नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयद्धारा सरोकारवाला पक्षसंग छलफल

0
Shares

काठमाडौं, १९ कात्तिक । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।

उपचारमा मात्र केन्द्रित नभई रोग लाग्नै नदिने, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने र समयमै रोग पहिचान गर्ने रणनीतिलाई प्राथमिकता दिँदै सरकारले विभिन्न मन्त्रालय तथा सरोकारवाला निकायबीच समन्वय बढाउने तयारी गरेको हो।

यसैक्रममा गत मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्राडा जगदीश अग्रवालको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्था र नियन्त्रणका उपायबारे छलफल भएको छ। बैठकमा नेपाल एनसीडी एलायन्ससहित नसर्ने रोगको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि पहल गर्ने निष्कर्ष निकालेको छ। बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने तथा कार्ययोजनाको प्रगति र उपलब्धिबारे नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना विस्तार, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय, विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने र विशेषज्ञ चिकित्सकलाई देशमै टिकाउने विषयमा पनि चर्चा भएको थियो।

सहभागीहरूले सुर्तीजन्य पदार्थ, मदिरा, इनर्जी ड्रिङ्क, जङ्क फुड, अस्वस्थ खानपान तथा विषादीको अनुचित प्रयोगबाट प्रभावित खाद्यवस्तुलाई नसर्ने रोगका प्रमुख जोखिम कारकका रूपमा औँल्याउँदै तिनको उत्पादन, बिक्री, वितरण र प्रयोगमा प्रभावकारी नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

स्वास्थ्य मन्त्रालयको मात्रै जिम्मेवारी होइन नसर्ने रोग नियन्त्रण

नसर्ने रोग नियन्त्रणका लागि नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा दोस्रो बहुक्षेत्रीय कार्ययोजना (२०२१–२०२५) कार्यान्वयनमा ल्याएको थियो। यस कार्ययोजनाको मूल अवधारणा नसर्ने रोग नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्रै जिम्मेवारी नभई सरकारका सबै निकाय र समाजका विभिन्न पक्षको साझा दायित्व हो भन्ने हो।

मानिसको खानपान, जीवनशैली, वातावरण, धूमपान तथा मदिरा सेवनजस्ता व्यवहारले नसर्ने रोगको जोखिम बढाउने भएकाले यसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रबाहेक शिक्षा, कृषि, उद्योग, अर्थ, सञ्चार, खानेपानी तथा स्थानीय तहलगायतका निकायको भूमिका महत्त्वपूर्ण हुन्छ।

कार्ययोजनाले सुर्तीजन्य पदार्थ तथा मदिराको प्रयोग न्यूनीकरण, स्वस्थ खानपानको प्रवर्द्धन, शारीरिक गतिविधि बढाउने, वायु प्रदूषण नियन्त्रण तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारलाई प्राथमिकता दिएको छ। त्यसैगरी, मुटुरोग, क्यान्सर, मधुमेह र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, आवश्यक औषधि तथा उपचार सेवाको उपलब्धता र रोगसम्बन्धी तथ्यांक व्यवस्थापनलाई पनि महत्त्व दिएको छ।

बहुक्षेत्रीय कार्ययोजनाको उद्देश्य रोग लागेपछि उपचार गर्ने प्रवृत्तिमा मात्र निर्भर नभई रोगका जोखिम कारक न्यूनीकरण गरेर नागरिकलाई स्वस्थ राख्नु हो। यसका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक मानिएको छ।

सन् २०३० सम्म नसर्ने रोगबाट हुने अकाल मृत्यु एकतिहाइले घटाउने लक्ष्य

संयुक्त राष्ट्रसंघले सन् २०१५ मा पारित गरेको दिगो विकास लक्ष्यअन्तर्गत लक्ष्य नम्बर ३ ले सबै उमेरका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने र स्वस्थ जीवन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। यसको ३.४ नम्बर लक्ष्यले सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने अकाल मृत्युलाई रोकथाम र उपचारका माध्यमबाट एकतिहाइले घटाउने तथा मानसिक स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्ने प्रतिबद्धता गरेको छ।

यो विश्वव्यापी लक्ष्य हो, जसप्रति नेपाल पनि प्रतिबद्ध छ। नसर्ने रोगबाट हुने अकाल मृत्यु भन्नाले सामान्यतया ३० देखि ७० वर्ष उमेर समूहमा मुटुरोग, क्यान्सर, मधुमेह तथा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका कारण हुने समयअगावैको मृत्युलाई बुझिन्छ।

नेपालमा नसर्ने रोगको भार पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनको सन् २०२४ को तथ्यांकअनुसार नेपालमा हुने कुल मृत्युमध्ये अनुमानित ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ। मुटुरोग, मस्तिष्कघात, क्यान्सर, मधुमेह तथा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग यसका प्रमुख कारण हुन्।

सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, वायु प्रदूषण तथा मोटोपन नसर्ने रोगका प्रमुख जोखिम कारक हुन्। बदलिँदो जीवनशैली, प्रशोधित तथा अत्यधिक नुन, चिनी र चिल्लो पदार्थ भएका खानेकुराको बढ्दो प्रयोगले पनि यसको जोखिम बढाइरहेको छ।

नसर्ने रोग लागेपछि लामो समयसम्म औषधि सेवन र उपचार गर्नुपर्ने भएकाले व्यक्ति, परिवार र राज्यको स्वास्थ्य खर्चसमेत बढ्ने गर्छ। त्यसैले नियमित स्वास्थ्य परीक्षण, स्वस्थ खानपान, शारीरिक व्यायाम, सुर्तीजन्य पदार्थ तथा मदिराको प्रयोगमा नियन्त्रण र समयमै रोग पहिचानलाई यसको प्रभावकारी रोकथामका उपायका रूपमा लिइन्छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा पनि क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि रोकथाम, जनचेतना, नियमित परीक्षण र स्वस्थ जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *