाथि भएको अन्यायको विरोध गर्दा मलाई नै सरकारविरोधी भनेर आरोप लगाइयो। अझ मलाई एउटा राजनीतिक दलसँग जोड्ने प्रयाससमेत भयो।

म स्पष्ट रूपमा भन्न चाहन्छु,

म कुनै राजनीतिक पार्टीसँग आबद्ध छैन।

मैले कुनै राजनीतिक सोर्स वा पहुँचका आधारमा जागिर पाएको होइन। र जागिर नपाए पनि आफ्नो श्रम, क्षमता र पेशाबाट आफ्नो जीवन चलाउन सक्छु।

हो, म गर्वका साथ स्वीकार गर्छु कि मैले ‘टिम मंगल’ को साथमा चुनाव लडेको हुँ। उहाँहरूसँग उभिएको छु र उभिइरहनेछु। तर कुनै समूह वा व्यक्तिसँग उभिनु र गलत कुराको विरोध गर्नु फरक विषय हुन्।

  • गलत कुराको विरोध गर्नु सरकारको विरोध होइन।
  • गलत नियुक्तिको विरोध गर्नु देशको विरोध होइन।
  • पारदर्शिताको माग गर्नु कुनै राजनीतिक दलको पक्ष लिनु होइन।

३. ‘खडेबाबा’ प्रथाको अन्त्य कहिले ?

म विगत एक वर्षदेखि निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा हुने ‘खडेबाबा’ अर्थात् कागजमा मात्र देखाइने वा वास्तविक रूपमा उपस्थित नभए पनि जनशक्तिका रूपमा प्रस्तुत गरिने प्रवृत्तिविरुद्ध विभिन्न ठाउँमा आवाज उठाउँदै आएको छु।

उजुरी दिएको छु। सम्बन्धित निकायलाई जानकारी गराएको छु।

समस्या के हो भन्ने सबैलाई थाहा छ।

  • विद्यार्थीलाई थाहा छ।
  • रेजिडेन्टलाई थाहा छ।
  • शिक्षकलाई थाहा छ।
  • सम्बन्धित निकायलाई पनि थाहा छ।

तर समस्या थाहा हुँदाहुँदै पनि समाधान गर्न किन तत्परता देखिँदैन ?

अझ गम्भीर कुरा त के छ भने, यस्ता विकृतिविरुद्ध प्रश्न उठाउने व्यक्तिलाई नै समस्या सिर्जना गर्ने व्यक्तिका रूपमा हेर्ने प्रवृत्ति बढ्दै गएको छ।

प्रश्न उठाउनेलाई दबाउने होइन, समस्या समाधान गर्ने प्रणाली चाहिएको छ।

४. विशेषज्ञ चिकित्सक बेरोजगार हुने अवस्था कहिलेसम्म ?

आज देशमा दुई–तिहाइ बहुमतको सरकार छ। जनताले स्थायित्व, सुशासन र परिवर्तनको अपेक्षा गरेका छन्।

तर स्वास्थ्य क्षेत्रमा रहेका आधारभूत समस्यामा अपेक्षित सुधार देखिएको छैन।

चिकित्सकको तलब तथा सेवा–सुविधामा अपेक्षित सुधार हुन सकेको छैन। नयाँ चिकित्सकले रोजगारी पाउन सकेका छैनन्।

अवस्था यति निराशाजनक हुँदै गएको छ कि बिहानै ५–६ जना पीजी गरेका चिकित्सक साथीहरूले फोन गरेर भन्नुहुन्छ—

“डा. साब, कतै काम मिलाइदिनुपर्‍यो।”

हामीले यो अवस्था देखेर लाज मान्नुपर्ने होइन र ?

वर्षौं अध्ययन गरेर विशेषज्ञता हासिल गरेका चिकित्सक रोजगारी खोज्दै भौतारिनुपर्ने, अर्कोतर्फ स्वास्थ्य संस्थामा नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र पूर्वानुमानयोग्य नहुने हो भने हामी कस्तो स्वास्थ्य प्रणाली निर्माण गर्दैछौँ?

अब प्रश्न होइन, परिणाम चाहिन्छ

  • मैले धेरै समय धैर्य गरेको छु।
  • धेरै ठाउँमा कुरा राखेको छु।
  • धेरै निकायमा उजुरी गरेको छु।
  • सम्बन्धित व्यक्तिहरूसँग संवाद गरेको छु।
  • समस्या समाधान हुन्छ कि भनेर पर्खिएको छु।

तर अब धैर्यको बाँध विस्तारै टुट्दैछ।

मलाई यो सरकारसँग अझै पनि आशा छ। सरकार सफल होस् भन्ने मेरो चाहना छ। स्वास्थ्य क्षेत्र सुधार होस्, चिकित्सकले सम्मानपूर्वक काम गर्न पाऊन्, नयाँ पुस्ताले नेपालमै अवसर पाओस् र नियुक्ति प्रक्रिया निष्पक्ष तथा पारदर्शी होस् भन्ने मेरो स्पष्ट उद्देश्य हो।

तर आशा राख्दै गर्दा हरेक दिन निराशा थपिँदै जाने हो भने हामी चुप लागेर बस्न सक्दैनौँ।

त्यसैले म प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू र स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यू समक्ष निम्न विषयमा तत्काल ठोस पहल र सार्वजनिक रूपमा जवाफ माग गर्दछु—

1. वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक नियुक्तिको सम्पूर्ण प्रक्रियालाई पारदर्शी बनाइयोस्।
2. रोकिएको नियुक्ति प्रक्रिया तत्काल अघि बढाइयोस् वा रोक्नुको स्पष्ट कानुनी तथा प्रशासनिक कारण सार्वजनिक गरियोस्।
3. विगतमा भएका नियुक्ति तथा विज्ञापन प्रक्रियामाथि उठेका प्रश्नको निष्पक्ष छानबिन गरियोस्।
4. निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा रहेको भनिएको ‘खडेबाबा’ प्रथामाथि प्रभावकारी अनुगमन र कारबाही गरियोस्।
5. योग्य चिकित्सकका लागि निष्पक्ष, प्रतिस्पर्धात्मक र पारदर्शी रोजगारीको वातावरण सुनिश्चित गरियोस्।
6. चिकित्सकमाथि हुने हिंसा तथा दुर्व्यवहारमा शून्य सहनशीलताको नीति व्यवहारमै लागू गरियोस्।
7. स्वास्थ्य क्षेत्रमा प्रश्न उठाउने चिकित्सकलाई राजनीतिक आरोप लगाएर कमजोर बनाउने प्रवृत्ति अन्त्य गरियोस्।

रोजीरोटीका लागि केही समय आफ्नो पेशा र व्यक्तिगत जीवनलाई समय दिँदैछु भनेर मलाई कमजोर नठान्नुहोस्।

यदि छिट्टै चिकित्सक नियुक्तिमा पारदर्शिता कायम गरिएन, ‘खडेबाबा’ को समस्या समाधान गरिएन र योग्य चिकित्सकलाई निष्पक्ष रूपमा अवसर दिने वातावरण बनाइएन भने म आवाज उठाउने मात्र होइन—आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्नेछु।

यो धम्की होइन।

  • यो एउटा चिकित्सकको चेतावनी हो।
  • यो एउटा निर्वाचित प्रतिनिधिको जिम्मेवारीबोध हो।
  • र यो हजारौँ चिकित्सकको पेशागत भविष्यप्रतिको चिन्ता हो।

मेरो लडाइँ कुनै व्यक्ति, पार्टी वा सरकारविरुद्ध होइन।

  • मेरो लडाइँ गलत प्रणालीविरुद्ध हो।
  • मेरो लडाइँ अपारदर्शिताविरुद्ध हो।
  • मेरो लडाइँ चिकित्सकको सम्मान, योग्यताको कदर र निष्पक्ष अवसरका लागि हो।

सरकारलाई अझै पनि समय छ—गुनासोलाई राजनीतिक आरोपका रूपमा होइन, सुधारको अवसरका रूपमा लिनुहोस्।

  • हामीलाई आश्वासन होइन, परिणाम चाहिएको छ।
  • हामीलाई पहुँच होइन, निष्पक्षता चाहिएको छ।
  • हामीलाई राजनीति होइन, पारदर्शिता चाहिएको छ।
  • र चिकित्सकलाई दया होइन—आफ्नो योग्यता र श्रमअनुसार सम्मानपूर्वक काम गर्ने अवसर चाहिएको छ।

# नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. झा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य समेत हुन् । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *