वीर अस्पतालमा बन्द रहेको ‘बर्न वार्ड’ तीन महिना भित्र सञ्चालनमा आउने

काठमाडौँ, ५ फागुन । वीर अस्पतालमा बन्द रहेको बर्न वार्ड तीन महिना भित्र सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नव नियुक्त निर्देशक डा. सन्तोष पौडेलले बन्द रहेको बर्न वार्ड तीन महिना भित्र सञ्चालनमा ल्याउने निर्णय गर्दै पद वहाली गरेका छन् ।
वीर अस्पतालमा जलन सम्वन्धी उपचारका लागि छुट्टै बर्न वार्ड थियो । विसं २०७२ सालको भूकम्पले बर्न वार्ड रहेको भवन भत्किएपछि सो उपचार सेवा बन्द रहेको थियो ।
डा. पौडेलले २०७२ साल देखि बन्द रहेको बर्न वार्ड सर्जिकल (नयाँ) भवनबाट पुन सुचारु गर्ने पहिलो निर्णय भएको बताए ।
‘क्रिटिकल बर्न प्यासेन्टहरुको लागि केयर, अप्रेसन थिएटर, आइसीयू लगायतका सबै सुविधा थियो तर महाभूकम्पले भवन भत्काइदिएपछि सो सेवा वीर अस्पतालमा बन्द थियो । यसलाई अबको तीन महिना भित्र नयाँ भवनबाट सञ्चालनमा ल्याउने निर्णय भएको छ,’ उनले भने ।
वीरको बर्न वार्ड बन्द हुँदा अहिले जलन सम्बन्धी विरामीहरुको उपचार कीर्तिपुर अस्पतालमा हुँदै आइरहेको छ ।
वीरमा सो सेवा पुन सञ्चालनमा आउँदा सेवामा थप सहजता हुने विश्वास गरिएको छ ।
डा. पौडेललाई स्वास्थ्य मन्त्री पदम गिरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका थिए ।