उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले सुरु गरे कर्मचारी फेरबदलको काम

आयुर्वेद अस्पताल नरदेवीमा डा. रामदेव यादव बने निमित्त निर्देशक, श्यामबाबु विभाग फर्किए

काठमाडौँ, ४ बैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी चलाउन सुरु गरेका छन् ।

सोमबार उनले मन्त्रीस्तरीय निर्णय गर्दै आयुर्वेद अस्पताल नरदेवीमा डा. रामदेव यादवलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन् ।

यसअघि त्यहाँ  निमित्त निर्देशक रहेका डा. श्यामबाबु यादवलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा फिर्ता पठाइएको छ ।

डा. रामदेवले सोमबार नै अस्पताल पुगेर पदवहाली गरिसकेका छन् ।

आयुर्वेद अस्पताल नरदेवीको कार्यकारी निर्देशक पद ११ औँ तहको हो । तर अघिल्ला स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कार्यकारी निर्देशक डा. प्रदीप केसीलाई दरबन्दी विनाको सिंहदरबार बैद्य खानामा पठाई दशौँ तहका डा. श्यामबाबुलाई विभागबाट काज सरुवा गरी नरदेवीमा निमित्त निर्देशक बनाएका थिए । सो निर्णयको लामो समय विरोध समेत भएको थियो ।

अहिले मन्त्री यादवले अघिल्ला मन्त्रीको निर्णयलाई परिवर्तन त गरे तर दशौँ तहकै कर्मचारीलाई प्रमुख बनाए ।

मन्त्रालयका एक अधिकारीले मन्त्री यादवले अघिल्लो मन्त्रीका पालामा भएका अवैधानिक तथा गलत मनसायका निर्णयहरुलाई सच्याउने अपेक्षा गरे पनि सुरुवात त्यस्तो नदेखिएको बताए ।

‘अघिल्ला मन्त्रीले स्वास्थ्य होडलेर गए, अब उप प्रधानसहितका मन्त्री आए भनेको उनले पनि तोकिएको तह र दरबन्दी भएकालाई नलगी कनिष्ठलाई कार्यालय प्रमुख बनाउन थाल्नु भयो,’ ती कर्मचारीले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *