बिरामीको मृत्युपछि सिनामंगलस्थित केएमसी अस्पतालमा तोडफोड

काठमाडौँ, १७ बैशाख । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा तोडफोड भएको छ । सोमबार अपरान्ह आकस्मिक कक्षमा उपचारका लागि ल्याइएका बिरामीको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

सो क्रममा उनीहरुले ड्यूटीमा रहेका डाक्टरमाथि समेत आक्रमण गरेको बताइएको छ ।

अस्पतालका एक चिकित्सकका अनुसार अपरान्ह सवा ४ बजे तिर काठमाडौँ बत्तिसपुतलीका एक ६२ वर्षीय पुरुष उपचारका लागि आकस्मिक कक्षमा ल्याइएको थियो । तर उपचारका क्रममा उनको बेलुका साढे ७ बजे तिर मृत्यु भयो । त्यसपछि आफन्तहरु तोडफोडमा उत्रिएका हुन् ।

उनीहरुले आकस्मिक कक्षमा आएको बिरामीको उपचारमा अस्पताल प्रशासन र चिकित्सकहरुले ध्यान नदिएको भन्दै तोडफोड तथा आक्रमणमा उत्रिएका हुन् । सो क्रममा ड्यूटीमा रहेका दुई जना चिकित्सकमाथि कुटपिट भएको बताइएको छ ।

अर्का एक कर्मचारीले आकस्मिक कक्षमा उपचारका लागि आएका ती बिरामीको स्वास्थ्य बिग्रिएपछि आकस्मिक कक्षमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सिपिआर दिएर बचाउने प्रयास गरे पनि सफल नभएको बताए ।

ती स्वास्थ्यकर्मीका अनुसार इमर्जेन्सी विभागकी प्रमुख प्राडा विनिता प्रधान र इमर्जेन्सीमै ड्यूटीमा रहेकी अर्की एक डाक्टरलाई समेत बिरामीका आफन्तले हातपात गरेका हुन्। डा प्रधानको टाउको, हात र ढाडसमा प्रहार गरिएको थियो।

त्यसपछि आफन्तले अस्पतालको आकस्मिक कक्षको काउन्टर र झ्याल तोडफोड गरेका हुन्। आक्रमणबाट झ्यालका सिसाहरु फुटेका छन्।

आफन्तले उपचारका क्रममा अस्पतालका तर्फबाट लापरबाही भएको आरोप लगाएका छन्।

घटना पछि प्रहरी अस्पताल पुगेको छ । उसले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *