स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दशौँ शिखर सम्मेलन आजबाट सुरु

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलन आजबाट काठमाडौँमा सुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको सम्मेलनको अहिले विहान ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले बौद्यस्थित ह्यायात रेजेन्सी होटल पुगेर उद्घाटन गर्दैछन् ।

तीन सम्म चल्ने यो सम्मेलनको नारा “दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ रहेको छ ।

परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीका अनुसार सम्मेलनमा स्वदेश तथा विदेशबाट गरि एक हजार बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता हुने छन् । उनले सम्मेलनमा भारत, स्वीजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि प्रतिनिधि आएको जानकारी दिए ।

सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ ।

सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न बिषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने बताइएको छ ।

विहान उद्घाटन सत्रमा राष्ट्रपतिसंगै उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, राष्ट्रिय योजना आयोगका सदस्य डा शिवराज अधिकारी, परिषद्का संस्थापक डा मृगेन्द्रराज पाण्डेले सम्वोधन गर्ने कार्यक्रम छ । त्यसपछि प्लानरी सेसन सुरु हुनेछ ।

विभिन्न १० विधामा अवार्ड

यसैबीच सम्मेलन समापन समारोहमा विभिन्न १० विधामा अवार्डहरू प्रदान गरिने छ । डा. जोशीका अनुसार सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरुमध्ये बाट एक–एक जनालाई उत्कृष्ट मौखिक प्रस्तुतीकरण र उत्कृष्ट पोस्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ ।

यसै गरी परिषद्को जर्नलमा एक वर्ष (सन् २०२३) भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवर्डा २०२३ प्रदान गरिनेछ ।

साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक), मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको एक जना वैज्ञानिक स्वास्थ्य अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट ओरेशन अवार्ड–२०२४ समेत प्रदान गरिने छ । साथै परिषद्मा वर्षभरि उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई एनएचआरी बेष्ट इप्लोई अवार्ड पनि प्रदान गरिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *