वैज्ञानिक अनुसन्धान विना समृद्धि, विकास र समाजवादको कल्पना समेत गर्न सकिदैन : उप प्रधानमन्त्री यादव

काठमाडौँ, २८ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न स्वास्थ्य अनुसन्धानको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सवको अवसरमा बुधबारबाट सुरु भएको स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री यादवले स्वास्थ्य अनुसन्धानले महत्वपूर्ण तथ्य प्रमाणका आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन हुने बताए।

उनले स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउने बताए। उनले अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने पनि बताए।

उनले भने, ‘स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुन्छ। स्वास्थ्य अनुसन्धानले महत्वपूर्ण तथ्य प्रमाण्का आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतिहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन गर्दछ।

स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउँछ। साथै अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्छ।’

मन्त्री यादवले बैज्ञानिक अनुसन्धान विना समृद्धि विकास र समाजवादको कल्पना समेत गर्न नसकिने भन्दै देश र समाजमा अनुकुल हुने नीति निर्माण बनाउन प्राप्त तथ्य र प्रमाण चाहिने भन्दै नयाँ परिषद्ले गर्ने अन्वेषण महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा शिवराज अधिकारीले सरकार सोह्रौं योजना लेखनको तयारीमा रहेका बेला स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सम्मेलन निकै महत्वपूर्ण र फलदायी हुने बताए । उनले स्वास्थ्य क्षेत्रमा देखिएका ग्याप तथा चुनौतीको सामना गर्न नयाँ रणनीति आवश्यक पर्ने भन्दै यस अनुसन्धानबाट त्यस्ता नीति निर्माणमा सहयोग हुने बताए । उनले स्वास्थ्य अनुसन्धानको क्षेत्रलाई कसरी अघि बढाउने र कहाँसम्म पुग्ने भन्ने विषयमा पनि लक्ष्य तय गर्नु पर्ने समय आएको बताए । उनले योजना आयोग स्वास्थ्य अनुसन्धानलाई अगाडी बढाउनु पर्छ भन्नेमा रहेको भन्दै त्यसका लागि परिषदलाई सहयोग गर्न तयार रहेको समेत बताए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले अबको स्वास्थ्य नीति कस्तो बनाउने ? तीन तहको सरकारबीच समन्वय गरेर कसरी अघि बढ्ने ? कहाँ निर ग्याप छ त्यसलाई कसरी पुरा गर्ने ? अबको प्राथमिकता के हुनुपर्ने लगायतका विषयमा सम्मेलनले दिशा निर्देश गर्ने बताए । उनले आगामी दिनमा नीति निर्माणमा सहयोग पुग्ने समेत बताए ।

परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अनुसन्धान भनेको मानव स्वास्थ्यका लागि निकै नै महत्वपूर्ण हुने भन्दै जात, धर्म, भुगोल, भाषालाई अडचनको रुपमा लिन नदिने भन्दै तथ्यमा आधारित समाधानका लागि अनुसन्धान महत्वपूर्ण हुने बताए । उनले सम्मेलनबाट आउने निचोणले स्वास्थ्य मन्त्रालयलाई नीति बनाउन सहयोग पुग्ने गरी सल्लाह सुझाव दिइने समेत बताए ।

कार्यक्रममा परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनबारे विस्तृत जानकारी दिदै स्वदेश तथा विदेशबाट गरि एक हजार बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता हुने बताए । उनले सम्मेलनमा भारत, स्वीजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि प्रतिनिधि आएको जानकारी दिए ।

सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ ।

डा जोशीले नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने जानकारी दिै ।

तीन सम्म चल्ने यो सम्मेलनको नारा “दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ रहेको छ ।
सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *