चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष तोकियो

काठमाडौँ, २ भदौ । चिकित्सा शिक्षा आयोगले आगामी पाँच वर्ष पछि चिकित्सा क्षेत्रमा कार्यरत सबै विधाका शिक्षक (फ्याक्ल्टी)हरुको उमेर ७० बर्ष कायम हुने निर्णय गरेको छ । आयोगले गत २४ साउनमा बसेको कार्यकारी समितिको बैठकले आगामी पाँच वर्ष पछि लागू हुने गरी शिक्षक (फ्याकल्टीहरुको उमेर हद ७० बर्ष तोकेको हो ।

अहिले चिकित्सा शिक्षा पढाउने शिक्षक (फ्याकल्टी)हरुको उमेर हद डेन्टल र बेसिक साइन्स विषयका लागि ७५ बर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकिएको छ । नेपाल मेडिकल काउन्सिलले तोकेको यो उमेर हदलाई चिकित्सा शिक्षा आयोगले पनि मान्दै आएको छ ।

आयोगका निर्देशक डा दिलिप शर्माले आगामी पाँच वर्ष भित्र नेपालमा प्रयाप्त शिक्षक (फ्याकल्टी) तयार हुने प्रक्क्षेपण गरि उमेर हद घटाइएको बताए । ‘अहिलेसम्म हामीकहाँ फ्याकल्टीहरुको अभाव थियो । त्यसैले हामी ७५ बर्ष उमेर भएकाले पनि पढाउन पाउनु हुन्थ्यो । तर अव त्यस्तो अभाव छैन् । त्यसैले हामीले उमेर घटाएका हौँ,’ डा शर्माले भने ।

उनले छिमेकी मुलुक भारतमा चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेरहद ७० वर्ष रहेको बताए ।

त्यसो त आयोगले चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले ‘उच्च शिक्षा तहका शिक्षक (फ्याकल्टी) को न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९” तयार पारेको थियो ।

सोही मापदण्डमा उमेर हद घटाउने निर्णय भएको हो । नयाँ मापदण्डको बुदा १४ मा भनिएको छ, ‘शिक्षक (फ्याकल्टी) को उमेर सम्बन्धी व्यवस्थाः अन्यत्र जेसुकै लेखिएको भए तापनि यो मापदण्ड लागू भएको पाँचबर्ष पछि चिकित्सा शिक्षा क्षेत्रमा कार्ययरत सवै बिधाका शिक्षकको (शिक्षक (फ्याकल्टी) को उमेर ७० बर्ष भन्दा बढी हुने छैन ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *