शिशुको मृत्युपछि भरतपुर अस्पतालका चिकित्सक र नर्स कोठामै थुनिए

चितवन, १३ साउन । उपचारमा लापरवाही भएर शिशुको मृत्यु भएको आरोप लगाउँदै आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन् ।

भरतपुर महानगरपालिका १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिने शिशु (छोरा)को बिहीबार दिउसो अस्पतालमा मृत्यु भएपछि आफन्तले चिकित्सक, नर्स तथा अन्य कर्मचारी गरी १२ जनालाई कोठाभित्रै थुनेका हुन् ।

लम्साल दम्पतीले आफ्नो शिशुले दुध नचुसेको भन्दै बिहीबार विहान ९ः३० बजे उपचार गर्न अस्पताल ल्याएका थिए ।

अस्पतालले दिउसो पौने ३ बजे तिर शिशुको मृत्यु भएको जानकारी दिएपछि आफन्तहरु आक्रोशित भएका हुन् । उनीहरुले चिकित्सक तथा नर्सले उपचारमा तदारुकता नदेखाएको आरोप लगाएका छन् ।

मृत्यु भएको जानकारी पाएपछि आक्रोशित आफन्तले चिकित्सक र नर्सको गम्भीर लापरवाहीको आरोप लगाउँदै कोठाभित्र राखेर बाहिरबाट ताला लगाएका थिए । उपचार हुँदाहुदै बालकले आमाको दुध खाँदा सर्किएपछि मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए

“उपचार हुँदै थियो, आमाको दुध चुस्दै गर्दा सर्किएपछि बालकको मृत्यु भएको हो, कसरी चिकित्सकको लापरवाही भयो ?” उनले भने । थुनिएका चिकित्सक र नर्सलाई झ्याल खोलेर बाहिर निकालिएको पौडेलले बताए ।

अस्पतालका बाल चिकित्सक डा. ओमकृष्ण पाठकले शिशुलाई बचाउन सक्दो प्रयास गरेको तर नसकेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *