नेपालमा कुल जनसंख्याको २५ प्रतिशत मुटुरोगी

काठमाडौं, १३ असोज ।  नेपालमा कुल जनसंख्याको २५ प्रतिशत अर्थात करीब ७५ लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ । नेपाल एनसीडी एलायन्सका अनुसार करीव ३० प्रतिशत बयस्क जनतालाई उच्च रक्तचाप, २५ प्रतिशत जनतालाई कोलेस्टेरोल, १० प्रतित जनतालाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ ।

विश्व मुटु दिवसको अवसरमा एलायन्सले बुधबार जारी गरेको विज्ञप्तीमा ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने, करीव ५० प्रतिशत शहरीयाले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने उल्लेख छ । वर्षेनी करीव एक हजार बालबालिका बाथ मुटुरोगको कारण हार्ट फेल भई मृत्युवरण गर्न पुग्दछन् ।

एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीद्धारा जारी विज्ञप्तीमा मुटुको रोग बद्दै जानुको प्रमूख कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु उल्लेख छ । ‘एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नूनको मात्रा बढेको छ, हरियो सागपात, फलपूmल आदी कम छ, चूरोट, सूर्तीको सेवन बढी छ, रक्सी पिउने बानी धेरैको छ भने अर्कोतिर व्यायाम गर्ने बानी कम छ, मानसिक तनाव अत्याधिक बढेको छ । अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाए हो । यस कारण मुटु बचाउन सबैले आफ्नो मन लगाउन पर्छ मन लगाउने भनेको तन, मन, धन, विवेक, बुद्धि आदि सबैको प्रयोग मुटु बचाउनका लागि गर्ने भनेको हो,’ विज्ञप्तीमा भनिएको छ ।

विश्वमा बर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशत भन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशत छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५% पुग्ने अनुमान गरिएको छ । यसरी मुटुरोगी बढ्दै जानु हाम्रो लागी ठूलो चिन्ताको विषय हो ।

यस वर्षको विश्व मुटु दिवसको नारामा ३ वटा कुरा समेटिएका छन्ः पहिलो कुरा मानवताको दृष्टिले विपन्न र पिछडिएका वर्गको मुटुको सुरक्षालाई ध्यान देउ भन्ने छ । दोस्रो, मुटु सुरक्षाका लागि प्रकृतिको संरक्षण मार्फत वातावरणीय प्रदूषणको न्यूनिकरण तर्फ लाग्न आव्हान गरिएको छ । यस्तै तेस्रो कुरा, सबैले आफ्नो मुटु स्वास्थ्य कायम राख्न मानसिक तनाव व्यवस्थापन तर्फ ध्यान देउ भनिएको छ ।

नेपाल सरकार नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि सन् २०२१ देखि २०२५ सम्मको कार्य योजना तर्जूमा गरि कार्यान्वयन तर्फ अग्रसर छ ।

नेपाल सरकारले मुटु तथा अन्य नसर्ने रोगहरुको उपचारमा ठूलो लगानी गरेको देखिन्छ ।

‘विपन्न, बालबालिका, बृद्ध नागरिक आदीको उपचारमा पनि सरकारको ठूलो खर्च छ ।दीर्घकालिन रुपमा सोच्दा मुटु रोगको रोकथाम तर्फ पनि सरकारले नीति कार्यक्रम मार्फत लगानी बढाउनु पर्ने हामीले महसुस गरेका छौं । मुटुरोगको उपचारका निम्ति लगानी भएको कुल रकमको १० प्रतिशत मुटुरोगको रोकथाममा लगानी गर्नु पर्ने हामी देख्दछौं र नेपाल सरकार समक्ष अनुरोध पनि गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *