दर्ता विना नै सञ्चालनमा छन् ‘जेरियाट्रिक केयर सेन्टर’

विभागले भन्यो, 'अब दर्ता गरी अनुमति लिएर मात्रै चलाउनु'

काठमाडौँ, १७ बैशाख । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उदेश्यले स्थापना भएका जेरियाट्रिक केयर सेन्टरको नियमन गर्न सरकारले २०७७ सालमै निर्देशिका तथा मादण्ड बनाएको थियो । तर, अहिलेसम्म त्यो निर्देशिका र मापदण्ड अनुसार कुनै पनि जेरियाट्रिक सेन्टर सरकारी निकायमा दर्ता हुन आएका छैनन् ।

बृद्धबृद्धाको हेरचाह तथा उपचार गर्ने जस्तो महत्वपूर्ण कार्य गर्ने यस्ता संस्था दर्ता हुनै नआएपछि स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ताकेता गरेको छ ।

उसले सोमबार सूचना प्रकाशित गर्दै ‘जेरियाट्रिक केयर सेन्टर सञ्चालन निर्देशिका र मापदण्ड – २०७७’ अनुसार मापदण्ड पुरा गरी सञ्चालन अनुमति प्रक्रियामा आउन अनुरोध गरेको छ ।

‘निर्देशिका र मापदण्डले तोकेका प्रावधान अनुसार दर्ता हुनु पर्छ तर यो पुरा गरि अहिलेसम्म कुनै पनि संस्था आएका छैनन् । हाम्रो महाशाखामा दर्ता हुनु पर्ने हो तर खासमा अहिलेसम्म मापदण्ड पुरा गरी कोही पनि दर्ता हुन आएका छैनन्,’ महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले भनिन् ।

महाशाखाले सूचनामा सञ्चालन भईसकेका र हुन चाहने संस्थाहरुलाई विभागमा दर्ता भएर मात्रै सेवा प्रारम्भ गर्न समेत सचेत गराएको छ ।

‘बृद्धबृद्धाको हेरचाह तथा उपचार गर्ने कार्य आफैमा सम्वेदनशील हो । यस्तो कार्य गर्नका लागि तिश्चित मापदण्ड पुरा गरेको हुनुपर्छ । जो कुरा निर्देशिकामा उल्लेख छ । तर त्यसलाई मानेर कोही पनि आउनु भएको छैन् । केहीले निवेदन दिनु त भएको छ तर मापदण्ड पुगेको छैन। त्यसैले दर्ता नै भएको छैन,’ निर्देशक निरौलाले भनिन् ।

काठमाडौँ लगायत शहरी क्षेत्रमा अहिले जेरियाट्रिक केयर सेन्टर धमाधम खुलेका छन् । सरकारी दर्ता प्रक्रियामा नजाँदा कतिपयले सेवाग्राहीसंग मनलाग्दी शुल्क असुलेको समेत बताईने गरेको छ ।

विभागले यहि गुनासोलाई सम्वोधन गर्न सूचना जारी गरेको  बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *