
काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको नाममा नेपाल चिकित्सक संघका सदस्य डा. अमित झाले लेखेको खुलापत्रमा चिकित्सक नियुक्ती विषय जोडिएपछि राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
केहीवेर अघि ट्रमा सेन्टरले विज्ञप्ती जारी गर्दै करारमा चिकित्सक नियुक्ती सम्वन्धी विषय प्रक्रिया भन्दा बाहिर नभएको भन्दै शंका लागे छानविन गर्न सकिने समेत स्पष्ट पारेको छ ।
डा. झाले स्वास्थ्य क्षेत्रमा भएका वेथितिहरु उजागर गर्न भन्दै लेखेको खुला पत्रमा वीर तथा ट्रमा सेन्टरमा चिकित्सक नियुक्ती प्रक्रिया अपारदर्शी भएको आरोप लगाएका थिए । त्यसको जवाफमा ट्रमा सेन्टरले विज्ञप्ती जारी गरेको हो ।
हेर्नुहोस विज्ञप्ती:
राष्ट्रिय ट्रमा सेन्टरमा करारमा चिकित्सक नियुक्ति सम्बन्धी सञ्चारमाध्यमहरूमा आएका समाचार तथा नेपाल चिकित्सक संघका सदस्य डा. अमित झाले राख्नु भएको धारणाप्रति हाम्रो ध्यानाकर्षण भएको छ।
राष्ट्रिय ट्रमा सेन्टरले आर्थिक वर्ष २०८३/८४ मा पदपूर्ति गर्नुपर्ने मेडिकल अफिसर पदहरूको लागि लिखित परीक्षा सञ्चालन गरी योग्यताक्रम सूची प्रकाशित गरिसकेको छ, जुन सेन्टरको वेबसाइटमा उपलब्ध छ। परीक्षा प्रक्रिया रोकिएको नभई सोही योग्यताक्रम सूची अनुसार क्रमशः पदपूर्ति गरिने र यस आर्थिक वर्षभरि थप हुने नयाँ वा रिक्त पदहरूमा पनि यसै सूचीका आधारमा मात्र नियुक्ति गरिने जानकारी गराउँछौँ।
विगतका नियुक्तिहरूका सम्बन्धमा यस सेन्टरमा दुई तरिकाले पदपूर्ति गर्ने गरिएको छ: (१) खुला प्रतिस्पर्धाबाट (लिखित परीक्षा वा लिखित र अन्तर्वार्ता दुवै) र (२) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली २०६५ अनुसार। माथिका जुनसुकै प्रक्रियाबाट नियुक्ति गरिए तापनि नियमानुसार करार नियुक्ति ६ महिनाका लागि मात्र मान्य हुन्छ।
तत्पश्चात् संस्थाको आवश्यकता र औचित्यताका आधारमा म्याद थप वा निरन्तरता दिने कानूनी प्रावधान छ ।अस्पताल जस्तो संवेदनशील ठाउँमा प्रत्येक ६-६ महिनामा पुराना चिकित्सकहरूलाई पदमुक्त गर्दै नयाँ परीक्षा लिएर शतप्रतिशत नयाँ पदपूर्ति गर्नु कति व्यावहारिक र सम्भव छ ?
त्यसैले विगतमा एउटा निश्चित प्रक्रिया पूरा गरी नियुक्त भएका चिकित्सकहरूलाई कार्यक्षमता मूल्याङ्कन, आवश्यकता र औचित्यताका आधारमा प्रत्येक ६-६ महिनामा म्याद थप गरी निरन्तरता दिने गरिएको छ ।
यदि नियुक्ति प्रक्रियामा कुनै त्रुटि भएको भए सम्बन्धित नियमनकारी निकायबाट छानबिन हुन सक्ने समेत जानकारी गराउन चाहन्छौं ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई
(nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।