कीर्तिपुरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम
अब बीमा कार्यक्रम लागू हुन बाँकी स्थानीय तहको संख्या ४ मात्रै

काठमाडौँ, ७ असार । काठमाडौँको कीर्तिपुर नगरपालिकामा पनि आजबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । यो संगै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका स्थानीय तहको संख्या ७४९ पुगेको छ ।
बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले नगरप्रमुख राजकुमार नकर्मीलाई बीमा कार्ड हस्तान्तरण गरि नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेका थिए । त्यसलगत्तै उपप्रमुख शुभलक्ष्मी शाक्य, वडा अध्यक्ष तथा स्थानीय अगुवालाई स्वास्थ्य बीमा कार्ड प्रदान गरिएको थियो ।
१० वटा वडा रहेको कीर्तिपुर नगरपालिकामा दर्ता वीमाका लागि दर्ता सहयोगीहरु परिचालित भएका छन् । सो नगरपालिकाले प्रथम सेवा विन्दु विष्णुदेवी अस्पताललाई तोकेको छ । कीर्तिपुरमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन आजबाट नाम दर्ता गरिएको भएपनि त्यसबाट उपचार सेवा तीन महिनापछि अर्थात भदौबाट मात्रै पाउने छन् ।
स्वास्थ्य बीमा कार्यक्रम लागू हुन अब कहाँ कहाँ बाँकी छ ?
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलाका अनुसार देशका ७५३ वटा स्थानीय तहमध्ये चार वटा तहमा मात्रै बीमा कार्यक्रम सुरु हुन सकेको छैन् । कार्यक्रम लागू हुन नसकेका पालिकाहरुमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नागार्जुन नगरपालिका र बुढानीलकण्ठ नगरपालिका रहेका छन् ।
‘ललितपुर र नागार्जुन नगरपालिकामा यो कार्यक्रम सुरु हुने अन्तिम अवस्थामा पुगेको छ । सम्भवत यहि महिनामा नै यी दुई पालिकाहरुमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुन्छ,’ डा बसौलाले भने, ‘बाँकी दुई पालिकाहरुमा पनि छिटै नै लागू हुनेछ ।’
विसं २०७२ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले जिल्लागत रुपमा ७७ वटामै पुगेको छ । तर अपेक्षाकृत स्वास्थ्य वीमामा आवद्ध हुनेको संख्या उलेख्य छैन् ।
‘अहिले करीव ७० लाख नेपाली स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनु भयो । र यो क्रम बढ्दो छ,’ कार्यकारी निर्देशक डा. बसौलाले भने ।
सरकारले ल्याएको यो स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनका लागि प्रति परिवार (पाँच जना) ले बार्षिक ३५ सय रुपैयाँ प्रिमियम बुझाउँदा १ लाख रुपैयाँसम्मको उपचार सेवा निशुल्क रुपमा लिन सकिन्छ । अति गरीव तथा विपन्न, जेष्ठ नागरिक, अपाङ्ग लगायतका सूचीकृत समूहको प्रिमियम भने सरकारले नै तिरिदिने गरेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



