‘नेपालमा अङ्ग प्रत्यारोपणको क्षेत्रमा बितेका मेरा बाह्र वर्ष’

डा. पुकारचन्द्र श्रेष्ठ

– डा. पुकारचन्द्र श्रेष्ठ

यो बाह्र बर्ष अघिको कुरा………….

बेलायतको न्युक्यासलस्थित फ्रिम्यान हस्पिटलमा मिर्गौला, कलेजो र प्याङ्क्रियाजको प्रत्यारोपणको काम गरिरहँदा नेपालमै गएर यस्तै गरी नेपालीको सेवा गर्ने मौका कहिले जुट्छ होला भनेर सोच्ने गर्दथेँ । नभन्दै सोँचे जस्तै भैदियो । सोही बर्ष अर्थात सन् २००८ को नोभेम्बरमा म नेपाल फर्किएँ ।

आएकै महिना देखि वीर अस्पतालमा आवद्ध भएँ । वीरमा डा विजय शर्मा, रजनी हाडा लगायतका मेरा सिनियरहरुले अङ्ग प्रत्यारोपण, विशेषगरी मिर्गौला प्रत्यारोपणका लागि प्रयास गरिराख्नु भएको थियो । म आईसकेपछि त्यसलाई अझ तिब्रता दियौँ । सन् २००८ को १२ डिसेम्बरमा वीर अस्पतालमा हामीले मिर्गौलाको सफल प्रत्यारोपण गर्‍यौं। नेपाल आएको छोटो समयमा अङ्ग प्रत्यारोपण कार्यमा महत्वपूर्ण हिस्सा बन्न पाएकोमा  त्यसबेला म  निकै गौरवान्वित थिएँ ।

करीब चार वीर अस्पतालमा वित्यो । सो क्रममा थुप्रै प्रत्यारोपण पनि गरियो ।

……………………………………………………………………..

अंग प्रत्यारोपण खासगरी मिर्गौला प्रत्यारोपणमा सफलता देखिन थालेपछि सरकारले छुट्टै अंग प्रत्यारोपण सम्वन्धी अस्पताल सञ्चालन गर्ने निर्णय गर्यो र भक्तपुरमा मानवअंग प्रत्यारोपण केन्द्रको नाममा अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरयो । सन् २०१२ को सुरु तिर सरकारले मलाई त्यस केन्द्रको संस्थापक निर्देशकको रुपमा काम गर्ने अवसर प्रदान गर्‍यो ।

म त्यहाँ पुगेको ६ महिनामा अस्पताल सेटअप गरी मिर्गौला विरामीका लागि डायलासिस सेवा शुरु गरेँ । नौ महिनामा त प्रत्यारोपण नै शुरु भयो । त्यसयता सो संस्थामा मिर्गौला प्रत्यारोपण ६९५ जनाको गरियो । वीर अस्पालमा ९९ जना र अन्य अस्पतालमा ५ गरी ७९९ जनाको मिर्गौला प्रत्यारोपण भयो । छ बर्ष बेलायत विताई स्वदेश फर्केर यति धेरैको ज्यान बचाउन पाउँदा साच्चिकै गर्व महसुस भएको छ ।

………………………………………………………………………….

केही महिना अघिबाट मेरो कार्यक्षेत्र प्रत्यारोपण केन्द्रबाट पुन वीर अस्पतालमा सरेको छ । संयोग कस्तो भने १२ बर्ष अघि प्रत्यारोपण विज्ञको रुपमा वीर अस्पतालबाटै सेवा सुरु गरेको थिएँ, अहिले पुन त्यहि ठाँउमा आएको छु । उता प्रत्यारोपण केन्द्रले एउटा छुट्टै पहिचान बनाएको छ । माइलेज लिएको छ ।

तर वीरमा प्रत्यारोपण सम्वन्धी कार्यले अपेक्षाकृत गति लिन नसकेको हो कि जस्तो देखिन्छ । अब मेरो ध्यान यसलाई गतिमा लैजाने हुनेछ ।  वीर अस्पतालमा प्रत्यारोपणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामै केन्द्रीत हुन्छ ।

……………………………………………….

पछिल्लो सात आठ बर्षको अवधीमा नेपालमा अंगप्रत्यारोपणको क्षेत्रमा निकै राम्रा उपलव्धीहरु भएका छन् । अहिले समिक्षा गर्दा वा विगतका पाना पल्टाउँदै गर्दा आफूले पनि केही गरेछु जस्तो लाग्छ ।

खासगरी मानव अंग प्रत्यारोपण केन्द्र (हालको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र)मा रहँदा अस्पताल स्थापना देखि अंग प्रत्यारोपण सम्वन्धी कानून बनाउने, अंग प्रत्यारोपणका लागि जनचेतना जगाउने देखि अत्याधुनिक तरिकाबाट अंग प्रत्यारोपण गराउनेसम्मका कार्यहरुको नेतृत्व लिएँ ।

के के भए त काम ?

कोरोना महामारीका कारण अस्पतालमा विरामीको संख्या एकदमै न्युन छ । प्रत्यारोपण अहिले बन्द नै छ । मैले यहि बेला आफ्ना विगत सम्झने फुर्सद पनि पाएँ । सम्झँदै जाँदा केही महत्वपूर्ण काम गर्न सकिएको रहेछ भन्ने लागेको छ । यसमा म मात्रै होइन मेरो सम्पूर्ण टिमको योगदान रहेको छ । विभिन्न कामका लागि विभन्न क्षेत्रका व्यक्तित्वहरुले सघाउनु भएको छ ।

  • नेपालमा छुट्ट अंग प्रत्यारोपण सम्वन्धी अस्पताल खोलियो । त्यसमा मेरो पहल थियो । त्यसअघि वीर अस्पतालमा प्रत्यारोपणको प्रयास भइरहेको थियो । म आईसकेपछि त्यसलाई मुर्त रुप दिन सकियो ।
  • नेपाल फर्किसके पछि मिर्गौला प्रत्यारोपणमा मज्जाले लागिएछ । मेरो नेतृत्वमा ६९५ जनाको प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा, ९९ जना वीर अस्पताल र अरु ५ जनाको अन्य अस्पतालमा गरी ७९९ जनाको प्रत्यारोपण गरेको रहेछु ।
  • नेपालमै प्रथम पटक पुनः मिर्गौला प्रत्यारोपण गरेँ (जुन अत्यन्तै जटिल थियो, पहिलो र दोश्रो मिर्गौला असफल भएपछी यो गरिएको थियो) । मैले अहिलेसम्म नेपालमा १३ जनाको दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरि सकेको छु ।
  • प्रथम पटक धेरै नशा जोड्नु पर्ने जटिल (Multi vessel) मिर्गौला प्रत्यारोपण पनि गरियो ।
  • सन्  २०१६ मा नेपालमै प्रथम पटक दुई परिवारबिच मिर्गौला साटासाट (Pair Exchange)  गरेर मिर्गौला प्रत्यारोपण गरियो । हालसम ३२ जोडीले आपसी साटासाटबाट मिर्गौला  प्रत्यारोपणको लाभ लिएका छन् ।
  • मेरो नेतृत्वमा प्रत्यारोपण केन्द्रमा देशमै प्रथम पटक कलेजो प्रत्यारोपण भयो । हालसम्म ५ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।
  • सन् २०१० मा देशमै पहिलो पटक कुनै पनि प्रत्यारोपणका लागि अत्यावश्यक एचएलए ल्याब स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेँ । उक्त कार्यमा प्रतिष्ठित व्यक्तित्वहरु आनि छोइङ डोल्मा, कुलचन्द्र गौतम, महजोडी, कुशकुमार जोशी, सुुदर्शनराज पाण्डे, डा. विमलकुमार थापा र नवीना प्रधान श्रेष्ठ सम्मिलित गैर नाफामुलक संस्था आरोग्य प्रतिष्ठानमार्फत सम्भव भएको हो । संस्थामार्फत डायलासिस सेवाका साथै अंगदान र प्रत्यारोपणबारे जनचेतना जगाउने जस्ता महत्वपूर्ण कार्य भईरहेको छ । यो सेवा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि हुँदैछ ।
  • देशमै प्रथम पटक सन २०१७ मे महिनामा मस्तिस्क मृत्यु भएको व्यक्तिको दुई वटा मिर्गौला अन्य दुई जनामा सफल भयो । हालसम्म मस्तिस्क मृत्यु भएको व्यक्ति वाट ६ जनाको मिर्गौला प्रत्यारोपण र १ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।
  • अंग सहज उपलब्ध होस् भनी मस्तिस्क मृत्यु सम्बन्धी कानुन निर्माण गर्ने कार्यमा अग्रपंक्तिमा रहेर काम गरेँ । यस सम्बन्धि ऐन संसदबाट पारित भई लागू भईसकेको छ । यसबाट देशलाई अंग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन ठुलो उपलव्धि हुनेँछ । उक्त कार्य ८ बर्षको कडा मिहिनेत पश्चात मात्र सम्भव भएको हो ।
  • अंग प्रत्यारोपण क्षेत्रमा भईरहेको लैङ्गिक बिभेद हटाउनको लागि ठूलो पैरवी गर्नु परेको थियो । पहिलो १०० जनाको मिर्गौला प्रत्यारोपणमा ९० प्रतिशत ग्रहणकार्ता पुरुष र ८० प्रतिशत अंगदाता महिला थिए । पुरुषहरुले पति महिलासरह अंग दान गर्नुपर्दछ भन्ने अभियन्ताको रुपमा वकालत मात्र गरेको नभई परिवारको पुरुष सदस्यले महिलालाई अंग दान गरेमा रु. ५० हजार आर्थिक सहायता, कानूनी रुपमै मस्तिष्क मृत्युबाट आएको मिर्गौला महिलाहरुले प्राथमिकताका साथ प्राप्त गर्न सक्ने व्यवस्थाको गराउन सफल भएँ ।
  • देशमै पहिलो पटक सन २०१४ मा आरोग्य प्रतिस्ठानमा र हालै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंग प्रत्यारोपण पश्चात खानुपर्ने औषधीको तह मापन गर्ने (Tacrolimus Level) उपकरण संचालनमा ल्याइयो जसबाट मिर्गौला प्रत्यारोपितहरुको जाँच विदेशमा पठाउनु परेन ।
  • हालसम्म देश भरि करिव १५०० जनाको मिर्गौला प्रत्यारोपण भएको छ । त्यसमा हामीले गरेको आधा भन्दा धेरै मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ सम्पन्न भएको छ ।
  • म नेतृत्वमा रहँदा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बार्षिक १७९ सम्मको निःशुल्क प्रत्यारोपण गरेर मुलुकबाट अरबौँ रकम विदेशिनबाट जोगिएको छ ।
  • विभिन्न मुलुकका सेवाग्राही केन्द्रमा मिर्गौला प्रत्यारोपणको लागि आई स्वास्थ्य पर्यटनको प्रवर्दन भएको छ ।

अब प्रत्यारोपण सेवालाई सातै वटा प्रदेशमा विस्तार गर्नेे योजना पुरा गर्न सरकारी निकाय लाई प्रस्ताब गरिएको छ । जनशक्ति तालिम दिने कार्य पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, त्रि.बि. शिक्षण अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बाटै सम्भब छ ।

तर, प्रत्यारोपण केन्द्रलाई तामिल दिने संस्थाको हिसावले शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न आवश्यक छ । यसको लागि अथक प्रयास नभएको होइन ।

त्यस्तै केन्द्रको स्थापनाकाल देखि एक ईन्च जग्गा पनि आफनो स्वामित्व नभएको अवस्थामा आवश्यक जग्गा उपलब्ध गराउन निरन्तर प्रयास भएको छ तर उपलव्धि हात परि सकेकोे छैन । तसर्थ संख्यात्मक र गुणात्मक रुपले अन्तराष्ट्रिय सेवा दिई रहेको केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गरिनु र यसको भौतिक पुर्वाधार विस्तार गरिनु समसामयिक हुन आउँछ ।

देशलाई अंग प्रत्यारोपणमा आत्म निर्भर गराउन देशकै सरकारी संस्थाहरुले अग्रणी भुमिका खेल्न सक्दछ, यसको लागि सम्वंधित सबै पक्षको सहयोगको आवश्यकता पर्दछ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *