क्षयरोग मुक्त पालिका बन्ने योजनामा महालक्ष्मी नगरपालिका, शंकास्पद बिरामीको खोजी गर्न १० दिने निशुल्क शिविर

ललितपुर, २५ पुस । महालक्ष्मी नगरपालिका भित्र लुकेर रहेका क्षयरोगको शंकास्पद विरामीको सुक्ष्म रुपले खोजी गरिएको छ । नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने उद्धेश्यले शंकास्पद बिरामीको यसरी खोजी गरिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले १० दिन सम्म १० वटै वडामा पुगेर खोजी अभियान चलाएको थियो । सो अभियानमा शंकास्पद बिरामीको निशुल्क रुपमा छातीको एक्सरे, खकार संकलन गरी जिन एक्सपर्ट परीक्षणको लागि पठाएको छ ।

एकैपटक सबै वडालाई समेटेर शंकास्पद बिरामीको खोज पड्ताल गरी नगरपालिकालाई क्षयरोग मुक्त बनाउने कार्यक्रम सञ्चालन गर्ने महालक्ष्मी देशमै पहिलो नगरपालिका भएको बताइएको छ ।

यो कार्यक्रम गत गत १५ पुसबाट सुरु भएर आइतबार (हिजो) सम्म चलेको थियो । पहिलो दिन वडा नं १ को ईमाडोल स्वास्थ्य चौकीबाट शुभारम्भ भएको यो कार्यक्रम आइतबार वडा नं १० को भंगेरीडोलमा समापन भएको छ ।

खोजी अभियानमा स्वास्थ्य टोलीसंग प्रत्येक दिन जसो नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन सहभागी भएका थिए । यस्तै वडाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत समेत प्रत्यक्ष रुपमा सहभागी थिए ।

जनस्वास्थ्यको समस्याको रुपमा बिधमान समुदायमा लुकेर रहेका क्षयरोगीहरु निदान गरि तुरुन्तै उपचारको दायरामा ल्याई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियानमा स्वास्थ्य शाखाको मनोबल उच्च बनाउन, तथा आवश्यकता अनुसार व्यवस्थापनका लागि सहजीकरण गर्न यसरी सहभागी भएको स्वास्थ्य शाखा प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रमुख हिमलाल ज्ञवालीले बताए ।

नगरपालिकाका क्षयरोग फोकल पर्सन नहर्बु फुर्वा दोर्जेले चालू आर्थिक वर्षमा नगरपालिकाका ११ वटै डट्स केन्द्रबाट उपचार पाउने नयाँ क्षयरोगीहरुको संख्या ४० जना रहेको बताए । उनले खोजी अभियानमा ७९५ जनाको स्वास्थ्य परीक्षण, ५२० जनाको छातीको एक्स रे तथा १२६ जनाको खकार संकलन गरि जन्त्र नेपाल संस्था मार्फत जिन एक्सपर्ट जाँचको लागि पठाइएको जानकारी दिए ।

१० दिने खोजी अभियानमा नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक भरत बोहरा, स्वास्थ्य कार्यालय ललितपुरका क्षयकुष्ट अधिकृत राजाराम अधिकारी,जन्त्र नेपाल ललितपुरका संयोजक गौरी शंकर जोशी खटिएका थिए ।

यस्तै स्वास्थ्य परीक्षण कार्यमा डा. रोजी थपलिया, सीअहेव अधिकृत हरिशरण थापा तथा अन्य स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु र महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरु पनि खटिएका थिए । स्वास्थ्य शाखा प्रमुख रहेका बरिष्ठ जनस्वास्थ्य प्रमुख ज्ञवालीले खोजी अभियानमा प्रत्यक्ष परोक्ष रुपमा सहभागी भएका सबैप्रति आभार व्यक्त गरे ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *