भक्तपुर क्यान्सर अस्पतालद्धारा पदपूर्ति सम्वन्धि विज्ञापन स्थगित

मन्त्रीको दवाव आएपछि कानूनी प्रक्रिया नै पुरा नगरी गरिएको थियो विज्ञापन

काठमाडौँ, १८ मंसिर । भक्तपुर क्यान्सर अस्पतालले दुई साता अघि आव्हान गरेको पदपूर्ति सम्वन्धि विज्ञापन स्थगित गरेको छ । अस्पतालले रिक्त मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट गरी कुल ११ पदमा करारमा पदपूर्ति गर्न गत ४ मंसिरमा १५ दिनको अवधी तोकेर दरखास्त आव्हान गरेको थियो । सो अवधी अवधी पुरा नहुँदै गत ११ मंसिरमा अर्को सूचना निकाल्दै दरखास्त दिने म्याद अझ एक साता बढाएको थियो ।

तर पहिलो पटक दरखास्त आव्हान गरेको ठ्याक्कै १५ दिन पुग्दा आज सूचना जारी गर्दै विज्ञापन स्थगित भएको जनाएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा ऋषिकेशनारायण श्रेष्ठले पदपूर्ति गर्नका लागि त्यसअघि गर्नु पर्ने केही कानूनी तथा सैद्धान्तिक काम पुरा नभएको पाइएकोले हाललाई विज्ञापन स्थगित भएको बताए ।

‘हामीले पदपूर्ति समितिसंग सल्लाह गरेरै विज्ञापन खोलेका थियौँ तर व्यवस्थापन समिति र अर्थ मन्त्रालयसंग समेत सैद्धान्तिक सहमति लिनु पर्दो रहेछ । त्यसमा केही कमजोरी जस्तो भयो, त्यसैले अहिलेलाई रोकेका हौँ,’ उनले भने ।

‘गत महिना मात्रै निमित्त निर्देशकमा नियुक्त डा श्रेष्ठले पदपूर्तिको सूचना जारी गर्नु न व्यवस्थापनसंग निर्णय गराए, न त अर्थ मन्त्रालयसंग सैदान्तिक सहमति लिए । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाडो निर्देशनलाई मात्रै सिरोपर गर्दा यो समस्या आएको हो,’ अस्पताल एक कर्मचारीले भने ।

‘मन्त्री बस्नेतले डा श्रेष्ठलाई नियुक्ति दिए लगत्तै आफ्ना मान्छेलाई जागिरका लागि सूची बनाएर नै थमाउने गरेका थिए । मन्त्रीको प्रेसरका कारण प्रक्रिया नै भुलेर अघि बढ्दा समस्या आएको हो,’ ती कर्मचारीले भने ।

डा श्रेष्ठले भने आफूलाई मन्त्री र सचिवालयबाट कुनै प्रेसर नआएको बताए । ‘केही कानूनी प्रक्रिया पुरा गर्न नपाउँदा रोकिएको हो । यसलाई छिटै नै टुङ्ग्याउँछौँ,’ उनले भने ।

यता अस्पतालका अध्यक्ष समेत रहेका मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहले पदपूर्ति गर्नु अघि अपनाउनु पर्ने न्युनतम कामहरु छुटेकाले सच्याउन लगाएको बताए ।

‘नयाँ नयाँ निर्देशक हुनुभयो, प्रक्रियाबारेमा थाहा भएन कि । त्यसैले अब एक दुई दिनमा व्यवस्थापनको बैठक राखेर यसलाई सुल्झाउनु पर्ने छ,’ डा सिंहले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *