चर्को गर्मीसंगै लम्बिएको खडेरीले नेपालमा पनि बढ्यो वायु प्रदुषण

स्वास्थ्य मन्त्रालयले भन्यो, 'अनावश्यक रुपमा घरबाट ननिस्कनु, निस्कन परेमा मास्कको अनिवार्य प्रयोग गर्नु'

काठमाडौँ, १६ बैशाख ।  पछिल्ला दिनमा देशमा चर्किदो गर्मीसंगै परेको लामो खडेरीले बातावरण प्रदुषित भएको छ । बातावरण प्रदुषित हुँदा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।

अझ पछिल्ला दिनमा त तराईका क्षेत्रमा तातो हावा बहने र लु लाग्ने समस्या उच्च रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ सहित देशका विभिन्न भागमा वायु प्रदुषणले सिमा नाघेको भन्दै सतर्कता अपनाउन आम नागरिकलाई अपिल गरेको छ ।

मन्त्रालयले वायु प्रदुषणबाट जोगिन अनावश्यक काममा घरबाट ननिस्कने, बाहिर निस्कनै परे यात्रा गर्दा मास्क लगाउने, अत्यधिक प्रदुषित क्षेत्रबाट टाढा रहने लगायतको निर्देशन दिएको छ । यस्तै यो समयमा झोलिलो पदार्थहरु प्रयाप्त मात्रामा सेवन गर्न तथा गराउन अनुरोध समेत गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आइतबार यसबारेमा विज्ञप्ती जारी गर्दै काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गरेका छन् । ‘यस्तो वायूले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर गर्नुका साथै दम क्यान्सर आदिको जोखिम समेत बढाउँछ,’ डा बुढाथोकीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तै वायु प्रदुषणकै कारणले कम तौल भएको बच्चा जन्मने, अवधी नपुग्दै बच्चाको जन्म हुने जोखिम रहने समेत उल्लेख छ ।

यसले नेपालीको औषत आयु ४ वर्षले घटाएको समेत दावी गरिएको छ । मन्त्रालयले नेपालमा रुग्णता तथा मृत्युको प्रमुख कारणमध्ये वायु प्रदुषण पनि एक भएको उल्लेख गर्दै आम नागरिकलाई सचेत हुन आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *