बुस्टर डोजका लागि फाइजरको वाई भ्यालेन्ट खोप प्रयोग गर्न सल्लाहकार समितिको अनुमति,
१५ लाख डोज खोपका लागि गाभीलाई पठाइयो चिठी
काठमाडौँ, १४ पुस । नेपालले कोभिड १९ बिरुद्ध बुस्टर डोजका लागि फाइजरको नयाँ खोप ल्याउने भएको छ । औषधि व्यवस्था विभागमा मंगलबार बसेको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले फाइजरको वाइ भ्यालेन्ट खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएपछि नयाँ खोप ल्याउने बाटो खुलेको हो ।
यसअघि नै द भ्याक्सिन अलायन्स (गाभी)ले कोभ्याक्स सुविधा मार्फत नेपाललाई १५ लाख डोज फाइजरको वाइ भ्यालेन्ट खोप उपलव्ध गराउने निर्णय गरिसकेको छ । सो नयाँ खोप आउने भएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाले आपतकालीन प्रयोगका लागि औषधि सल्लाहकार समितिसंग अनुमति मागेको थियो ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले सल्लाहकार समितिको ५४ औँ बैठकले फाइजरको वाइ भ्यालेन्ट खोप आपतकालीन प्रयोगका लागि ल्याउन अनुमति दिएको बताए ।
‘अस्ती मंगलबार समितिको बैठक बसेको थियो । डव्लुएचओले आपतकालीन प्रयोगको सूचीमा राखेको, संसारका अरु ३२ देशमा बुस्टरको रुपमा प्रयोग भइसकेको खोप हो र त्यसमा राष्ट्रिय खोप सल्लाहकार समितिले समेत सिफारिस गरेको खोपलाई औषधि सल्लाहकार समितिले बुस्टर डोज प्रयोगका लागि अनुमति दिएको छ,’ उनले भने ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले समितिको अनुमति आएर आफूले गाभीलाई समेत पत्र पठाइसकेको बताए । अब यताबाट गर्नु पर्ने काम भइसकेको छ । प्रयोग अनुमति पत्र समेत पठाइसकिएको छ । अब उता प्रक्रियामा कति दिन लाग्छ त्यो हामीले अहिल्यै भन्ने अवस्थामा छैनौँ । दाहालले भने ।
छिमेकी मुलुकमा कोभिड संक्रमण बढी रहेका बेला नेपालमा पनि त्यसको जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले देशवासीलाई बुस्टर डोज लगाउन आव्हान गरेको छ । तर विभागसंग अहिले बुस्टर डोज लगाउन खोप नै छैन् । त्यसैले अधिकारीहरुले १५ लाख डोज नयाँ खोप छिटै ल्याउने कोशिसमा रहेको बताएका छन् ।
खोप शाखा प्रमुख दाहालले नयाँ बाइभ्यालेन्ट खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको भन्दै नयाँ भेरियन्टमा प्रभावकारी हुने विश्वास रहेको बताए ।
सम्पर्क इमेल : [email protected]