म्यानमारमा स्वास्थ्यकर्मीमाथि फेरि आक्रमण, पाँच जनाको मृत्यु,
सन् २०२६ मा हालसम्म भएको ६५ वटा घटनामा ६३ जना स्वास्थ्यकर्मीले ज्यान गुमाए

काठमाडौं, २० कात्तिक । म्यानमारमा द्वन्द्वका बीच स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना निरन्तर बढिरहेका छन्। पछिल्लो पटक गत बुधबार सागाइङ क्षेत्रको कावलिङ टाउनसिपमा स्वास्थ्य सेवामाथि भएको आक्रमणमा कम्तीमा पाँच स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
यससँगै सन् २०२६ को सुरुदेखि म्यानमारमा स्वास्थ्य क्षेत्रमाथि भएका आक्रमणमा ज्यान गुमाउने स्वास्थ्यकर्मीको संख्या ६३ पुगेको छ।
स्वास्थ्यकर्मीमाथि आक्रमण हुने र हताहती हुने क्रम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) गम्भीर चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै म्यानमारमा स्वास्थ्यकर्मीमाथि भएको पछिल्लो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणले युद्ध तथा द्वन्द्व प्रभावित नागरिकलाई सबैभन्दा बढी जोखिममा पार्ने भन्दै डा। टेड्रोसले स्वास्थ्य सेवाको सुरक्षाका लागि पुनः आग्रह गरेका छन्।
उनले आफ्नो फेसबुक पोस्टमा स्पष्ट रूपमा भनेका छन्, स्वास्थ्य सेवा कुनै पनि अवस्थामा आक्रमणको निशाना बन्नु हुँदैन र यसलाई सधैँ संरक्षण गरिनुपर्छ।
स्वास्थ्य सेवा मानव जीवन बचाउने माध्यम हो भन्दै आक्रमणको केन्द्रविन्दु नबनाउन आग्रह गरेका छन् ।
म्यानमारमा पछिल्लो पटक सन् २०२१ फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि सुरु भएको राजनीतिक तथा सशस्त्र द्वन्द्वले देशको स्वास्थ्य, शिक्षा र मानवीय सहायता प्रणालीलाई गम्भीर असर पार्दै आएको छ। द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन् भने ग्रामीण तथा द्वन्द्व प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन झन् कठिन बनेको छ।
स्वास्थ्य संस्थामाथिका आक्रमणले तत्काल उपचारको आवश्यकता भएका बिरामी, गर्भवती महिला, नवजात शिशु तथा बालबालिकालाई समेत जोखिममा पारिरहेको छ। स्वास्थ्यकर्मीको ज्यान जाने र उपचार केन्द्रहरू प्रभावित हुने क्रम जारी रहे म्यानमारको स्वास्थ्य संकट अझ गहिरिने चिन्ता व्यक्त गरिएको छ।
४० लाख मानिस विस्थापित, स्वास्थ्य प्रणाली संकटमा
डब्लुएचओका अनुसार म्यानमारमा जारी द्वन्द्व र प्राकृतिक विपत्तिका कारण करिब ४० लाख मानिस विस्थापित भएका छन्। विस्थापनको ठूलो चाप र स्वास्थ्य संस्थामाथिका निरन्तर आक्रमणले देशको स्वास्थ्य प्रणालीलाई थप कमजोर बनाएको छ।
म्यानमारमा बारम्बार विभिन्न रोगको प्रकोप देखिने गरेको छ। पछिल्लो समय मलेरिया पुनः फैलिन थालेको छ भने लामखुट्टे तथा अन्य कीराबाट सर्ने रोगको जोखिम पनि बढिरहेको छ।
त्यस्तै, नियमित खोप लगाउन नपाएका बालबालिकाको संख्या बढ्दै जाँदा दादुरा र पोलियोजस्ता रोगको जोखिमसमेत गम्भीर बन्दै गएको डा. टेड्रोसले उल्लेख गरेका छन्।
द्वन्द्वका कारण स्वास्थ्य संस्था सञ्चालनमा कठिनाइ, स्वास्थ्यकर्मीको असुरक्षा र औषधि तथा उपचार सेवामा पहुँचको अभाव देखिएको छ। यस्तो अवस्थामा स्वास्थ्य सेवामाथि हुने प्रत्येक आक्रमणले सर्वसाधारणलाई जीवनरक्षक उपचारबाट समेत वञ्चित गराउने जोखिम बढाएको उनको भनाइ छ।
प्रसूति केन्द्र र विद्यालयमा समेत हवाई आक्रमण
म्यानमारमा स्वास्थ्य संस्था र नागरिक संरचनामाथि आक्रमण भइरहेको विषयलाई अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि पछिल्ला रिपोर्टहरूमा उठाएको छ।
रोयटर्सले नोभेम्बर २ मा सार्वजनिक गरेको रिपोर्टअनुसार म्यानमारको रखाइन र कायाह राज्यमा भएका हवाई आक्रमणमा एक नवजात शिशुसहित कम्तीमा १५ जनाको मृत्यु भएको थियो।
रिपोर्टअनुसार नोभेम्बर १ मा पश्चिमी रखाइन राज्यका चार टाउनसिपमा भएका हवाई आक्रमणमा पुल, विभिन्न स्थान तथा म्राउक–यू क्षेत्रमा रहेको अस्थायी स्वास्थ्य केन्द्र र प्रसूति कक्ष प्रभावित भएका थिए। अराकान आर्मीका प्रवक्ता र एक स्थानीय सहायता कार्यकर्ताका अनुसार उक्त क्षेत्रमा कम्तीमा १२ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका थिए।
म्राउक–यूस्थित सहायता कार्यकर्ता वाइ हुन आङले रोयटर्सलाई बताएअनुसार आक्रमणबाट भवन भत्किँदा एक साताकी नवजात शिशुको मृत्यु भएको थियो। ती शिशुको जुम्ल्याहा भने जीवित रहेको उनले बताएका थिए। सोही स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीसहित अन्य चार जनाको पनि मृत्यु भएको उनको भनाइ थियो।
त्यसैगरी, कायाह राज्यको लोइकाउमा अक्टोबर ३१ मा विद्यालय सञ्चालन भइरहेका बेला भएको हवाई आक्रमणमा तीन विद्यार्थीको मृत्यु र पाँच जना घाइते भएको करेननी मानव अधिकार समूहले जनाएको थियो।
रोयटर्सले उक्त रिपोर्टमा म्यानमारको सैन्य समर्थित सरकारका प्रवक्तासँग प्रतिक्रिया मागेको भए पनि तत्काल जवाफ प्राप्त नभएको उल्लेख गरेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



