निजी मेडिकल कलेजहरू भन्छन् : ‘यथास्थितिमा इन्टर्न भत्ता बढाउन सकिदैन’

60
Shares

काठमाडौं, २१ साउन । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकलाई मासिक ३२ हजार रुपैयाँ भत्ता दिनुपर्ने मागसहित आन्दोलन भइरहेका बेला निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले हालको अवस्थामा उक्त माग पूरा गर्न नसकिने स्पष्ट गरेको छ।

सचिवालयको नाममा बुधबार  बेलुका चार पृष्ठ लामो सार्वजनिक सूचनामार्फत एसोसिएसनले माग पुरा गर्न नसकिने बताएको हो । सूचनामा भनिएको छ, यो इन्टर्नशिप एमबीबीएसरबीडीएस अध्ययनको अनिवार्य तथा अभिन्न शैक्षिक प्रक्रिया भएकाले त्यसलाई श्रम सम्बन्ध वा पारिश्रमिकसँग जोड्न मिल्दैन ।

एसोसिएसनले पहिले पहिले इन्टर्नशिपका लागि विद्यार्थीबाट छुट्टै शुल्क लिने गरिएको र त्यसबाट नै केही रकम दिने गरिएको भए पनि हालका दिनमा छुट्टै शुल्क नलिइएको र चिकित्सा शिक्षा आयोग गठनपछि इन्टर्नशिप शुल्क लिने व्यवस्था नै हटाइएको जनाएको छ।

विगतमा प्रोत्साहनस्वरूप क्रमशः १ हजार ५ सय, ३ हजार, ६ हजार हुँदै हाल १३ हजार रुपैयाँसम्म उपलब्ध गराउँदै आएको उल्लेख गर्दै कुनै पनि कानुन, विश्वविद्यालयको पाठ्यक्रम वा नियामक व्यवस्थाले अनिवार्य रूपमा निश्चित रकम भुक्तानी गर्नुपर्ने व्यवस्था नगरेको दाबी गरिएको छ।

सूचनामा हाल ३२ हजार रुपैयाँ भत्ता माग गरिएको भए भविष्यमा ५० हजार वा एक लाख रुपैयाँसम्मको माग पनि आउन सक्ने उल्लेख गर्दै स्रोत सुनिश्चित नभएसम्म यथास्थितिमा यस्तो माग पूरा गर्न सम्भव नरहेको जनाइएको छ। साथै, २०२६ सम्म भर्ना भएका विद्यार्थीका हकमा हालको व्यवस्था परिवर्तन गर्न नसकिने, तर आगामी शैक्षिक सत्रदेखि नयाँ ब्याचका लागि आवश्यक परे नियामक निकायसँग छलफल गर्न तयार रहेको संस्थाको भनाइ छ।

संस्थाले राज्य वा नियामक निकायले आवश्यक आर्थिक स्रोत सुनिश्चित गरे आफूहरू त्यसअनुसारको व्यवस्था कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ।

इन्टर्न चिकित्सकलाई कर्मचारी वा श्रमिकको रूपमा व्याख्या गर्न नमिल्ने दाबी गर्दै संस्थाले उनीहरू अझै विश्वविद्यालयको अध्ययनक्रम पूरा गरिरहेका विद्यार्थी भएकाले स्नातकोत्तर (पीजी) रेजिडेन्ट चिकित्सकसँग तुलना गर्न नहुने उल्लेख गरेको छ।

सूचनामा यदि इन्टर्न चिकित्सकले आफूलाई श्रमिकका रूपमा परिभाषित गर्ने हो भने श्रम खरिद–बिक्रीको सम्बन्ध पनि स्वीकार गर्नुपर्ने तर्क गरिएको छ। त्यस अवस्थामा अस्पतालले पनि श्रम खरिद गर्ने वा नगर्ने निर्णय गर्न पाउनुपर्ने उल्लेख गर्दै श्रम शोषणको प्रश्न नउठ्ने दाबी गरिएको छ।

संस्थाले विश्वविद्यालयको नियम, पाठ्यक्रम र निर्देशनअनुसार नै काम गर्नुपर्ने बाध्यता रहेको दोहोर्याउँदै आन्दोलन र टकरावले विद्यार्थीको भविष्य उज्ज्वल नबन्ने भन्दै सकेसम्म छिटो इन्टर्नशिप सम्पन्न गरी चिकित्सकीय करियरमा अघि बढ्न विद्यार्थीलाई आग्रह गरेको छ।

स्मरणीय कुरा के छ भने एमबीबीएसरबीडीएसका इन्टर्न चिकित्सकलाई उचित भत्ता उपलब्ध गराउनुपर्ने माग राख्दै डा. डिल्ली हरिजन माइतीघर मण्डलामा आमरण अनसनमा बसेका थिए। अनसनको चौथो दिन स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

हेर्नुहोस विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *