स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलन : पहिलो दिन के-के विषयमा भयो छलफल ?

काठमाडौँ, २९ चैत । बुधबार देखि काठमाडौँमा सुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलन आज पनि जारी छ । तीन दिन सम्म चल्ने सम्मेलन स्वास्थ्य तथा जनसंख्या विषयका विविध पक्षलाई केलाइएका अनुसन्धानको प्रस्तुति र त्यस विषयमा छलफल हुनेछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सम्मेलनको पहिलोे दिन बुधबार पहिलो सत्रमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलन्को उद्घाटन गरेका थिए ।

सो अवसरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिबराज अधिकारी, स्वास्थ्य सचिव डा रोशन पोखरेल लगायतले मन्तव्य दिएका थिए । परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले स्वागत गर्दै कार्यक्रमबारे जानकारी गराएका थिए ।

उद्घाटन सत्र पछि कार्यक्रम पूर्ण सत्र (प्लेनरी सेसन)मा प्रवेश गरेको थियो । त्यसपछि विज्ञहरुका प्रस्तुति छलफल र अन्तरक्रिया कार्यक्रम भएको थियो ।

पूर्ण सत्रको पहिलो कार्यपत्रमा नेपालको स्वास्थ्य नीति र वित्तिय अवस्थाबारे छलफल भएको थियो । छलफलमा अध्यक्षता स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. सुधा शर्मा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्राले गरेका थिए ।

छलफलमा मन्त्रालयका नीति, योजनामा महाशाखामा प्रमुख डा. कृष्णप्रसाद पौडेलले पेपर प्रस्तुति दिएका थिए । उनले राजनीतिक अस्थिरताका कारणले स्वास्थ्यका नीति बन्ने तर कार्यन्वयन नहुने समस्या रहेको बताए । स्वास्थ्यका ऐन बाझिने खालका रहेको भन्दै एउटा बनाएको नीति सरकारको माथिल्लो तहमा पुर्याउँदा अर्कै भएर आउने समस्या रहेको बताए ।

यस्तै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका डा. गुणनीधि शर्माले मानिसलाई स्वास्थ्य बीमामा आवद्ध गराउनुपर्नेमा जोड दिए ।

यता स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले गरिव दिनदुःखीको लागि स्वास्थ्य बीमा कार्यक्रम बरदान भएकोले यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनका लागि सबैको साथ हुनु पर्ने बताए ।

सत्रमा जनस्वास्थ्यविद् अच्युतराज पाण्डे, डा. प्रतिक खनाल र राजीवकान्त मिश्रले स्वास्थ्य सेवाको विस्तारसंगै गुणस्तर स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले गुणस्तरिय स्वास्थ्य सेवा नराम्रो भएर विरामीहरु नीजि अस्पताल तिर जाने गरेको भन्दै मानव संशाधनमा बढाउनु पर्नेमा जोड दिईन् ।

बुधबार नै भएको अर्को सत्रमा नेपालको स्वास्थ्यको वित्तिय अवस्थाको छलफल पनि भएको छ । छलफलमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी, विश्व स्वास्थ्य संगठनका रोशन कर्ण र वीर अस्पतालका संगीता श्रेष्ठले भाग लिएका थिए ।

छलफलमा मन्त्रालयका अतिरिक्त सचिव डा. देवकोटाले स्वास्थ्य बीमालाई डिजिटलाइजेशन गर्नुपर्ने बताए ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले सरकारको प्राथमिकतामा स्वास्थ्य बीमा कार्यक्रम रहेकोले सवैलाई बीमा कार्यक्रममा आबद्ध गराउनुपर्नेमा जोड दिए ।

विश्व स्वास्थ्य संगठनका रोशन कर्णले स्वास्थ्य सेवाको वृद्धिका लागि काँधका काँध मिलाएर जान तयार रहेको बताए ।
यसैगरी तथ्य र अनुसन्धानमा आधारित क्लिनिकल ट्रायल बिषयक सामूहिक छलफल पनि आज सम्पन्न भएको छ ।

छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, त्रिवि चिकित्सा संस्थानका अनुसन्धान विभागका प्रमुख डा. प्रदीप ज्ञवाली, काठमाडौँ विश्वविद्यालयका प्राडा राजीव श्रेष्ठ, अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च युनिटका नहिदा हक र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का इथिकल रिभ्यु बोर्डका डा. दिप्तेश अर्यालले भाग लिएका थिए ।

उक्त सामूहिक छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले क्लिनिकल ट्रायलका लागि मापदण्ड बने पनि प्रभावकारी नभएको बताए ।

त्रिवि चिकित्सा संस्थानका अनुसन्धान विभागका प्रमुख डा. प्रदीप ज्ञवालीले क्लिनिकल ट्रायलका लागि अनुसन्धानलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च युनिटका नहिदा हकले समुदायको स्वीकृतमा मात्र क्लिनिकल ट्रायल गनुपर्ने भन्दै क्लिनिकल ट्रायललाई गलत रुपमा प्रयोग गर्न नहुने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का इथिकल रिभ्यु बोर्डका डा. दिप्तेश अर्यालले क्लिनिकल ट्रायल सम्बन्धि नयाँ मापदण्ड बनेपनि सार्वजनिक नगर्दा मानिसमा गएर क्लिनिकल ट्रायल गर्न समस्या भएको धारणा राखे ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले परिषद्संग अनुमति लिएर गरिएका क्लिनिकल ट्रायल अनुसन्धानको आचारसंिहता अनुसार नै रहेको बताए । यो सत्रको मोडरेसन डा खेमबहादुर कार्कीले गरेका थिए ।

“दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन” भन्ने नाराका साथ शुरु भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *