विद्यालय तहका २० प्रतिशत बालबालिका सुर्तीजन्य पदार्थको प्रयोगकर्ता !

अध्ययन् भन्छ : प्रयोगकर्ता मध्येका २० प्रतिशतले त १० वर्ष नपुग्दै धूमपान सुरु गरे

काठमाडौँ, १९ पुस । नेपालमा विद्यालय तहका बालबालिकाहरुमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन सम्वन्धी ‘कुलत’को डरलाग्दो तस्बिर सामुन्ने आएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन् प्रतिवेदनले विद्यालय तहका झण्डै एक तिहाई (३१.७ प्रतिशत) बालबालिकाहरुले जीवनमा कुनै न कुनै बेला धूमपान गरेको बताएका छन् । अझ ती मध्ये करीव २० प्रतिशतले त १० वर्ष नपुग्दै धूमपान सुरु गरेको बताएका छन् ।

परिषदले प्रतिवेदन अहिले सार्वजनिक गरे पनि यो अध्ययन् सन् २०१६ मै गरिएको हो ।

‘प्रिभलेन्स एण्ड फ्याक्टर्स एसोसिएट्स वीथ टोवाको यूज अमोङ्ग हाइस्कुल स्टुडेन्ट इन नेपाल’ शीर्षकमा गरिएको सो अध्ययन् काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका ५ वटा सरकारी विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययन् गर्ने ३७८ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमा १८३ छात्र र १९५ छात्रा थिए ।

अध्ययन्ले २०.६ प्रतिशत बालबालिकाहरु नियमित रुपमा कुनै न कुनै सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेको बताएको छ । त्यसमा छात्र ३४.९ र छात्रा ७.२ प्रतिशत रहेको उल्लेख गरेको छ । त्यसमा सबैभन्दा बढी धूमपान गर्ने झण्डै २४ प्रतिशत रहेको विवरण छ ।

यस्तै विगत एक महिनामा सुर्तीजन्य पदार्थ प्रयोगकर्तामध्ये करीव १६ प्रतिशतले धूमपान गर्दछन् भने ६ प्रतिशतले सुर्तीजन्य पदार्थ जस्तै खैनी गुट्खा, आदीको सेवन गर्ने गरेको देखिएको छ ।

अध्ययनमा सहभागी विद्यार्थीमध्ये ५० प्रतिशतले आफ्नो घर भित्र परिवारको सदस्यहरुले धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गरेको देखेको बताएका छन् । घर भित्र धूमपानको यो संख्याले अहिले पनि ठूलो संख्यामा नेपालीहरु सेकेण्ड ह्याण्ड स्मोकिङको जोखिममा परेको देखाउँछ ।

साथै बालबालिकाहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थको सेवनको सुरुवात गर्न पनि सिकाईरहेको देखाएको छ ।

यो अध्ययन्मा सहभागी एक जना अध्ययन्कर्ता डा भक्तवहादुर केसीले यस अध्ययन्ले बालबालिकाहरुमा धूमपानको कुलत डरलाग्दो रुपमा देखिएको भन्दै विद्यालय स्तरमा नै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथामका कार्यक्रमलाई जोड दिनुपर्ने कुरा औल्याएको बताए ।

उनले अध्ययन्मा ग्लोबल युथ टोवाको सर्भे (जीवाईटीएस) को अनुसन्धान टुल प्रयोग भएको बताए । उनले अध्ययन्बाट विदार्थीहरुमा सुर्तीजन्य पर्दाथको प्रयोग गर्दा हुने हानीका बारेमा राम्रो ज्ञान भएको पाइएको बताए ।

यस्तै अध्ययनमा यसको प्रयोगले जटिलता निम्त्याउन सक्छ भने अनुभूति भएका विद्यार्थीहरुमा प्रयोगदर कम भएको पाइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *