डा. शेरबहादुर पुनलाई १ लाख ४० हजार राशीको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
चितवन, ७ पुस । काठमाडौंस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२२ प्रदान गरिएको छ ।
कोभिड -१९ लगायत प्राणघातक संक्रमक रोगबाट मानव जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै डा. पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२२ बाट सम्मान गरिएको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया अमेरिकाद्धारा स्थापित यो पुरस्कारको राशी ११०० अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ) रहेको छ ।
बिहीबार चितवनको माडीमा आयोजित विशेष समारोहमा बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले डा पुनलाई ताम्रपत्र सहित १ लाख ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
विशेषगरी सरुवा रोगको उपचार तथा अनुसन्धानमा निरन्तर सक्रिय डा पुन कोभिड १९ को महामारीको बेला अग्रपंक्तिमा खटिएर निरन्तर सेवा दिने चिकित्सकको सूचीमा पर्दछन् ।
उनले निरन्तर सञ्चारमाध्यमबाट आम मानिस तथा सरकारी अधिकारीहरुलाई महामारी तथा संक्रमक रोगबारे निरन्तर सचेतनामुलक जानकारी दिदै आएका छन् ।
सोही अवसरमा आजै पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पाटन अस्पताल) ललितपुरका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई पनि राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२२ प्रदान गरिएको कार्यक्रमको संयोजक देउराली फाउण्डेशनले जनाएको छ ।