स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले अब जेष्ठ नागरिकका लागि ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्नुपर्ने

बीमितहरुका लागि सूचीकृत अस्पतालका फार्मेसीमा १ हजार १३३ प्रकारका औषधि उपलव्ध हुनुपर्ने

काठमाडौँ, २७ चैत । स्वास्थ्य बीमा बोर्डले जेष्ठ नागरिकलाई सहज सेवा उपलव्ध गराउन ‘ट्युस्डे क्लिनिक’ (मंगलबार क्लिनिक) सञ्चालन गर्न आफ्नो सेवा प्रदायक संस्थाहरुलाई परिपत्र गरेको छ ।

जेष्ठ नागरिकलाई बिना लाइन बिना झन्झट स्पेशल चेकअप होस भनेर हप्ताको एक दिन विशेष क्लिनिकको रुपमा ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्न अस्पतालहरुलाई परिपत्र गरिएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।

‘हामीले आउँदो १ बैशाख देखि यो सेवा सुरु गर्न भनेका छौँ । सोही अनुसार परिपत्र गरेका छौँ । खासगरी जेष्ठ नागरिकलाई स्पेशल परीक्षण तथा उपचार होस भनेर साताको एक दिन अस्पतालले विशेष क्लिनिक सञ्चालन गरोस भन्ने हाम्रो चाहना हो । सोही अनुरुप हामीले परिपत्र गरेका छौँ । अब हरेक मंगलबार जेष्ठ नागरिकले यो क्लिनिकमा गएर विना झन्झट स्वास्थ्य जाँच तथा उपचार गराउन सक्नु हुन्छ,’ डा. बसौलाले भने ।

त्यसो त बोर्डले नियमि नियमित औषधि सेवन गरिरहेका वीमित सदस्यहरुलाई तीन तीन महिनाका लागि औषधि दिने व्यवस्था लागू भइसकेको छ । बोर्डले अस्पतालहरुलाई यसका लागि पनि छुट्टै रिफिल काउन्टरको व्यवस्था मिलाउन परिपत्र गरेको छ ।

बीमितहरुका लागि सूचीकृत अस्पतालका फार्मेसीमा १ हजार १३३ प्रकारका औषधि उपलव्ध हुनुपर्ने

स्वास्थ्य बीमा गरेका नागरिकहरुको सबैभन्दा बढी गुनासो चाहिएको औषधि पाइदैन भन्ने रहेको छ । तर, बोर्डले १ हजार १३३ प्रकारका औषधिहरु बीमाले समेटेको भन्दै बिरामीहरुलाई ती औषधिहरु उपलव्ध गराउनु पर्ने बताएको छ ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमामा सूचीकृत अस्पतालहरुको फार्मेसी सेवाको बारेमा समेत अनुगमन गर्ने बताए । ‘धेरै गुनासो आएको छ । अब हामीले सूचीकृत अस्पतालको फार्मेसीको पनि अनुगमन गर्दछौँ । तोकिएका पुरा औषधि छ कि छैन हेर्छौ, नभए नियमानुसार आवश्यक कार्वाही गर्छौ,’ उनले भने ।

डा. लोहनीले यसअघि कतिपय अस्पतालहरुले सोधभर्ना समयमा नहुँदा केही समस्या भएको गुनासो गर्ने गरेको भन्दै अब बोर्डले हरेक दुई दुई महिनामा सोधभर्ना गर्ने भन्दै सेवामा पनि सोही खालको परिवर्तन हुनुपर्ने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *