नेपालमा उत्पादित क्यान्सरबिरुद्धको औषधि नेपालसंगै भारतमा पनि प्रयोग हुन थाल्यो

काठमाडौँ, २४ कात्तिक । ‘क्यान्सर सम्वन्धी संसारभरका देशहरुको विवरण प्रस्तुत गर्ने संस्था ग्लोबोक्यान (जसलाई विश्व स्वास्थ्य संगठनले नै इन्डोर्स गरेको छ) ले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा प्रतिवर्ष २० हजार ५०८ जना क्यान्सरका नयाँ बिरामी थपिने गरेको उल्लेख छ । सोही प्रतिवेदनले प्रत्येक वर्ष १३ हजार ६२९ जना नेपालीले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताएको छ । नेपालका क्यान्सर विज्ञहरुलाई सोध्ने हो भने ग्लोबोक्यानले प्रस्तुत गरेको यो तथ्यांङ्क बास्तविकता भन्दा निकै कम भएको बताउने गर्दछन् ।’
…………………………………………………………………………

‘नेपालमा क्यान्सरको उपचार गर्ने संस्था (अस्पताल)हरुकै कुरा गर्दा पछिल्लो दश वर्षमा निकै धेरै स्थापना भई सञ्चालनमा आएका छन् । उदाहरणकै रुपमा भन्नु पर्दा पहिले देखि नै चिनिएको भरतपुर, भक्तपुरबाहेक सरकारी तवरबाट नेपालगञ्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खुलेको छ । काठमाडौँमा त्रिवि शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर सञ्चालनमा आएको छ । यस्तै निजी क्षेत्रबाट हरिसिद्धीमा नेपाल क्यान्सर अस्पताल, भक्तपुरमा काठमाडौँ क्यान्सर सेन्टर, जावलाखेलमा नेशनल क्यान्सर सेन्टर, झापामा पूर्वाञ्चल क्यान्सर सेन्टर र चितवनमा सीएमसी क्यान्सर सेन्टर सञ्चालनमा आएका छन् । यी बाहेक पाटन, वीर, प्रसूती, ओम, ग्राण्डी, वीएण्डबी, ह्याम्स, मेडिसिटी लगायतका नयाँ तथा पुराना ठूला सरकारी तथा निजी अस्पतालमा पनि क्यान्सरको उपचार हुँदै आएको छ ।’

…………………………………………………………………………….

नेपालमै क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने टिजिग फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले विषय प्रवेश गर्नु अघि यसरी भूमिका बाँधिहाले । त्यसपछि उनले थप्दै भने, ‘माथिका यी दुई तथ्यले नेपालमा क्यान्सरको अवस्था कस्तो छ भनेर अनुमान गर्न जो कसैलाई पनि गाह्रो नहोला ।’

उनले अझ थप्दै गए, ‘पछिल्लो दश वर्ष यताकै कुरा गर्दा देशमा क्यान्सरको उपचार गर्ने अस्पताल मात्रै थपिएको होइन, उपचारका लागि चाहिने अत्याुधिन मेसिन तथा प्रविधि पनि भित्रिएको छ । दक्ष जनशक्ति पनि थपिदै गएका छन् । नथपिएको त एउटै कुरा थियो औषधि । तर, हामीले त्यो अभावको परिपूर्ती गरिदिएका छौँ । अब नेपालमै टिजिगको औषधि बन्न थालेको छ ।’

विहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा  बैद्यले नेपालमै उत्पादित एन्टीक्यान्सरका औषधि नेपाल सहित भारतका विभिन्न अस्पतालमा उपचाररत विरामीले सहज र सुलभ रुपमा प्रयोग गर्न थालेको जानकारी दिए ।

‘नेपालमा क्यान्सर रोगको उपचार भइरहेको छ र थियो तर बिरामीले प्रयोग गर्नुपर्ने औषधिहरु बेला बखत अनियमितता तथा औषधिको मुल्यमा रहेको असमानता देखेर नै विगत चार बर्ष देखि क्यान्सर विरुद्धको औषधि उत्पादनको बाटो रोजेका थियौँ । अहिले त्यसको परिणाम देखिन थालेको छ,’ कार्यकारी निर्देशक वैद्यले एन्टीक्यान्सर औषधि बनाउन थाल्नुको कारण खुलाए ।

उनले टिजिग नेपाली औषधि उद्योगको क्षेत्रमा नयाँ भए पनि उपस्थिति भने भिन्न ढंगबाट भएको बताए । ‘हामी क्यान्सरको औषधि उत्पादन गर्ने चर्चित भारतीय कम्पनी एसपी एक्यूर ल्यावसंग प्रविधि हस्तान्तरण (टेक्नोलोजी ट्रान्सफर) गरी सञ्चालित हौँ । विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तर सम्वन्धी निर्देशिका बमोजिम विदेशी कम्पनीको प्रविधि र लगानी भित्र्याउने टिजिग नेपालकै पहिलो औषधि कम्पनी हो’ वैद्यले भने ।

टिजिगले कति प्रकारका औषधि उत्पादन गर्दछ ?

टिजिग फर्माबाट अहिले फोक्सो, रगत, स्तन, पाठेघरको मुखको, मस्तिष्क, ठुलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधिहरु उत्पादन भई रहेका छन् ।

कम्पनीका प्राविधिक प्रमुख सरोज पौडेल भन्छन्, ‘हाल नेपाली बजारमा क्यान्सरका मुखबाट खाने ३४ प्रकारका मोलिक्युलबाट उत्पादन हुन सक्ने ५३ किसिमको औषधिको उत्पादन गर्नको लागि औषधि ब्यबस्था विभागबाट अनुमति पाई सकेका छौँ । यी मध्ये १४ प्रकारका मोलिक्युलबाट उत्पादिन २३ किसिमका औषधिहरु विक्री बितरण गर्न औषधि व्यवस्था विभागले अनुमति दिईसकेको अवस्था छ । तर अहिले टिजिगले नेपाली बजारका लागि ५ प्रकार मोलिक्युलबाट ७ किसिमका औषधिहरु बिक्री वितरण गर्दै आईरहेको छ ।’

उनले अरु ९ प्रकारका मोलिक्युलबाट १६ किसिमका औषधि विदेशमा विक्री वितरण हुँदै आएको बताए ।

विदेशमा मात्रै विक्री वितरण गर्नका लागि अनुमति पाएको १६ किसिमका औषधिहरु यतिवेला नेपाली चिकित्सक, अस्पताल र विरामी पक्षबाट निकै नै माग भएका छन् । टिजिगले मुख्य सरोकारवालाहरुको मागलाई ध्यान दिएर अहिले औषधि व्यवस्था विभागमा यी औषधिहरु नेपालमा पनि उपलव्ध गराउन पाउँ भनेर निवेदन दिएको छ ।

विभागले पनि यो विषयमा आफू सकारात्मक रहेको जनाएको कार्यकारी निर्देशक वैद्यले बताए ।

कम्पनीले भविष्यमा अन्य धेरै प्रकारका क्यान्सर विरुद्धका औषधिहरु बजारमा ल्याउने तयारीमा रहेको पनि उनले जानकारी दिए ।

औषधि प्रयोगमा आउन थाल्यो

टिजिगले करीव ९ महिना अघि देखि उत्पादन सुरु गरी बजार पठाउन थालेको औषधिहरु बिरामीले प्रयोग गर्न थालेका छन् ।

वैद्य भन्छन्, क्यान्सर रोगको उपचारमा नेपालमै रहेका बिरामीका लागि चिकित्सकले प्रेस्काईव गर्न थालेका छन् । भारतमा रहेका विरामीहरुले पनि टिजिगबाट उत्पादित एन्टी क्यान्सरको औषधि उपभोग गर्न थाल्नु भएको छ । उनले भारतको दिल्लीस्थित राजिवगान्धी क्यान्सर अस्पताल, मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहेका बिरामीहरुले पनि आधिकारिक रुपमा त्यहाँको औषधि नियमक निकायको स्वीकृतिमा टिजिगबाट उत्पादित क्यान्सर विरुद्धको औषधि उपभोग गरिरहेको सुनाए ।

उनले टिजिगबाट उत्पादित औषधि निकट भविस्यमा अफ्रिकी देशहरुमा निर्यात गर्न लागेको समेत जानकारी दिए ।

यी हुन् टिजिगले उत्पादन गरेका क्यान्सरका औषधिहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *