महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले उच्च रक्तचापको जाँच गर्न सक्छन् : अध्ययन्
काठमाडौँ, ३ कात्तिक । नेपालमा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले चिकित्सकको सुपरीवेक्षणमा सुरक्षित र प्रभावकारी तरिकाले उच्च रक्तचापको जाँच निदान र उपचार गर्न सक्ने देखिएको छ ।
नेपाल विकास समाज, जोन हप्किन्स विश्वविद्यालय र रिसल्भ टू सेभ लाइफ नामक संस्थाले झण्डै दुई वर्ष लगाएर काँस्कीका दुईवटा गाउँपालिकामा गरेको अध्ययनले यस्तो देखाएको हो ।
अध्ययन् रुपा गाउँपालिका र बिरुवा गाउँपालिकामा गरिएको थियो । सो क्रममा दुई गाउँपालिकाबाट क्रमश ६४० र ८४० केश लिईएको थियो ।
बुधबार राजधानीमा आयोजित तथ्यांक सार्वजनिक समारोहमा अध्ययनमा सम्लग्न काठमाडौँ विश्व विद्यालयका डा अभिनभ वैद्यले स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीका कर्मचारीहरुलाई तालीम दिएर घर घर परिचालन गर्न सकेमा मुटुजन्य समस्याबाट भइरहेको क्षति क मगर्न सकिने निष्कर्ष सुनाए ।
द मुटु प्रोजेक्ट नाम दिइएको परियोजनाले रुपा र बिरुवा गाउँपालिकामा बस्ने बयस्कहरुको उच्च रक्तचाप जाँच गरेको थियो । त्यसमा उच्च रक्तचाप देखिएकाहरुलाई सो अध्ययनमा समावेश गरिएको थियो । त्यसबेला महिला स्वास्थ्य स्वयं सेविकाहरुले रुपा गाउँपालिकामा तीन पटक र विरुवा गाउँपालिकामा एक पटक घरमै गएर रक्तचाप जाँच सहित जीवनशैली सम्वन्धी परामर्श प्रदान गरेका थिए ।
त्यसबेला रुपा गाउँपालिकामा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहज प्रोटोकलमार्फत औषधिको प्रयोग गरी उच्च रक्तचापको निदान र उपचारको बारेमा प्रशिक्षण प्राप्त गरे । परियोजनाको भौतिक र अनलाइन सुपरीवेक्षणका लागि एक चिकित्सक उपलव्ध गरिएको थियो । यसपछि सो परियोजनाले १२ महिनापछि उच्चरक्तचाप जाँच गरी तुलना गरेका थिए ।
के आयो नतिजा ?
१२ महिनापछि रुपा गाउँपालिका (कार्यक्रम लागू गरिएको)मा १५ एमएमएचजी र बिरुवा गाउँपालिका (कार्यक्रम लागू नगरिएको)मा लभगभ ४ एमएमएचजी सिस्टोलिक रक्तचाप घटेको देखिए (दुई गाउँपालिका बीच ११ एमएमएचजीको भिन्नता) देखिएको छ । रुपमा लगभग ७० प्रतिशत र बिरुवामा २० प्रतिशतमा रक्तचाप नियन्त्रणमा आएको देखियो ।
यसैबीच राजधानीमा आयोजित कार्यक्रममा मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला, डा प्रकाशराज रेग्मी, प्राडा शरद वन्त नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवाली लगायतले अध्ययनको महत्व र त्यसको उपलव्धीका बारेमा धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल विकास समाजका संस्थापक अध्यक्ष डा दिनेश न्यौपाने, डा स्वेता कोइराला,डा लेरी जे एप्पल, डा कुनिहिरो मात्सुहिता लगायतले प्रतिवेदन सार्वजनिक गरेका थिए ।
सम्पर्क इमेल : [email protected]