स्वास्थ्यमा क्रान्ति ल्याउने छौँ : प्रधानमन्त्री दाहाल

गुणस्तरीय स्वास्थ्य सेवालाई गरीवको पहुँचमा पुर्‍याउन प्रयासरत छौँ : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

घोषणा पश्चात केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अंगदान सम्वन्धी कार्ड प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले भने डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ ग¥यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’’

‘‘केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता छ’’ प्रधानमन्त्रीले भने, ‘‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्वोधन गरिनेछ।’’

‘‘नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन्।’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ। मिर्गौला प्रत्यारोपणका लागि वार्षिक रुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि भूमिका खेलको छ। यसका लागि केन्द्रलाई धन्यवाद दिन्छु।’’

प्रधानमन्त्रीले थपे, ‘‘यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन। यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ। साथै ७ वटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईहरूको मागप्रति गम्भीर छु।’’

स्वास्थ्य मन्त्री पदम गिरीले स्वास्थ्य सेवालाई आम गरीवको पहुँचमा पुर्‍याउने गरी बर्तमान सरकार लागि परेको भन्दै केन्द्रको सेवा विस्तारले यसलाई बल पुग्ने बताए ।

उनले पछिल्लो १० बर्षमा १ हजार मिर्गौला प्रत्यारोपणको औषत निकाल्दा ४३ दिनमा एउटा हुने गरेको देखिएको भन्दै यो औषतलाई सुधार गर्दै देनिक रुपमा मिर्गौला प्रत्यारोपण भएको भन्ने बनाउनु पर्ने बताए । मन्त्री गिरीले प्रत्यारोपण केन्द्रले सात वटै प्रदेशमा सेवा विस्तार गर्ने योजना सुन्दा खुशी लागेको भन्दै यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले सहयोग गर्ने बताए ।

उनले एक हजार प्रत्यारोपण सफल बनाउन खटिने डा पुकार सहित केन्द्रका सम्पूर्ण टिम बधाई दिए । सोही अवसरमा उनले केन्द्रलाई अन्य अंग प्रत्यारोणमा समेत अघि बढाउन आवश्यक सहयोग गर्ने बचनवद्धता समेत व्यक्त गरे । कार्यक्रममा मन्त्री गिरीले समेत मरणोपरान्त अंग दान गर्ने घोषणा गरेका थिए ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले संस्था स्थापनाको १० बर्षमा एक हजार जनाको मिर्गौला प्रत्यारोपण गर्न सक्नु र त्यसमा पनि ९९ प्रतिशत सफलता प्राप्त गर्नु देशकै लागि गौरवको कुरा भएको बताए । उनले मिर्गौला प्रत्यारोपणमा अहिले भएको स्थान अभाव भएको भन्दै सरकारले सल्लाघारीमा रहेको नेपाल ट्रष्टको १०० रोपनी जग्गा उपलव्ध गराउन आग्रह गरे । निर्देशक डा श्रेष्ठले सन् २०१७ देखि मस्तिष्क मृत्यु भएकाबाट अंग लिएर प्रत्यारोपण गर्न थालिएको भएपनि त्यसमा राम्ररी काम हुन नसकेको बताए । अहिलेसम्म केन्द्रले मस्तिष्क मृत्यु भएका ४ जनाबाट ८ जनामा मिर्गौला प्रत्यारोपण र २ जनामा कलेजो प्रत्यारोपण गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *